नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकाको ईलाका प्रहरी कार्यालय धनौलीदेखि १ नम्बर बजारसम्मको १ हजार ८ सय मिटर फोनलेन सडक निमार्णको काम साढे चार वर्षदेखि अलपत्र छ । कोरोना भाइरसको महामारी र मौसम प्रतिकुलताको कारण देखाउँदै निमार्ण कम्पनीले दुई वर्षसम्म काम गरेन नै लामो समयसम्म निमार्णको काम पूरा गरेको छैन । फोनलेन सडक निमार्णको काम गजुरमुखी निमार्ण सेवा ईलामले २१ करोड ४९ लाखमा ०७४ बैशाखमा पाएको थियो । सडक निमार्णका लागि उक्त वजेट संघीय सरकारले दिएको हो । कम्पनीले सम्झौता भएको ३० महिनामा काम सक्ने लिखित प्रतिबद्धता जनाएको थियो । उक्त अवधिमा काम नसकिएपछि कोरोना महामारीको कारण देखाउँदै सरकारबाट छ महिनाका लागि म्याद थपिएको थियो । तर थपिएको म्यादमा पनि काम नसकिएपछि फेरि छ महिनाका लागि म्याद थपिएको छ । अझै पनि निमार्णको काम पूरा हुन सकेको छैन । स्थानीयले सडक निमार्णको माग गर्दै पटकपटक आन्दोलन गर्दै आएका छन् । सडक डिभिजन कार्यालय नेपालगन्जका अनुसार कोरोनाको महामारी र मौसम प्रतिकुलताका कारण तोकिएको समयमै काम नसकिएको दाबी गर्दै आएको छ । मौसमले साथ दिए भने आउने चैत्र बैशाखमा काम सकिने भए पनि असारको दोस्रो सातामा भत्किएको सरफेस ट्रेसिङ मरम्मता गर्न थालिएको छ ।
यसअघि धुलोका कारण खजुरा बजारका घर र पसलमा बस्न सक्ने अवस्था नरहेको भन्दै स्थानीयले नेपालगन्ज गुलरिया सडक अवरुद्ध पारेपछि गिट्टी हालेर सरफेस ट्रेसिङ गरिएको छ । तर पीच दुई सातामै उप्किएको छ । सडक कालोपत्रे नहुँदा खजुराका स्थानीय धुलोले हैरान छन् । फोरलेन सडककका सरफेस ट्रेसिङ उपक्एिपछि स्थानीयले गुणस्तरमाथि शंका जनाउँदै सडक डिभिजन कार्यालयलाई जानकारी गराएका गराएका छन् । डिभिजन कार्यालयले तापक्रमले साथ नदिंदा दुई सातामै पीच उप्किएको जनाएको छ । अर्को लेयरको पक्की गर्नुभन्दा पहिले भत्किएको स्थानमा मर्मत गर्नुपर्छ । अनिमात्रै दोस्रो चरणको पीच गर्ने डिभिजन कार्यालयको भनाई छ ।
डिभिजन कार्यालय नेपालगन्जका अनुसार संघीय सरकारले गुलरीया हुलाकी राजमार्ग अन्र्तगत नेपालगन्जको धम्बोझी चोकदेखि बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म फोरलेन सडक बनाउने निर्णय गरेको छ । डिटेल प्राजेक्ट रिर्पोट (डिपीआर) बनिरहेको छ । उक्त फोरलेन सडक निमार्ण योजना भने बहुबर्षीय योजना हो ।