नेपालगन्ज चौरहामा सालिकको कथा - Dastabej

नेपालगन्ज चौरहामा सालिकको कथा

राणाकालमा राणाका सालिक थिए । राजा आएपछि राणाका सालिक फालेर आफ्ना राखे । आन्दोलनका क्रममा राजाका सालिक फालिए र आन्दोलनकारी सहिदका सालिक खडा गरिए ।


  • ठाकुरसिंह थारु

  • जेष्ठ २२, २०७९ , नेपालगन्ज — बाँके नेपालगन्जको मुटुमा रहेको सुर्खेत रोड, नेपालगन्ज–गुलरिया सडक बीचको धम्बोझी चोकमा स्वर्गीय राजा वीरेन्द्रको सालिक राख्न खोज्दा बिहीबार तनाव उत्पन्न भयो । सालिक राखेको केहीबेरमा स्थानीय प्रशासनले हटाउन खोज्दा राजावादीहरुले ढुंगामुढा गरे ।

    नेपालगन्जको सेतु विक चोकमा रहेको सालिक । तस्बिर : रूपा गहतराज

    स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गर्‍यो । त्यहाँबाट तितरबितर भएको भिडले न्यूरोडस्थित २०६२/६३ को जनआन्दोलनकी सहिद सेतु बिकको सालिकमा क्षति पुर्‍यायो । सहिद सेतु बिक चोक बन्नुअघि त्यस चोकको नाउँ ज्ञानेन्द्र चोक थियो । पूर्वराजा ज्ञानेन्द्रको नाउँमा त्यो चोकको नामकरण गरिएको थियो । धम्बोझीमा यसअघि राजा वीरेन्द्रको सालिक राखिएको थियो । वीरेद्र चोकको नाम अझै पनि कानुनीरुपमा परिवर्तन भइसकेको छैन । तर जनआन्दोलनका क्रममा वीरेन्द्रको सालिक भत्काइयो । त्यसैले उक्त स्थानमा राजावादीहरुले राजा वीरेन्द्रको सालिक राख्ने प्रयास गर्दै आएका छन् । स्थानीय प्रशासनले हस्तक्षेप गर्दै सालिक राख्न दिएको छैन । हाल वीरेन्द्र चोकलाई धम्बोझी चोक भनिन्छ ।

    २०६२/६३ को जनआन्दोलनका क्रममा सदरलाइनस्थित राजा त्रिभूवनको सालिक पनि तोडफोड भएको थियो । त्रिभुवन चोकबाट परिचित उक्त चोकमा लामो समयदेखि राष्ट्रिय झन्डा राखिएको थियो । मधेस आन्दोलनको केन्द्रविन्दु त्रिभुवन चोक बन्यो । थुप्रै पटक प्रहरी र आन्दोलनकारीहरुबीच झडप भयो । आन्दोलनकै क्रममा स्थानीय युवा कमल अधिकारीको ज्यान गयो । त्यसपछि आन्दोलनकारीहरुले त्रिभुवन चोकलाई कमल–मधेसी चोक घोषणा गरे । लामो समयको अन्तरालपछि राजा समर्थकहरुले उक्त चोकमा राजा त्रिभुवनको सालिक राखेका छन् । त्रिभुवनको सालिक पनि इतिहास मेटाएरै राखिएको हो । १९९२ सालमा हालको त्रिभुवन चोकमा जुद्धशमशेर राणाको सालिक राखिएको थियो । २००७ सालमा राणाशासन गएपछि शाहवंशीय राजाहरुले शासन गर्न थाले र उक्त चोकमा राजा त्रिभुवनको सालिक राखियो । जनआन्दोलनले त्रिभुवनको त्यो सालिक पनि हटायो । नेपालगन्जको इतिहासबारे जानकार तथा प्राज्ञ सनत रेग्मी अधिकारका लागि गरिने आन्दोलनका क्रममा इतिहास मेट्ने काम सकारात्मक नभएको बताउँछन् । उनी भन्छन्, ‘नयाँपुस्ताका लागि इतिहास आवश्यक पर्छ ।’

    राणाकालमा राणाका सालिक थिए । राजा आएपछि राणाका सालिक फालेर आफ्ना राखे । आन्दोलनका क्रममा राजाका सालिक फालिए र आन्दोलनकारी सहिदका सालिक खडा गरिए । तर जे भइरहेको छ त्यो राम्रो होइन ।’ नेपालगन्ज—कोहलपुर ‘फोर लेन’ सडकको कारकाँदो चोकको नामाकरणपछि पटक-पटक विवाद हुँदै आएको छ । नेपालगन्जमा गाभिनुअघि तत्कालीन कारकाँदो गाविसको २०५८ सालको परिषद्ले राष्ट्रिय विभूति शंखधर साख्वा नामाकरण गर्ने निर्णय गरेको थियो । त्यसअघि उक्त चोकलाई कारकाँदो चोक भनिन्थ्यो । अहिले पनि कारकाँदो चोक नै भनेर चिनिन्छ । पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता हडपेपछि राजावादीहरुले त्यसलाई पारस चोक नाम दिए । तर गणतन्त्र आएपछि उक्त चोक हटाइयो । केहीले तत्कालीन कारकाँदो गाविस परिषद्ले गरेको निर्णयलाई कार्यान्वयन गर्न माग गर्दै आएका छन् । गत वर्ष जनजाति अगुवाहरुले नेपालगन्ज उपमहानगरमा ज्ञापनपत्र बुझाउँदै तत्कालीन गाविसले गरेको निर्णय कार्यान्वयन गर्न माग गरे । आदिवासी जनजाति अगुवा डम्बर थापा भन्छन्, ‘गाविसले निर्णय गरिसकेको राष्ट्रिय विभूति शंखधर साख्वा चोक कार्यान्वयन हुनु पर्छ ।’

    जनआन्दोलनका क्रममा भेरी अस्पताल परिसरमा रहेको राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको सालिकमाथि क्षति पुर्‍याइयो । हालसम्म पनि जीर्ण सालिकको मर्मतसम्भार हुन सकेको छैन । वागेश्वरी मन्दिर, मिनीपार्कमा रहेको राजा वीरेन्द्रको सालिक पनि तोडफोड भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ऋषिराज देवकोटा लोकतन्त्रमा पनि इतिहासको संरक्षण हुन नसकेको बताउँछन् । उनी पूर्वराजाहरुको नाममा बनाइएका चोकहरुमा सालिक पुनर्स्थापित गर्न पाउनुपर्ने अडान राख्छन् । भन्छन्, ‘सालिकसँग गणतन्त्रवादीहरु किन डराउने ?‘ नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख प्रशान्त विष्ट सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र मनोमानी ढंगले सालिक स्थापना गर्ने कार्य गलत भएको बताउँछन् । राजनीति गर्ने नाममा यस खालको अराजनीतिक क्रियाकलापको उनी निन्दा र भर्त्सना गर्छन् । भन्छन्, ‘समस्या समाधानका लागि सर्वपक्षीय भेला गरी निर्णय लिन्छौं । कुनै पनि बहानामा नेपालगन्जको सामाजिक सद्भाव कसैले पनि बिथोल्नु हुँदैन ।’ ईकान्तिपुर ।

  • २२ जेष्ठ २०७९, आईतवार १७:२८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार