लुम्बिनीमा घटेको छैन मातृमृत्यु दर - Dastabej

लुम्बिनीमा घटेको छैन मातृमृत्यु दर


  • दस्तावेज

  •  

     

    ,बुटवल — २०,मंसिर :  बुटवल बयरघारी बस्दै आएकी सरिता विकलाई गत जेठ २४ गते प्रसूति बेथा सुरु भयो । पति रमेशले अर्को दिन लुम्बिनी प्रादेशिक अस्पताल ल्याए । अस्पताल ल्याउँदा उनी शिथिल बनिसकेकी थिइन् । चिकित्सकहरुले पानीको कमी भएकाले शल्यक्रिया गर्नुपर्ने सुझाव दिए । तर उच्च रक्तचापका कारण उनको तत्काल शल्यक्रिया गर्न मिलेन ।

     

    अर्कोदिन शल्यक्रिया गरेर शिशु निकालियो । तर १९ वर्षीया सरितालाई बचाउन सकिएन । अस्पतालको प्रतिवेदनमा ढिलो अस्पताल आउनु, उच्च रक्तचाप हुनु र अत्यधिक रक्तश्रावले मृत्यु भएको उल्लेख छ ।

     

    गत आर्थिक वर्ष २०७८/०८९ मा लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति हुँदा ५ आमाले ज्यान गुमाएका छन् । अस्पतालका सूचना अधिकारी डा. नेत्र रानाले १२ हजार ९ सय ३० जना प्रसूति हुँदा ५ जनाले ज्यान गुमाएको बताए । अघिल्लो वर्ष ११ हजार ६ सय ६६ जना प्रसूति हुँदा ३ जना आमाको मृत्यु भएको थियो । ‘ढिलो अस्पताल आएका कारण जटिलता हुने र मृत्यु हुने धेरै छन्,’ डा. रानाले भने ।

    घरमा सुत्केरी हुने र अस्पताल नजाने कारणले पनि आमाहरूले ज्यान गुमाएका छन् । त्यसमध्येकी हुन्, रोल्पाको रोल्पा नगरपालिका–१० धबाङकी ३० वर्षीया माया थापा । उनलाई जेठ १८ मा सुत्केरी बेथा लाग्यो । बच्चा नजन्मेपछि जेठ १९ मा उनलाई रोल्पा अस्पताल लगियो । परीक्षणपछि चिकित्सक डा. प्रकाशबहादुर बुढाले गर्भवतीमा उच्च रक्तचाप देखिएको र जुम्ल्याहा शिशु भएकाले शल्यक्रियाका लागि दाङ वा बुटवल जान सुझाव दिए । मायाका पति वैदेशिक रोजगारीमा थिए । घरपरिवारले धेरै खर्च लाग्ने भन्दै सुत्केरी गराउन अन्त लगेनन् । बरु घर लगे । जेठ २० मा उनले घरमै जुम्ल्याहा शिशु जन्माइन् । तर, सुत्केरीपछि रक्तश्राव रोकिएन । त्यसपछि बेहोस भएकी उनको मृत्यु भयो । उनको एक शिशु पनि बचेन । ‘अस्पतालको सुझावअनुसार सुविधासम्पन्न अस्पतालमा गएको भए उनको ज्यान बच्थ्यो,’ डा. बुढाको प्रतिक्रिया थियो ।

    स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार पछिल्लो ५ वर्षमा प्रसूति वा गर्भजन्य समस्याका कारण ३ सय २४ आमाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने आमाको संख्या बर्सेनि बढ्दो छ । तथ्यांकअनुसार आव ७४ /७५ मा प्रदेशका ५३ महिलाहरूले आमा बन्दा ज्यान गुमाए । यो संख्या बढेर आव ७५ /७६ मा ५४ पुग्यो । आव ०७६ /७७ मा ७१ , आव ७७ /७८ मा ७२ र आव ७८ /७९ मा ७४ आमाको मृत्यु भएको छ ।

     

    मातृमृत्युका कारण धेरै छन् । उच्च रक्तचाप, मधुमेह, थाइराइड, मुटुको समस्या भएका महिलामा जटिलता हुने र मातृमृत्यु हुने पनि त्यस्तै आमा धेरै रहेको चिकित्सक बताउँछन् । निर्देशनालयका प्रजनन स्वास्थ्यका फोकल पर्सन कौशलराज भण्डारी भने स्वास्थ्य संस्था टाढा हुँदा लैजाँदा लैजाँदै, अस्पतालले रेफर गरेपछि विशेषज्ञ अस्पतालमा छिटो नपुग्दा वा अलमलिदा, परिवारले स्वास्थ्य संस्था लैजानेबारे निर्णय लिन ढिला हुँदा र घरमै बच्चा जन्माउँदा धेरै मातृमृत्यु भएको बताउँछन् ।

    ‘गत वर्ष मात्रै ४ हजार १ सय जना घरमै सुत्केरी भए । त्यसमध्येका १४ जनाको मृत्यु भएको छ,’ फोकलपर्सन भण्डारीले भने, ‘स्वास्थ्य संस्थामा गएको भए उनीहरूको ज्यान जोगिन सक्थ्यो ।’ प्रतिशतका हिसाबले गत आवमा ५.७ प्रतिशत गर्भवती घरमै सुत्केरी भएका थिए । ८९.८ ले दक्ष स्वास्थ्यकर्मीको सेवा लिएका थिए ।

    नियमित गर्भ परीक्षण नगर्नु, स्वास्थ्य सस्थामा ढिलो पुग्नु, स्वास्थ्य संस्थामा आवश्यक उपकरण र दक्ष जनशक्ति नहुनु एवं पूर्वतयारीको अभावले पनि गर्भवती तथा सुत्केरीले ज्यान गुमाएको जनस्वास्थ्यविद्को भनाइ छ ।

    स्वास्थ्य संस्था पुगे पनि नजिकमा विशेषज्ञ अस्पताल नहुँदा र त्यस्ता अस्पताल जाँदा हुने ढिलाइले पनि आमाहरू मृत्युको मुखमा धकेलिएका छन् । प्यूठानको झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसी त्यसमध्येकी हुन् । गत फागुन १३ मा सुत्केरी हुन प्यूठान अस्पताल गएकी उनलाई जटिलता देखिएको भन्दै अस्पतालले शल्यक्रिया गरिदियो । शल्यक्रियापछि थप जटिलता देखिएको भन्दै १५ गते राति बुटवल रेफर गरिदियो । उपचारका लागि परिवारले बुटवल लैजाने क्रममा फागुन १६ मा बाटोमै मृत्यु भयो । ‘प्यूठान अस्पतालले लापरबाही गर्‍यो । जटिलता देखिएपछि तत्काल रेफर गरेको भए वा हवाई उद्धार गर्न पाएको भए सुत्केरीलाई बचाउन सकिन्थ्यो जस्तो लाग्छ ।’ आफन्त विनोद एसीले गुनासो गरे ।

    कतिपयमा चिकित्सकको असावधानीले विशेषज्ञ अस्पताल पुगेका महिलाले पनि आमा बन्दा ज्यान गुमाएका छन् । अघिल्लो २१ मंसिरमा रुपन्देहीको देवदह मेडिकल कलेजमा त्यस्तै भयो । शल्यक्रियाद्वारा सुत्केरी गराइएकी तिलोत्तमा नगरपालिका– १० की ३१ वर्षीया राधा थारुको त्यसपछि पनि २ पटक शल्यक्रिया भयो तर, उनी बचिनन् ।

    मृतककी दिदी फूलमती थारुका अनुसार मंसिर १७ गते अस्पताल भर्ना भएकी थारुको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशु जन्मेको थियो । शल्यक्रियाको ४ घण्टापछि घाउबाट रक्तश्राव हुन थाल्यो । त्यसैदिन आईसीयूमा राखेर बिहान ११ बजे दोस्रो शल्यक्रिया गरिएको थियो । रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति तेस्रो शल्यक्रिया गरियो । त्यसपछि बेहोस भएकी उनलाई तीन दिनपछि अस्पतालले मृत घोषणा गर्‍यो । ‘अस्पतालले गर्भवती बहिनीलाई प्रयोगशाला जस्तै बनाएर प्रयोग गरी गरी ज्यान लियो,’ दिदी फूलमतीले दाबी गरिन् ।

    भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन्ट तथा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शकुन्तला गुप्ताका अनुसार गर्भवती तथा सुत्केरी मृत्युको प्रमुख कारण बच्चा जन्मेपछिको अत्याधिक रक्तश्राव अर्थात (पोस्टपार्टम हेमोरोज) हो । सुत्केरीपछिको संक्रमण, गर्भावस्थामा उक्त रक्तचाप र असुरक्षित प्रसूति तथा गर्भपतन यसपछिका कारण हुन् । ‘आमा बन्दा ज्यान जोगाउन व्यक्ति र घरपरिवारले २० वर्षअघि वा ३५ वर्षपछि सन्तान नजन्माउने, नियमित गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै प्रसूति हुने, गर्भावस्थामा जटिलताका संकेत देखिए तत्काल स्वास्थ्य संस्थामा जानुपर्छ,’ उनले भनिन्, ‘राज्यले जटिलता देखिएका गर्भवती र सुत्केरीलाई तत्काल उद्धार गरेर विशेषज्ञ अस्पताल लैजाने व्यवस्था गर्नुपर्छ । ’

    आमा बन्दा सहजता होस् भनेर लुम्बिनी प्रदेशमा ४ सय ६ वटा बर्थिङ सेन्टर छन् । गर्भमा जटिलता भए शल्यक्रियासहितको नि:शुल्क सेवा दिने निजीसहित २२ वटा अस्पताल छन् । लुम्बिनी, भेरी र राप्तीमा विशेषज्ञ सेवासहितका अस्पताल छन् । ८४ जना नर्स अल्ट्रासाउन्ड सेवासहित घरदैलोमा खटिएका छन् । तर, लुम्बिनीमा मातृमृत्युदर घटेको छैन । प्रदेशमा मातृमृत्युदर कति छ ? त्यसको तथ्यांक छैन । जनसांख्यिक प्रतिवेदन २०१६ ले भने देशमा प्रतिलाखमा २ सय ३९ मातृमृत्यु रहेको देखाएको छ ।

    जोखिममा परेका दुर्गमका गर्भवती तथा सुत्केरी महिलालाई तत्काल अस्पताल ल्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले नि:शुल्क हवाई सेवा दिने गरेको छ । त्यसमा लुम्बिनी प्रदेशका रुकुम, रोल्पा, प्यूठान,अर्घाखाँची, पाल्पा र गुल्मीका केही स्थान छनोट भएका छन् । स्वास्थ्य मन्त्रालयकी नर्सिङ अधिकृत नेहा थापाले अस्पतालसित सम्झौता नहुँदा जोखिमका सुत्केरीलाई पनि नि:शुल्क हेलिकोप्टर सेवा दिएर उद्धार गर्न नसकिएको बताइन् । ‘स्वास्थ्य संस्थामा दरबन्दीअनुसार प्रसूतिविज्ञ र नर्सिङ स्टाफ नहुँदा र कतिपय स्थानमा भौतिक पूर्वाधार कमजोर हुँदा पनि सहज प्रसूति सेवा पाएका छैनन्,’ उनले भनिन्, ‘यसले मातृमृत्यु घटाउन चुनौती थपेको छ ।’

    लुम्बिनी प्रदेश सरकारले गर्भवतीलाई स्वास्थ्य सस्था जान नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्न यसवर्षदेखि हरेक स्थानीयतहमा ६० हजार रुपैयाँ र जिल्ला तहका अस्पताललाई रेफर गर्दा एम्बुलेन्स व्यवस्था गर्न भन्दै २ लाख रुपैयाँ पठाएको छ । जिल्लातहका अस्पतालबाट विशेषज्ञ अस्पताल लैजानुपर्ने गर्भवती र सुत्केरीको एम्बुलेन्स व्यवस्थापनमा २ लाखभन्दा रुपैयाँ दिन्छ । संघीय सरकारले गर्भपरीक्षणलाई बढाउन ४ पटक गर्भजाँच गर्नेलाई ७ सय रुपैयाँ र स्वास्थ्य संस्थामा प्रसूति हुन जानेलाई यातायात खर्चवापत रकम पनि दिने गरेको छ ।

    प्रजनन स्वास्थ्यबारेकी जानकार अधिकारकर्मी ज्ञानु पौडेल भने मातृमृत्युदर घटाउन प्रोत्साहन भत्ता, नि:शुल्क उपचार र यातायात मात्र नभई घरपरिवारमा अपनत्वबोध र राज्यले जिम्मेबारी बोध गर्नेगरी काम गर्नुपर्ने बताउँछिन् । ‘एउटी महिला आमा बन्नु भनेको देशका लागि नयाँ नागरिक जन्माउनु हो । त्यसैले गर्भवतीका हरेक जटिलतालाई सहजै उपचार अपनत्व लिने गरी राज्यले सेवामा पहुँच र गुणस्तर बढाउन जरुरी छ,’ उनले भनिन् ।

  • २० मंसिर २०७९, मंगलवार १७:०२ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान