इस्लामावाद, ३१ जेठ रासस÷सिन्हवा)पाकिस्तानी विदेश मन्त्री बिलावल भुट्टो जर्दारी इरानको भ्रमणका लागि जानुहुने भएको छ । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनको आमन्त्रणमा उहाँ इरान जान लाग्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले यही जुन महिनाको १४ देखि १५ तारिखसम्म इरानको भ्रममण गर्न लाग्नुभएको पाकिस्तानको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको बताइएको छ ।
त्यस भ्रमणका क्रममा उहाँले इरानी आफ्ना समकक्षी विदेशमन्त्री अब्दुल्लाहिनसँग द्धिपक्षीय वार्ता गर्नुहुने छ । त्यस क्रममा उहाँहरुबीच पाकिस्तान र इरान सम्बन्धका साथै विभिन्न द्धिपक्षीय हितका बारेमा कुराकानी हुने छ ।
त्यसैगरी विदेशमन्त्री जर्दारीले यही भ्रमणका क्रममा इरानका राष्ट्रपति इब्राहिम राइसीसँग पनि भेटवार्ता गर्नुहुने भएको पाकिस्तानी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जानकारी गराइएको छ ।
यी वार्ताका क्रममा पाकिस्तान र इरानबीचको अर्थ तथा लगानीका क्षेत्रहरुका साथै यहाँका नागरिकलाई तीर्थयात्रामा गरिने सहजता, इरानबाट गरिने विजुली आपूर्ति आदि विषयहरुमा छलफल तथा केही सम्झौताहरु पनि सम्पन्न हुनसक्ने बताइएको छ ।
–––