मानव जीवनको मूल्यमा बाघ संरक्षण – Dastabej

मानव जीवनको मूल्यमा बाघ संरक्षण


  • दस्तावेज

  • बर्दिया — ठाकुरबाबा नगरपालिका–४ सैनाबगरकी लिली चौधरी २०७८ फागुन १० को साँझ खोरमा बंगुरलाई दाना खुवाउँदै थिइन् । पूर्वपश्चिम राजमार्गबाट करिब १०० मिटर उत्तरमा रहेको उनको घरपछाडिको खोरमा भर्खर बच्चा जन्माएको माउलाई दाना दिँदै गर्दा उनलाई बाघले झम्टियो । बाघले लतार्दै जंगलतिर लगेको देखेपछि छिमेकीले हारगुहार गरे । बाघ लिलीलाई छाडेर जंगल फर्कियो तर त्यतिन्जेलमा उनको ज्यान गइसकेको थियो । १० वर्षअघि नै श्रीमान्सँग छुट्टिएकी लिली एक्लैले छोरा आकाश र छोरी निशा हुर्काएकी हुन् । आकाश एसईई दिएर बसेका छन्, निशा सेनामा छिन् । ‘आमालाई बाघले लगेपछि हामी एक्लो भएका छौं,’ आकाशले भने, ‘हामीलाई पनि कहिले लैजान्छ भन्ने डर छ । पाँच दिनअघि पनि साँझमा आएर खोरबाट बंगुर लग्यो । साँझ पर्नेबित्तिकै बाहिर निस्कन डर लाग्छ । ट्वाइलेट जान पनि डराउनुपर्ने अवस्था छ ।’

    लिलीको मृत्युपछि उनका सन्तानको हेरचाह गर्न बहिनी अस्मिता आएर बसेकी छन् । ‘नानीबाबुको सहारा कोही नभएपछि म आएकी छु तर बाघ नै आइहाले म पनि कसरी बच्न सकुँला र ?’ उनले भनिन्, ‘निकुञ्जनजिकै घर हुनु हाम्रो दुर्भाग्य भयो । यस्तो गर्मीको बेला साँझमा एकछिन बाहिरतिर हावा खाऔं भन्ने अवस्था छैन । रातदिन बाघको आक्रमणको डरमा बाँच्नुपरेको छ ।’ सरकारले बाघको आक्रणमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ राहत दिन्छ । मृतकका परिवारप्रति त्यसबाहेक अन्य कुनै प्रकारका सहयोग–सहानुभूतिसम्म देखिँदैन । ‘आकाशको पढ्ने उमेर बाँकी नै छ । पीडित परिवारका बालबच्चालाई पढाउने, जागिर लगाइदिने वा आर्जन हुने कुनै तालिम दिने केही पनि छैन,’ अस्मिताले भनिन्, ‘निकुञ्ज र गाउँको बीचमा पर्खाल लगाइदेऊ भन्दा पनि सुन्दैनन् । अहिले पातलो एउटा जाली छ । त्यसलाई सजिलै नाघेर आउँछ र मानिस वा बस्तुभाउ जे पाउँछ, मारेर लान्छ ।’

    ठाकुरबाबा–१, श्रीरामनगरमा २०७६ भदौ ८ को बिहान बंगुरलाई दाना खुवाउँदै गरेका पहरिया थारूलाई पनि बाघले खोरभित्रै पुगेर झम्टिएको थियो । छिमेकीले हारगुहार गरेपछि पहरियालाई छाडेर बाघ त भाग्यो तर स्वास्थ्यचौकी पुर्‍याउँदा नपुर्‍याउँदै उनको प्राण गयो । उनकी बुहारी सन्तरानीले उक्त घटनापछि आफूहरूले बंगुर पाल्न छाडेको बताइन् । आफ्नो जमिन नभएका उनीहरूको आम्दानीको अरू स्रोत छैन । ‘दुई छोरालाई स्कुल पठाउन गाह्रो भइरहेको छ । आम्दानीको केही बाटो छैन,’ सन्तरानीले भनिन्, ‘बाघ आउँछ भनेर घर छाडेर कहाँ जानु, यहाँ पनि कसरी बस्नु ?’ पहरियामाथि आक्रमण हुनुअघिसम्म निकुञ्ज र गाउँका बीचमा तारजाली लगाइएको थिएन । यो घटनापछि जाली लगाए पनि त्यतिले बाघलाई रोक्दैन । पहरियालाई आक्रमण गर्ने बाघलाई पछि निकुञ्जले नियन्त्रणमा लियो । उक्त बाघको मृत्यु पनि भइसकेको छ । तर अहिले गाउँमा नयाँ बाघ आउने गरेको सन्तरानीले बताइन् ।

