नेपालगन्ज । शनिबार आएको हावाहुरिका कारण बर्दियामा एक जना बालकको मृत्यु हुनुका साथै बाँके बर्दियाका दर्जनौं घरमा क्षती पुगेको छ । मधुवन ७ का १२ वार्षिय अमृत थापाको मृत्यु भएको हो । मृतक थापाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाख्रा चराउन गएका थापा हावाहुरी आएपछि सुरक्षित स्थानको खोजीमा एउटा घर नजिकै पुगेका थिए । तर उक्त घर छेउको आँपको रुख ढलेर उनलाई थिचेको थियो ।
हावाहुरीले गर्दा दर्जनौं घरका छाना उडाउनुका साथै ठूलो संख्यामा रुख ढलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । यस्तै हावाहुरीको क्षतिको प्रारम्भिक विवरण अनुसार अहिलेसम्म ७ जना घाइते भएको प्रहरी उपरीक्षक शाहीले बताए ।
यस्तै अहिले बर्दियाका अधिकांश स्थानमा विद्युत लाइन समेत काटिएको छ । साथै ठूलो मात्रामा अन्नबाली पनि नष्ट भएको बताइएको छ । यद्यपि क्षतिको पूर्ण विवरण आइसकेको छैन ।