नेपालगन्ज । रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । आइतबार प्रतिब्यारेल १ सय १२ डलरमा कारोबार भएको छ । कच्चा पदार्थको मूल्यसँगै डलरको मूल्य पनि बढेको छ । तिनै कारणले इन्धनको मूल्य बढेको जनाइएको छ । निगमका सहप्रवक्ता कार्कीका अनुसार मूल्य समायोजन हुँदा प्रतिलिटर पेट्रोलमा १४ रुपैयाँ ६४ पैसा, डिजेलमा २६ रुपैयाँ ८२ पैसा र ग्यासमा प्रतिसिलिन्डर ८ सय ७९ रुपैयाँ ७५ पैसा घाटा छ ।
मट्टीतेलमा भने प्रतिलिटर २२ रुपैयाँ ११ पैसा, हवाई इन्धन आन्तरिकतर्फ १३ रुपैयाँ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ ५९ रुपैयाँ नाफा छ । सबैभन्दा बढी खपत पेट्रोल, डिजेल र ग्यासको हुन्छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्धनको आयात बर्सेनि औसत १४ देखि १५ प्रतिशतले बढ्दो क्रममा छ । ‘सबैभन्दा बढी आयात खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको हुन्छ,’ उपाध्यायले भने, ‘ग्यास आयात बढ्दो छ । ग्यासबाट मात्रै निगमलाई मासिक करिब ३ अर्ब नोक्सानी भइरहेको छ ।