    दिउँसो गाई–बाख्रालगायत घरपालुवा जनावर चराउन जाँदा, घाँस–दाउरा लिन वा घोंगी, निहुरो टिप्दा जंगलमै बाघले आक्रमण गरेका घटना बर्दियामा सामान्य भइसकेका थिए । पछिल्लो समय भने बाघले खोरभित्रै छिरेर आक्रमण गर्न थालेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको तथ्यांकअनुसार २०७६ यता बाँके, बर्दिया र कैलालीमा बाघको आक्रमणबाट ३० जनाको ज्यान गइसकेको छ । सबैभन्दा बढी बर्दियामा २३, बाँकेमा ६ र कैलालीमा एक जनाको मृत्यु भएको हो । पछिल्लो समय बर्दियामा बाघको संख्यामा उल्लेखनीय वृद्धि भएसँगै आक्रमणका घटना पनि बढेका छन् । सन् २००९ को गणनामा बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा १८ वटा बाघ पाइएकामा २०१८ मा उक्त संख्या ८७ पुगेको छ । बाघको संख्या ९ वर्षकै अवधिमा झन्डै पाँच गुणा बढाउन सफल भएको भन्दै बर्दिया राष्ट्रिय निकुञ्जलाई यसै वर्ष रुसमा अन्तर्राष्ट्रिय अवार्ड ‘टी एक्स टु’ प्रदान गर्न लागिएको छ । सन् २०१० मा रुसमै भएको बाघ पाइने राष्ट्रका प्रमुखहरूको सम्मेलनले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य निर्धारण गरेको थियो । त्यसमध्ये सबैभन्दा उत्कृष्ट सफलता हात पारेको भन्दै बर्दिया र भारतको सत्यमंगलम टाइगर रिजर्भलाई उक्त पुरस्कार दोस्रो बाघ सम्मेलनका अवसरमा आगामी भदौमा प्रदान गरिँदै छ ।

    बाघ संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएकामा पुरस्कार दिँदै गर्दा यो सफलताका मुख्य हकदार निकुञ्ज आसपासका थारूलगायत आदिवासी समुदायले चुकाइरहेको मूल्यलाई भने कसैले स्वीकार गरेको देखिँदैन । पहरिया थारू र लिली चौधरीजस्ता व्यक्तिको जीवनसँग साटिएको यो सफलतामा उनीहरूको परिवारको योगदानलाई कतै ‘रिकग्नाइज’ समेत गरिएको छैन । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठक मानव र वन्यजन्तुको सहअस्तित्वमा आधारित संरक्षणका कार्यक्रम नबनाउने तर जनताको जीउज्यानको बदलामा वन्यजन्तु मात्र जोगाउने संरक्षणको मोडल नै उपयुक्त नभएको बताउँछिन् । ‘हाम्रो संरक्षणको अवधारणा जनताको जीविकोपार्जनसँग जोडिएको छैन । जनतालाई मर्न छाडिदिएर वन्यजन्तु मात्र जोगाउन खोज्ने यो तरिका लामो समय जाँदैन,’ उनले भनिन्, ‘घोंगी टिप्न जाने बर्दियाका थारू र निहुरो टिप्न जाने चितवनका चेपाङ बाघबाट मारिइँदै आएका छन् । निकुञ्जले कति बाघ थेग्न सक्ने हो ? कति वन्यजन्तु संरक्षण गर्दा मानिस पनि जोगिने हो ? केही हिसाब छैन ।’ वन्यजन्तुले मारेका मानिसका परिवारप्रति राज्यका निकायहरूको सामान्य सहानुभूति पनि देखिँदैन । संख्या बढेको खुसीयालीमा मनाइरहेको यो उत्सव मृतकका परिवारप्रति अपमान भएको पाठक बताउँछिन् ।

    बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघको आक्रमण बढेसँगै यो समस्यालाई समग्र रूपमै सम्बोधन गर्ने प्रयास गरिरहेको बताए । ‘संघीय सरकारसँगै प्रदेश र स्थानीय सरकार, सामुदायिक वन उपभोक्ता समिति, संरक्षणको क्षेत्रमा काम गर्ने संघ–संस्थालगायत सबैको सहकार्यमा मानव–वन्यजन्तु द्वन्द्व घटाउन के गर्ने भन्नेबारे पाँचवर्षे रणनीतिक योजना बनाएका छौं,’ उनले भने, ‘धेरै घटना वन क्षेत्रमा भएका छन् । त्यसैले वनमा निर्भर विपन्न परिवारलाई जीविकोपार्जनका लागि विकल्प दिन प्रयास गर्दै छौं ।’ पछिल्लो तीन वर्षमा पाँच वटा समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइएको छ भने एउटामा स्याटेलाइट कलर जडान गरिसकिएको छ । श्रेष्ठका अनुसार स्थानीय सरकारसँग मिलेर निकुञ्ज र बस्तीबीचमा तारजाली गरिँदै आएको छ ।

    खाताका दुःख

    मधुवन नगरपालिका–२, कोठिया गाउँकी ४९ वर्षीया कौशिका पालले बाघको आक्रमणबाट गत जेठ १० मा ज्यान गुमाइन् । डिभिजन वन कार्यालयका जिल्ला वन अधिकृत प्रवीण बिडारीका अनुसार उनलाई खाता जैविक मार्गमा पर्ने जनजागृति सामुदायिक वनमा बाघले आक्रमण गरेको हो । यो शोक सकिन नपाउँदै २३ जेठमा सोही ठाउँकी अस्मिता थारूलाई बाघले आक्रमण गरी घाइते बनायो । बाघलगायत जंगली जनावरको आक्रमणबाट सुरक्षा माग्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा मधुवन–२ की १८ वर्षीया नवीना थारूले ज्यान गुमाइन् । त्यसपछि आन्दोलित मधुवनका स्थानीयले ८ बुँदे सहमति गरी बिहीबारदेखि विरोध रोकेका छन् । तर, मधुवनको खाता करिडोर आसपासका जनताका लागि बाघको आक्रमण र मृत्यु नियमित नियति बन्दै आएको छ । मधुवन–३ कोठियाघाटकी रेनुका सुनारलाई २०७७ फागुन २६ मा कोठियाघाट सामुदायिक वनमा घाँस काट्न गएका बखत बाघले ज्यान लिएको थियो । आफूसँगै जंगल गएकी बुहारीलाई गुमाउनुपरेपछि सासू कौशिला सुनार जंगल जानै छाडेकी छन् । ४३ वर्षदेखि त्यहाँ बस्दै आएकी ६१ वर्षीया कौशिलाले बाघको यस्तो नियमित आक्रमण यसअघि कहिल्यै थाहा नपाएको बताइन् । ‘बुहारीलाई जंगलमै मार्‍यो । अहिले त झन् घरनजिकै आउन थालेको छ,’ उनले भनिन्, ‘कहिले पाठा खाइदिन्छ, कहिले हामीलाई नै झम्टिने हो भन्ने डरले रातभर निद्रा लाग्दैन ।’

