दास्तान-ए-नेपालगन्ज – Dastabej

दास्तान-ए-नेपालगन्ज

होइन भने निकालिदेउ यी धार्मिक रङ चढेका झन्डा ! खेल होली वा सजाउ ताजिया पहिलेजस्तै !!


  • दस्तावेज

  • नेपालगन्ज । पानका पारखीहरू भन्ने गर्छन्– ‘सियारामको पान नेपाल अधिराज्यमा वर्ल्ड फेमस छ !’ उसको पानको ख्याति नेपाल अधिराज्यभरि होस् या नहोस्, तर सियारामको कथा साँच्चिकै ‘वर्ल्ड फेमस’ हुनलायकको छ । सियारामले पान मात्र बेच्दैन पानको पातमा प्रेमको गुलकन्द लगाएर सौहार्द बाँड्छ । यो सौहार्द पसले र ग्राहकबीचको मामुली सौहार्द मात्र होइन । यो दुई धर्म मान्ने समुदायको एकअर्काप्रतिको सहिष्णुता पनि हो । र, यो सहिष्णुता नेपालगन्जमा हिजोभन्दा आज र आजभन्दा भोलि झनै चाहिने भएको छ ।

    नेपालगन्जमा पहिला यस्तो थिएन । हिन्दु होस् या मुसलमान, पहाडी हुन् वा मधेसी तिनमा एउटा कुरा साझा थियो । ती अवधी–भाषी नेपालगन्जिया थिए । मौलाना साहब अदबले सोध्थे, ‘अरे पण्डितजी व्हेर आर यु गोइङ्ग ?’ पण्डितजी उही बाँकेलाल शैलीमा फर्काउँथे, ‘अबे समझ लेव बजार ।’ तर, जसै बोर्डरपारि अयोध्यामा धर्मको राजनीतिक तापक्रम बढ्दै गयो, नेपालगन्जमा धार्मिक लुः को तातो हावा बहन थाल्यो । अनि एक दिन एउटा बाँकेलाल आएर मेरो शाखामा चढ्यो । शाखाको किनारै–किनार उक्लेर ऊ आफ्नो घरको धुरीमा झन्डा अड्याउन थाल्यो । मैले पहिलोपल्ट देखेँ, सहरका छतहरू बिस्तारै हिन्दु र मुसलमान हुँदै गएका । मुस्लिमका छतमा हरियो रङको झन्डा लागेको थियो । हिन्दुका छतमा केसरी रङको झन्डा ।

    त्यस दिन हामी आदिवासीका शिर निहुरे । कसैलाई जान्नु थियो र ? तिम्रा घरका छतका धर्म या आँगनका मजहब ? कि भन्न खोज्दै छौ हामी एकअर्काबाट कति फरक छौं ? फरक छौं त्यसैले छिमेकी भएर पनि हामी एक पृथ्वी टाढा छौं ? कि धार्मिक दङ्गामा एकअर्काको तारो बन्ने र बनाउने तयारी गर्दै छौ ? होइन भने निकालिदेउ यी धार्मिक रङ चढेका झन्डा ! खेल होली वा सजाउ ताजिया पहिलेजस्तै !!

    बस् त्यही दिनबाट मलाई सियाराम खास लाग्न थाल्यो ।

    ऊ यस्तो पात्र हो, जसको पानको पसलमा हिन्दु र मुसलमानहरू आ–आफ्नो छतको झन्डा उतै छाडेर आउने गर्छन् । उसले थमाएको पानको बिडा मुखमा बुज्याउँदै ती एक छिनलाई विनोदी बाँकेलाल भइजान्छन् । उसो त सहरको हरेक मोड र गल्लीमा पानका पसलहरू छन् । तर, सियारामको पानको बिडामा केही त जादु छ ।

    सियारामको पानको पसल वार्ड नम्बर पाँच र सातको ठीक बीचमा पर्छ । एकातिर हिन्दुहरूको बाहुल्य भएको टोल छ भने अर्कोतिर मुसलमानहरूको बाहुल्य छ । उसका ग्राहक दुवै टोलमा छन् । गन्दै जाने हो भने हिन्दुभन्दा मुस्लिम ग्राहक नै बेसी होलान् । ती मुस्लिम ग्राहकलाई थाहा छ– सियाराम ‘डाइ–हार्ड’ हनुमान्भक्त हो । उसको निधारमा सधैँ हनुमान्को सिन्दूरी तिलक हुनेगर्छ । पाखुरामा ‘सियाराम’ को गोदना (ट्याटु) खोपिएको छ । अनि हरेक मंगलबार पसलमा ऊ हनुमान्चालिसा स्पिकरमा लगाएर सुन्ने गर्छ ।

    त्यस दिन ऊकहाँ आउने मुस्लिम ग्राहकहरू यसै सोधिदिने गर्छन् । ‘आज मंगल ?’ सियाराम मुसुक्क मुस्काएर टाउको हल्लाइदिने गर्छ । जसरी मुस्लिमहरूलाई हनुमान्चालिसा सुन्दै पानको बिडा चपाउन कुनै आपत्ति छैन, त्यस्तै सियारामलाई मस्जिदबाट आउने अजानको ‘अल्लाह–हु–अकबर’ सुन्दै पसलको तालिका मिलाउन कुनै आपत्ति छैन ।  सियारामको पानमा के खासियत छ ? भनेर हिन्दु ग्राहकलाई सोध्दा उनीहरू भन्छन्, सियारामले पान बडा सफाइले बनाउँछ । उसलाई सोध्दा ऊ गर्वले स्विकार्छ । भन्छ, ऊ बिहान नुहाइधुवाइ गरेर मात्र पानलाई हात लगाउँछ रे ! पानको पातलाई एक–एक गरेर दुई–तीन पानीले धुन्छ रे ! किनेको सुपारीबाट एक–एक कपाल बिनेर, सफाइ गरीवरी मात्रै पसलको घर्रामा राख्छ रे ! नरिवललाई पनि देशी घिउमा भुट्छ रे ! अनि हरेक ग्राहकपिच्छे ऊ पान लगाउने काउन्टर पुछ्ने गर्छ रे !

    मुस्लिम ग्राहकलाई यही प्रश्न सोध्दा उनीहरू भन्छन्– ‘हामीलाई दिनको दस बिडा पान खानुपर्ने हुन्छ । उसले यसरी चुना र कत्थाको बैलेन्स मिलाउँछ कि जुबान कट्न पाउँदैन । सुर्ती पनि सही किसिमले हाल्छ कि मुह बाँध्दैन ।’ सियारामलाई यसबारे सोध्दा, ऊ मुसुक्क लजाउँछ । केही भन्दैन । थोरै झुकेर ऊ आफ्नो कर्म गरिरहन्छ । यीबाहेक उसको एउटा विशेष खासियत छ । उसको पसलमा बरोबर आइरहने ग्राहकहरूले आफूले खाने पानको किसिम भनिरहनु पर्दैन । बीस–पच्चीस ग्राहकहरूको स्वाद उसलाई कण्ठै छ । कसैलाई कत्था कम चाहिन्छ, कसैलाई चुना बढी । कसैको पानमा सुर्तीको किसिम र सुपारीको मात्रा ठिक्क मिलाउनुपर्छ । कसैलाई अलैंचीको दाना गनेरै हाल्नुपर्छ । चुना धेरै खानेलाई चुनाको पित्को पोको पारेर अलग्गै दिनुपर्छ । उसका पानका लती चाहे जो हुन्, एउटा कुरामा सबैले धाप दिन्छन् । भन्छन्, सियारामको पान दिनको बीसै बीडा खाए पनि जिब्रो कट्दैन । त्यसैले उसका पुराना ग्राहकहरू खोजीखोजी ऊकहाँ आइपुग्छन् । एक जना १८ वर्ष पुरानो मुस्लिम ग्राहकको कथा नै अजबको छ ।

    कुरा हो २०५४ सालको । नेपालगन्जमा हिन्दु र मुस्लिमबीच दंगा भड्किएको थियो । त्यतिबेला दुवै समुदायका पसलहरूमा तोडफोड र लुटपाट मच्चिएको थियो । केहीको ज्यान पनि गएको थियो । त्यो समयमा सियारामको पानको गुम्टी वार्ड नम्बर पाँचमा थियो । त्यहाँ मुस्लिमहरूको बाहुल्य थियो । एक्लो हिन्दुको गुम्टी दङ्ग्याहाहरूको नजरमा पर्‍यो । उनीहरू सियारामको गुम्टी तोडफोड गर्न अघि बढे । यत्तिकैमा टोलका मुस्लिमहरू आए । उसको गुम्टीअगाडि उभिएर प्रतिरोध गरे । र, खबरदार गर्दै दंगलीहरूलाई गुम्टीमा हात नलगाउन चेतावनी पनि दिए ।

    डरले गुम्टीको सबै सामान सियारामले घरमा लिएर आयो । उसको घर वार्ड नम्बर सातमा पर्थ्यो, जहाँ हिन्दुहरूको बाहुल्य थियो । कर्फ्यु लागेको लागै थियो । एक रात आठ बजे कर्फ्यु अलि खुकुलो भएको बेला उसको ढोका कसैले ढकढक्यायो । खोलेर हेर्दा ऊ छक्कै पर्‍यो । उसको सबैभन्दा पुरानो मुस्लिम ग्राहक एकलैनीबाट एक्लै हिन्दु टोलमा आएर उसलाई पान लगाउन भनिरहेको थियो । संवेदनशील समयमा त्यसरी आएको देखेर उसले बाको उमेरका ग्राहकलाई हप्काउनसम्म हप्कायो । उसले एक–दुई बिडा मात्र होइन दसै बिडा बनाएर दियो । र, भन्यो– मामिला अलि मत्थर भएपछि मात्र आउनू । तर, भोलिपल्ट त्यही समयमा फेरि उही बा टुपुल्किए । त्यति मात्र कहाँ हो र ! उनको साथै अरू मुस्लिमहरू पनि आएर पानको लागि अनुरोध गर्न थाले । हुँदाहुँदा टोलका हिन्दु ग्राहकहरू पनि एक–दुई गर्दै थपिँदै गए । सबैलाई छिटोछिटो पान लगाएर दिइन्जेल उसले के देख्छ ! त्यहाँ हिन्दु र मुसलमान उही पहिलाजस्तै पानको बिडा चपाउँदै मज्जाले गफ गर्दै बसेका छन् ।

    कोरोनाकालमा पनि त्यस्तै भयो । त्यतिबेला एउटा मुस्लिम परिवार कोरोनाले संक्रमित हुँदा पूरै समुदायलाई नै छिःछिः दूरदूर गरिएको थियो । शङ्का, त्रास, खासखुसले वातावरण तनावमय थियो । त्यतिबेला पनि सियारामको पानको गुम्टी बन्द थियो । तर, पानको तलतल लाग्ने ग्राहकहरू उसको घरमै पुग्ने गर्थे । धेरैजसो त मुस्लिम ग्राहकहरू नै थिए । त्यो देखेर टोलको कसैले गस्तीको पुलिस बोलाइदियो । पुलिसहरू आएर सियारामलाई केरकार गरे । सफाइमा उसले भन्यो, ‘सर म कसरी हिन्दु र मुसलमानबीच छुट्याएर दिऊँ ?’ लठ्ठी लिएर आएका पुलिसको मनमा खै के पर्‍यो । उनीहरूले कुनै कारबाही नगरी उसको ढोकाअगाडि एउटा डोरी बाँधिदिए । त्यसपछि भौतिक दूरी कायम गरी पान बेच्ने सल्लाह दिए । जाँदा पन्जा र स्यानिटाइजर पनि छाडेर गए ।  मान्छेहरू भन्छन्– देशलाई जोड्न राजा चाहिन्छ रे ! सहरलाई जोड्न जक्सनमा सालिक चाहिन्छ रे ! म त भन्छु– समुदाय, सहर र देश जोड्न सियारामहरू चाहिन्छ । भावी पुस्तालाई सुनाउन सियारामहरूका कथा चाहिन्छ । ईकान्तिपुरको कोशेलीमा प्रकाशित शिवानी थारुको संम्पालित आलेख ।

  • ७ जेष्ठ २०७९, शनिबार १५:५० प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला