अनुशासन आयोगलाई कारबाहीका लागि दबाब दिइएको थियो’ – Dastabej

अनुशासन आयोगलाई कारबाहीका लागि दबाब दिइएको थियो’


  • दस्तावेज

  • काठमाडौँ — एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ । एक टीभीमा अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको र स्थानीय तह निर्वाचनमा भोगेको पराजयको जिम्मेवारी लिँदै राजीनामा मागेको भन्दै उनलाई कारबाहीका लागि सिफारिस गरिएको हो । अनुशासन आयोगको सिफारिसअनुसार एमालेले कारबाही गर्ला कि नगर्ला भन्ने हेर्न बाँकी छ । स्थानीय तह निर्वाचनमा पराजयको कारण अन्तर्घात र गठबन्धन भनिरहेको एमालेले पार्टी अध्यक्षको नीति जिम्मेवार भुसालले ठानेका छन् । पार्टीको अनुशासन आयोगले कारबाही सिफारिस गरेको विषयमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालसँग कान्तिपुरका मणि दाहालले गरेको कुराकानी :

    तपाईंलाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिसको निर्णय गरेको छ, के भन्नुभएको थियो र यो अवस्था आएको हो ?

    यसबारेमा मलाई औपचारिक रूपमा केही कुरा थाहा छैन । तर, यसको मैले गाइँगुइँ सुनेको थिए । मैले सुनेअनुसार, हल्ला वा गाइँगुइँलाई पत्याउने हो भने अनुशासन आयोगले कारबाही गर्ने भनेर केही निर्णय गर्‍यो । कारबाही गर्नका लागि जुन बैठक बस्यो त्यो दबाबमा बस्यो भनेर त्यहाँ भएका मान्छे भन्छन्, सुनिजान्नेहरू त्यसो भन्छन् ।

    कसको दबाब भन्ने केही खुलाउन मिल्छ ?

    कतैको भन्ने छ । कारबाही गर्नैपर्ने भयो भन्ने टाइपको कुरा चलेको थियो भन्ने सुनेको । बुधबार कारबाही गर्ने भनेर अनुशासन आयोगले निर्णय गर्‍यो । पछि त्यसमाथि वैधानिक रूपमा प्रश्न उठ्ने भएछ । किनभने, आयोग आफैले कारबाही गर्न सक्दैन भन्ने कुरा उठेपछि सिफारिस गर्ने भन्नेतिर गयो भन्ने सुनेको हो । यो गाइँगुइँ सुनेको कुरा हो । पछि अनुशासन आयोगको अध्यक्षलाई उद्धृत गर्दै मिडियामा समाचारमा आएपछि यो केही भएको रहेछ त्यहाँभित्र भन्ने मैले सुनेको छु ।

    जुन विषयलाई लिएर कारबाही गर्ने भनिएको छ अन्तर्वार्ताको कुरा, त्यसमा त्यस्तो के कुरा थियो र आपत्तिको स्थिति सिर्जना भयो ?

    त्यो कुरा मलाई थाहा छैन, औपचारिक रूपमा । अथवा के विषयमा उहाँहरूको टिप्पणी हो भन्ने कुरा थाहा छैन । तर, आयोगले जस्तो अतिरिक्त सक्रियता प्रदर्शन गरिराखेको छ, त्यो आयोगले आफ्नो विवेकले केही गर्दैछ भन्ने देखिँदैन । किनभने आयोगले यसरी गर्‍थ्यो भने त योभन्दा पार्टी हित, परम्परा, अनुशासन, मूल्यका विरुद्धमा बोलेका मान्छेहरूको बारेमा कोही बोलेको छैन । चुपचाप छ । अनि मैले टिभीमा भनेको कुरा पार्टीको भविष्य, वाम आन्दोलन, कम्युनिस्ट पार्टी परम्पराको निर्माण गर्ने सहिद, कार्यकर्ताको कुरा गरेको छु । तिनको भावना, योगदानको संरक्षण हुनुपर्छ; रक्षा र विकास हुनुपर्छ मैले भनेको छु । त्यस अर्थमा मेरो कुरा त आन्दोलन र पार्टीको पक्षमा हो । तर, देखादेखि आन्दोलन, पार्टी, नेताहरूको विरुद्धमा व्यक्तिगत रूपमा तथानाम बोलेका मान्छेहरूको, मेरै बारेमा बोलेका अन्तर्वार्ता दिएका मान्छेहरूको बारेमा तिनीहरूले कहिल्यै प्रश्न उठाएनन् । तर, अहिले यो प्रश्न उठाएका छन् भन्ने मैले सुनेको छु । फेरि पनि भन्छु मलाई औपचारिक रूपमा केही पनि थाहा छैन ।

    यदि यो हो र उनीहरूले ममाथि प्रश्न उठाएको हो भने त्यो अंग्रेजीमा ‘कंगारु कोर्ट’ भन्छ- आफैले अदालत गठन गर्ने, न्यायाधीश नियुक्त गर्ने र आफैले मुद्दा लाउने, आफैले फैसला गर्ने । सबैथोक आफैले गर्ने । यदि त्यसो गरेको हो भने नेकपा (एमाले)को अनुशासन आयोगको गरिमालाई यो आयोगका मान्छेहरूले धुलीसात पार्ने भए भन्ने मलाई चिन्ता छ । म उहाँहरूले आफ्नो हैसियत नगुमाउन र उहाँहरूको इज्जत प्रतिष्ठा जोगियोस् भन्नेकै पक्षमा छु ।

    पार्टीका उम्मेदवार विरुद्धमा लाग्ने, खुलेआम अन्तर्वार्ता दिनेलाई कारबाही नभएको तर तपाईंप्रति अनुशासन आयोगले अतिरिक्त सक्रियता देखायो भन्नुभयो, त्यसका लागि के कुराले आयोगलाई प्रेरित गर्‍यो ?

    एक त यो अहिले हामी जुन हिसाबले महाधिवेशनमा पदाधिकारी, आयोग जसरी निर्वाचित भएर आएका छन् कतिपय कुरा बाहिर आएको छैन । त्यसको अन्तर्कहानी अरु धेरै छन् । त्यसो गर्दा एउटा विधिशास्त्रमा ‘हू जजेज् दी जज्’ भन्छ । न्यायाधीशमाथि कसले फैसला गर्छ भन्ने एउटा भनाइ छ । त्यस हिसाबले हेर्ने हो भने हामीभित्र बहुत धेरै समस्या छन् । एमालेले इतिहासमा अर्जेको वामपन्थी लोकतान्त्रिक पार्टी भन्ने मर्यादा, इज्जत, प्रतिष्ठा थियो त्यसमाथि अहिलेका हाम्रा महाधिवेशन उम्मेदवार हुने, बनाउने, उम्मेदवारको प्रचार गर्ने, उम्मेदवारलाई भोट देउ/नदेउ भन्ने, आयोग बनाउने यी सबै जे गरेका छौं, हामीले त्यो मर्यादालाई धुलिसात पारेका छौं ।

    मैले त्यो प्रश्न उठाइराख्या छु । मैले एमालेको पुनरोदयको कुरा गरेको छु । एमालेको पुनर्जागरणको कुरा गरेको छु । त्यो भन्नुको अर्थ कुनै नेताको पुनर्जागरणको कुरा, एमालेभित्र कुनै नेताको एकलौटी अधिकारको कुरा होइन । एमालेको सामूहिक वामपन्थी लोकतान्त्रिक चरित्रको पुनरोदयको, पुनर्उत्थान, पुनर्जागरणको कुरा गरेको छु । यथास्थितिमै राख्नुपर्छ, रमाउनुपर्छ भन्नेहरूले मेरो विरोध गर्दै आएका छन् । यदि यो मुद्दामा पार्टीको अनुशासन आयोग पसेको हो भने ऊ एमालेलाई यसका असल परम्पराहरू ध्वस्त पार्ने काममै लाम लाग्न जाने हुन्छ कि भन्ने डर छ ।

    आन्तरिक लोकतन्त्रको विषय पनि हुन्छ र पार्टीको फोरम बाहिर गएर बोलेको भन्ने कुरालाई कसरी लिनुभएको छ ?

    यसमा हामीले पार्टीको कुरा बाहिर गएर बोलेको भन्ने ? बाहिर मैले पार्टीको विरुद्धमा बोलेको छु भने त्यो नबोल्ने हो । पार्टीको विरुद्ध, पार्टीका निर्णय, नेता, परम्परा, अनुशासनको विरुद्धमा खुलेआम बोलिरहेका मान्छेहरू माथि प्रश्न नउठाउने अनि आन्तरिक लोकतन्त्र हुनुपर्छ भन्नेहरूमाथि प्रश्न उठाउने ? यो राम्रो संकेत होइन ।

  • २२ जेष्ठ २०७९, आईतवार १९:०२ प्रकाशित

  • Nabintech
  • १. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप
  • २. नेपालगन्ज कारागारबाट कुन मुद्दाका को को कैदी रिहा भए (सूची)
  • ३. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • ४. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ५. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ६. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ७. राप्ती नदिमा दुई जनाको शव फेला