    रेनुकालाई आक्रमण गर्नुभन्दा चार महिनाअघि मधुवन–३ धनौराका दिनेश थारूलाई बाघले मारेको थियो । जंगलमा च्याउ खोज्न गएका उनलाई २०७७ कात्तिक ११ मा बाघले आक्रमण गर्‍यो । दिनेशलाई खोज्न भनी निस्किएका उनका साला रमेशलाई पनि बाघले मार्‍यो । धनौराकी रमिता चौधरीले त एकै दिन बाघको आक्रमणबाट भाइ रमेश र श्रीमान् दिनेशलाई गुमाइन् । दुई छोरी हुर्काउँदै गरेकी उनी बाघले आफ्नो घर उजाडिदिएको बताउँछिन् ।

    दिनेश र रमेशले एकअर्काका दिदीबहिनी बिहे गरेका थिए । रमिताले श्रीमान् र भाइ गुमाए जस्तै त्यही घटनामा मधुवन–३ की पूजाले पनि दाइ दिनेश र श्रीमान् रमेश गुमाइन् । ‘दादा (दिनेश) लाई बाघले आक्रमण गरेको थाहा पाएपछि उहाँलाई जिउँदै भेट्न सकिन्छ कि भनेर खोज्न गएका थियौं । बाघलाई देख्न नपाई खै कताबाट आएर श्रीमान् (रमेश) लाई झम्टियो । उहाँलाई पनि बचाउन सकेनौं,’ उनी भन्छिन् । २५ वर्षमै उनी दुई छोरीकी आमा भइसकेकी छन् । जेठी छोरी ३ र कान्छी १ मा पढ्छिन् । रमेश घर बनाउने श्रमिक थिए । कमाउने घरमूलीको मृत्यु भएपछि आफूहरूको अन्य आयस्रोत नभएको र बालबच्चा हुर्काउनै धौधौ भएको उनले बताइन् ।

    यी तीनवटै घटना बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीसँग जोड्ने खाता जैविक मार्ग (करिडोर) मा भएका हुन् । बाघ, हात्ती, गैंडालगायत वन्यजन्तु ओहोरदोहोर गर्नका लागि संरक्षित वन क्षेत्र उपलब्ध गराएको यो करिडोरको सफलता अन्तर्राष्ट्रिय रूपमा समेत चर्चित छ । सन् २०१० मा जैविक मार्गका रूपमा स्थापित यो करिडोरले संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको छ । तर, स्थानीयका लागि भने यही करिडोर दिन प्रतिदिन चिन्ता बढाउने कारण बनिरहेको छ ।

    राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रवीन कडरिया वन्यजन्तुको संरक्षण र समुदायको सुरक्षालाई सँगै लैजानुपर्ने बताउँछन् । ‘जंगलमा निर्भर हुनुपर्ने स्थानीयको बाध्यता छ । उनीहरूलाई त्यहाँ जानै नदिने भन्ने भएन । अर्कोतर्फ त्यहाँ जाँदा नियमित आक्रमण भइरहेको छ,’ उनले भने, ‘तीनै तहका सरकार, ऋण तथा बचत समूह, आमा समूह, संरक्षणको क्षेत्रमा काम गर्ने संघसंस्था र उपभोक्ता समितिले मिलेर काम गर्नुपर्छ । वनमा समुदायको निर्भरता कम गर्ने उपाय अपनाउन सके यस्ता आक्रमण कम गर्न सकिन्छ ।’ स्थानीयलाई डकर्मी, सिकर्मी, सिलाइकटाइजस्ता सीप दिने, जंगलमा पाइने डालेघाँस र तरकारी आफ्नै बारीमा उब्जाउन उत्प्रेरित गर्ने, पर्यटन व्यवसायको लाभ स्थानीय जनतासम्म पुर्‍याउने काम गर्न उनले सुझाए । ‘वन्यजन्तुबाट मानिसको ज्यान गइरहेका यस्ता घटनाले अन्ततः बाघलगायत लोपोन्मुख वन्यजन्तुकै संरक्षणमा चुनौती थप्छ । त्यसैले पनि द्वन्द्व घटाउन गम्भीरतापूर्वक पहल गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

    नेपालमा सन् २००९ मा १२१ वटा बाघ रेकर्ड भएकामा २०१८ मा २३५ पुगेका छन् । यसै वर्ष भएको गणनाको नतिजा आइसकेको छैन । तर, सन् २०१० मा १२ वर्षभित्रमा २५० पुर्‍याउने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा हुने देखिन्छ । बाघको संख्या बढेसँगै मानिसको ज्यान जाने संख्या पनि बढ्ने चुनौती थपिएको छ । पश्चिम नेपालका बाँके र बर्दिया निकुञ्ज आसपास भएका बाघ आक्रमणका घटनामध्ये खाता करिडोरमा भएको संख्या तुलनात्मक रूपमा बढी छ । उक्त क्षेत्रमा भएका सबै घटनामध्ये एकतिहाइ घटना मधुवन नगरपालिकाभित्रको यो करिडोरमा छ ।

    ‘कम्प्लेक्स कन्सिक्वोन्सिस अफ कन्जरभेसन सक्सेस : इमर्जिङ ह्युमन–टाइगर कन्फ्लिक्ट इन नेपाल’ नामक जर्नल लेखमा संरक्षणकर्मीहरूले बर्दिया–बाँके कम्प्लेक्समा अहिलेको स्तरको द्वन्द्व जारी रह्यो र मानवीय क्षति कम गर्न समयमै ध्यान दिइएन भने बाघ संरक्षणमै ठूलो जोखिम निम्तने चेतावनी दिएका छन् । लोपोन्मुख वन्यजन्तुका लागि उपयुक्त बासस्थान संसारका धेरै ठाउँमा उपलब्ध छैनन् । नेपालमा तिनको संरक्षण गर्ने, लोप हुन नदिने कार्यक्रम सञ्चालन गर्न जरुरी छ । त्यसका लागि बासस्थान बढाउनेदेखि वन्यजन्तुको चोरी/सिकार र अवैध व्यापार नियन्त्रण गर्नुपर्छ । यस्तो संरक्षणका लागि मूल्य पनि चुकाउनु परिरहेको छ । अहिलेसम्मका हाम्रा पहल लोपोन्मुख वन्यजन्तुमाथिको खतरा कसरी कम गर्ने भन्नेमा केन्द्रित थिए । तर, अब यसको मूल्य महँगो पर्दै जान थालेको छ । मानिसले ज्यानै गुमाउन थालेका छन् ।

    अब संरक्षणसँगै समुदायको हितलाई केन्द्रमा राख्ने गरी कार्यक्रम बनाउनुपर्छ । निकुञ्ज तथा संरक्षण क्षेत्र आसपासका समुदायलाई संरक्षण कार्यमा सँगसँगै लैजानुपर्ने आवश्यकता छ । हामीलाई बाघलगायतका लोपोन्मुख वन्यजन्तु कति चाहिने हो ? हामीले कति संख्यामा तिनको संरक्षण गर्न सक्छौं ? तिनलाई संरक्षण गर्ने उपयुक्त बासस्थान कहाँ हो ? यति कुरा टुंगो लगाएपछि त्यो क्षेत्र आसपास बसोबास गर्ने समुदायको हितलाई पनि कसरी संरक्षणसँगै अगाडि बढाउन सकिन्छ भन्ने विचार गर्नुपर्‍यो । समुदायलाई कसरी जोगाउने हो ? वन्यजन्तुसँग ‘इन्गेज’ नै हुन नदिन के गर्ने भन्नेतिर सोच्नुपर्‍यो । नत्र वन्यजन्तु त संरक्षण हुने भयो तर मानिसको जीवनको मूल्यमा । त्यो त साह्रै महँगो भयो । ईकान्तिपुर ।

     

  • २८ जेष्ठ २०७९, शनिबार १२:३९ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश