चैते धान भित्र्याउन व्यस्त छन् किसान – Dastabej

चैते धान भित्र्याउन व्यस्त छन् किसान


  • दस्तावेज

  • भजनी, ३१ जेठ ९रासस०ः कैलालीको भजनी नगरपालिका–८ नवलपुरका रामप्रसाद चौधरी यतिबेला खेतमा व्यस्त हुनुहुन्छ । उहाँलाई एकातिर वर्षे धान रोपाइँको चटारो छ भने अर्कोतिर चैते धान भित्र्याउन । रामप्रसादले यसअघि लगाइएको धान काटेर वर्षेधान रोपाइँको तयारी गरिरहनुभएको छ । रासायनिक मलको खोजीमा रहनुभएका उहाँले मल पाउनुभएको भए आजसम्म खेत रोपिसकिने बताउनुभयो ।

    चौधरीले तीन बिघा जमिनमा चैते धान रोप्नुभएको छ । भजनीका अधिकांश किसान चैते धान भित्र्याउनमै व्यस्त छन् । फागुनको अन्तिम वा चैतको पहिलो साता रोपिएको चैते धान किसानले भित्र्याउन लागेका हुन् । “मौसमले निकै साथ दिएको छ । धान काट्न र सुकाउनका लागि मौसमले साथ दिएपछि खेत रोपाइँभन्दा पाकेको धान भित्र्याउन लागिपरेका हौँ,” रामप्रसादले भन्नुभयो, “हाम्रा लागि चैते धान नै खाद्यान्नको मुख्य आधार हो । वर्षेधान त बाढी र डुबान भएन भन मात्रै भित्र्याउन पाइन्छ । त्यही पनि केही उच्च ठाउँमा वर्षे धान रोप्ने तयारी गरेको छु ।”

    भजनीका किसानमा हिउँदे खेती गर्न पाए पनि वर्षे खेतीमा आकर्षण निकै कम हुने गरेको छ । बर्सातमा बाढी र डुबानको निकै जोखिम रहेको भजनीमा अधिकांश क्षेत्र डुबानमा पर्छ । लामो समयसम्म डुबान रह्यो भने लगाइएको अन्नबाली कुहिएर जाने भएकाले लगानी मात्रै गर्नुपर्ने तर उत्पादनको ग्यारेन्टी नहुने भएपछि वर्षे बालीमा आकर्षण कम हुँदै गएको भजनीका अर्का किसान सुन्दर चौधरीले बताउनुभयो । “कतै उच्च स्थानहरुमा किसानहरुले धानबाली रोप्ने गरेका छन् । हुलाकी राजमार्गअन्तर्गतको नगरपालिकाको आसपासका अधिकांश खेतीयोग्य जमिन खाली हुने गरेको छ,” सुन्दरले भन्नुभयो, “चैते धान लगाएका किसानहरूले वर्षे धान लगाउँदैनन् । मौसम राम्रो भयो भने चैते धान सहजै भित्र्याउन सकिन्छ । त्यसैले पनि खेत बाँझै राख्ने गरेका हुन् ।”

    भजनी नगरपालिका–६ का विष्णुप्रसाद डगौंराले दुई बिघा जमिनमा चैते धान रोप्नुभएको छ । उहाँले केही धान भित्र्याइसक्नुभएको छ । अहिले पनि विष्णुप्रसाद खेतमै व्यस्त हुनुहुन्छ । वर्षे धानभन्दा राम्रो उत्पादन दिने भएपछि विष्णुप्रसादले १० कट्ठाबाट सुरु गर्नुभएको चैते धानको खेती दुई बिघामा पु¥याएको बताउनुभयो । “वर्षभरिका लागि खाने धान हामी असारमै भित्र्याउने गछांैँ । बर्सातको त भरै हुँदैन ।” विष्णु प्रसादले भन्नुभयो, “खाने र बेच्ने धान चैते धान नै हो । यतिबेला भने धानको समर्थन मूल्य नपाउँदा सस्तोमा धान बेच्नुपर्ने बाध्यता छ ।”

    वर्षे धानको भन्दा बढी लगानी भने चैते धानमा भए पनि सिँचाइका लागि बढी समस्या हुने गरेको किसानहरुको गुनासो छ । घाम र पानीको सन्तुलन मिल्यो भने उत्पादन राम्रो भए पनि बोरिङको पानीले सिँचाइ गर्नुपर्ने भएका कारण विद्युत्को बिल महँगो हुनजाने गरेको अर्का किसान जङ्गबहादुर साउँदले बताउनुभयो । उहाँले सरकारले अनुदान दिनुभन्दा पनि सिँचाइका लागि बिजुलीमा अनुदान दिएको भए निकै सहज हुन्थ्यो भन्नुभयो । “दिनभर सिँचाइ गर्दा दुई हजारसम्म पनि बिजुलीको बिल आउने गरेको छ । सरकारले कृषिका लागि बिजुलीमा अनुदान दिए सहज हुने थियो ।” जङ्गबहादुरले भन्नुभयो, “स्थानीय सरकारसँग पटकपटक भन्ने गरेका छौँ । आश्वासन आउँछ तर बिजुलीमा किसानलाई अनुदान आउँदैन ।”

    चैते धानका लागि बजारीकरणको निकै समस्या छ । सरकारले किसानले उत्पादन गरेको धानको समर्थन मूल्य साउनपछि तोक्ने र चैते धानको खेती गर्ने किसानले असारमै धान भित्र्याउने भएका कारण समर्थन मूल्यमा नभई व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको किसान राजेन्द्र विश्वकर्माको गुनासो थियो । “उत्पादन हुन्छ तर बजारीकरणमा निकै समस्या छ । उत्पादन भएको वस्तुको भनेजस्तो मूल्य पाइँदैन ।” राजेन्द्रले भन्नुभयो, “बजारीकरणमा सरकारले ध्यान दिएको भए उत्साहका साथ काम गर्न सकिन्थ्यो । खेती गर्दा उत्साह हुन्छ बिक्री गर्दा निराश हुनुपर्ने अवस्था छ ।”
    भजनी, जोशीपुर, कैलारीलगायत क्षेत्रमा सयौँ बिघा क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ । केही वर्षपहिले परीक्षणका रुपमा मात्रै हुने गरेको चैते धानको खेतीमा भजनी नगरपालिकाले किसानलाई बीउलगायतमा अनुदानसमेत दिँदै आएको छ ।
    –––

  • ३१ जेष्ठ २०७९, मंगलवार ११:५५ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश