,
बर्दिया २०, मंसिर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरले शुक्रबारदेखि किसानको धान खरिद गर्ने भएको छ । पटक पटक बजेट माग र निर्देशनको पर्खाइमा बसेको खाद्यले केन्द्रबाट बजेट निकासा भएसँगै शुक्रबारदेखि खरिद गर्ने भएको हो ।
एक महिनाअघि सरकारले धानको मूल्य निर्धारण गरेपछि बल्ल बजेट र निर्देशन आएकाले खरिद प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी राजापुरका प्रमुख धर्मराज पन्तले शुक्रबारबाट किसानको धान खरिद गर्ने तयारीमा लागेको बताए । बजेट ढिलो निकासा भएकोले खरिद प्रक्रिया लम्बिएको कम्पनीका प्रमुख पन्तले बताए । यस वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मसिनो धान ३ हजार १ सय २८ रुपैयाँ मूल्य तोकेको खाद्य व्यवस्थाले जनाएको छ । कम्पनीले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ ।
खाद्यको ढिलासुस्तीले यस क्षेत्रका अधिकांश किसानले भने व्यापारीलाई धान बिक्री गरिसकेका छन् । गत वर्ष पनि समयमा बजेट निकासा नहुँदा धान खरिदको लक्ष्य पूरा भएको थिएन । खाद्यका प्रमुख पन्तका अनुसार गत वर्ष बेमौसमी वर्षा र बाढीबाट भिजेको धान ग्राहकले ल्याएका कारण पर्याप्त खरिद भएन ।सरकारले समयमै धान खरिद गर्न नसक्दा किसानले सस्तोमा व्यवसायीलाई बेच्दै आएका छन् । किसानले व्यापारीलाई प्रतिक्विन्टल २ हजार ५ सय देखि २ हजार ६ सय रुपैयाँसम्म बिक्री गर्दे आएको बताउँछन् ।
बर्सेनि बाढी र कटानबाट पीडित यहाँका किसानले समयमा मल समेत पाउँदैनन । दुस्ख गरेर उब्जाएको धान समेत बिचौलियालाई सस्तोमा बेच्न बाध्य भएको किसान बताउँछन् । राजापुर-५ का किसान रामजी थारुले किसानको समस्या सरकारले नबुझ्दा बर्सेनि पीडा भोग्न बाध्य भएको गुनासो पोखे । ‘समयमा मल र बिउ नपाउनु समस्या छँदैछ, पाकेपछि धानको मूल्य समयमै नतोक्ने, खरिद गर्न झनै ढिला गर्ने भएकाले बिचौलियालाई सस्तोमा बेच्न बाध्य भएका छौं’ उनले भने ।