सुदूरपहाडमा जात्राको रौनक - Dastabej

सुदूरपहाडमा जात्राको रौनक


  • दस्तावेज

  • बैतडी, १४ कात्तिक /  तिहार सकिएसँगै बैतडीसहित सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा जात्रा सुरु भएको छ । तिहारपछिको १५ दिनसम्म यहाँका शक्तिपीठमा जात्रा लाग्ने गर्दछ । कातिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरालगायतका सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्दै आएको छ ।

    सुदूरपहाडका विभिन्न जिल्लाका शक्तिपीठ तथा मन्दिरमा कातिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न जात्रा लाग्ने गरेको पण्डित जयानन्द भट्टले बताउनुभयो । शरद ऋतु देवीदेवताको पूजाउपासना गर्ने उत्तम समयका रुपमा मानिने भएकोले कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजन गर्ने चलन रहिआएको छ ।

    दसैँमा जात्रा लाग्ने मन्दिरमासमेत कात्तिक शुक्लपक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठमा सामूहिक पूजाआजा गर्ने चलन रहेको भट्टको भनाइ छ ।

    बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ । राँगाको बलीसहित पूजाआजा हुने त्रिपुरासुन्दरी मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीसमेत आउने गरेका स्थानीय जयसिंह धामीले बताउनुभयो ।

    प्रसिद्ध रौलाकेदार धाममा पनि कात्तिक शुक्ल अष्टमी, शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा पनि कात्तिक शुक्ल सप्तमी र अष्टमी, पाटन नगरपालिका २ स्थित प्रसिद्ध महारुद्र मन्दिरमा कात्तिक शुक्ल अष्टमी र सुर्नया गाउँपालिका-४ स्थित सनेशरीमाडौँंमा कात्तिक शुक्ल षष्ठीका दिन जात्रा लाग्ने गरेको छ ।

    यसका साथै प्रसिद्ध मेलौली भगवती मन्दिर र सुर्नयास्थित फाल्ङासैनी भगवती मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन र महारुद्र मन्दिर, त्रिवणीधाम (राताशीला) मा पनि जात्रा लाग्दछ ।

    दार्चुलामा रहेको राष्ट्रकै सातौँं धामका रुपमा रहेको मालिकार्जुनधाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्दछ । मालिकार्जुन धाममा कार्तिक शुक्ल चर्तुदर्शीका दिन जात्रा लाग्ने गर्दछ ।

    दार्चुलाको लटिनाथ बन्तोली मन्दिरमा कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाकै राति जात्रा सम्पन्न भइसकेको छ । डडेल्धुराको उग्रतारा र भागेश्वरलगायतका मन्दिरमा कात्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्दछ । उग्रतारा लगायतका मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्दै आएको छ ।

    डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपीठ ठूला केदार, मसानी, शैलेश्वरी, दीपायल जात, मष्टो, ब्वाराकी जात, ऐतिहासिक अछामको गाज्रास्थित डौठेगडा जात्रा लाग्दछ । विभिन्न शक्तिपीठ तथा मन्दिरमा लाग्ने जात्रामा सहभागी हुन बसाइँसराइ गरेर गएका पनि पुर्ख्यौली थलोमा फर्कने गरेको स्थानीय हेमराज गिरीले बताउनुभयो । जात्राका बेला पारिवारिक भेटघाट हुने र धार्मिक हिसाबले पनि जात्रा महत्वपूर्ण हुने गरेका छन् । (रासस)

  • १४ कार्तिक २०७९, सोमबार १४:१३ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. बाँकेमा सुरु भए ऐतिहासिक मेला
  • ७. आज अपराह्न ५ ः ११ देखि खग्रास चन्द्रग्रहण