किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै - Dastabej

किशोरीलाई आइरन र फोलिक एसिड क्याप्सुल खुवाइँदै


  • दस्तावेज


  • पर्वत, २९ साउन (रासस) :फलेबास नगरपालिकाले नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका सबै छात्रा तथा किशोरीलाई ‘आइरन’ र ‘फोलिक एसिड’ खुवाउने अभियान थालेको छ ।

    किशोरीमा तत्कालका लागि रक्तअल्पताबाट जोगाउन र भविष्यमा कुपोषित बच्चा जन्माउने क्रमलाई रोक्नका लागि यही साउनदेखि हरेक विद्यालय वा समुदायमा पुगेर ‘आइरन’ र ‘फोलिक एसिड’ मिसिएको क्याप्सुल खुवाउन थालिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रुद्र शर्मा सापकोटाले बताउनुभयो ।

    नगरभित्रका १० देखि १९ वर्ष उमेर समूहका किशोरीको सङ्ख्या यति नै छ भन्ने तथ्याङ्क नभएको भए पनि यो अभियानको पहिलो चरण पूरा हुने बेलामा सङ्ख्या यकीन हुने उहाँको भनाइ छ । पहिलो चरणमा साउनदेखि असोजसम्मका १३ हप्ता र दोस्रो चरणमा माघदेखि चैतसम्मका १३ हप्ता गरी एक किशोरीले एक वर्षमा कूल २६ क्याप्सुल खाने छन् ।

    “यो अभियान हरेक वर्ष हुने छ, १० देखि १९ वर्ष उमेर समूहमा पर्ने हरेक किशोरीले यो क्याप्सुल खाएको हुनुपर्छ, वडामा रहेका स्वास्थ्यसंस्थामार्फत विद्यालयमा यो काम चलिरहेको छ”, स्वास्थ्य शाखा प्रमुख सापकोटा भन्नुभयो, “पहिलो र दोस्रो चरण दुवै चरणमा हरेक वर्ष खाने हो, यदि कसैको पहिलो चरणमा छुटेको भएमा दोस्रो चरणबाट भए पनि सुरु गरेको हुनुपर्छ, तर यसमा कोही पनि छुट्दैनन् ।”

    क्याप्सुल खुवाउनका लागि हरेक हप्ता स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविका विद्यालयमा पुग्नेछन् । नगरभरि नै अभियान चलेका कारण स्वास्थ्यकर्मीको अभाव भएमा विद्यार्थीको चाप केही कम रहेका विद्यालयमा भने शिक्षकलाई जिम्मेवारी दिएर क्याप्सुल खुवाइने छ ।

    ‘जङ्क फुड’ तथा आफूले दैनिकरूपमा खाने भोजनमा पनि सन्तुलन नमिलाएका कारण धेरै किशोरीमा रक्तअल्पता र कुपोषणको समस्या देखिँदै गएका विभिन्न अध्ययन प्रतिवेदनमा उल्लेख छन् । किशोरी नै कुपोषित हुँदा भविष्यमा उनीहरूले जन्माउने बच्चा पनि कुपोषित हुने तथा कुपोषित बच्चाले पुनःकुपोषित बच्चा नै जन्माउने जोखिम उच्च रहने भएकाले कुपोषणको चक्र तोड्नका लागि अभियान थालिएको सापकोटाको भनाइ छ ।
    –––

  • २९ श्रावण २०७९, आईतवार १६:२९ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार