मंसिर २०, २०७९काठमाडौँ — प्रतिनिधिसभाको मंसिर ४ मा सम्पन्न निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी ३ सिट ल्याएर संघीय संसद्मा प्रवेश गर्ने भएको छ । यो पार्टीका नेता रेशम चौधरीका बुबा लालवीर चौधरी बर्दिया-२ बाट स्वतन्त्र निर्वाचित भएकाले नागरिक उन्मुक्ति पार्टीसँग ४ सांसद हुनेछन् । यो पार्टीले सुदूरपश्चिम प्रदेशसभामा पनि ५ सिट जितेको छ । समानुपातिकमा पनि प्रदेशसभामा यो पार्टीले सिट पाउँदैछ ।
रेशम चौधरीसँग सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले निरन्तर छलफल गरिरहेका छन् । सरकारमा सहभागी हुनका लागि प्रस्ताव डिल्लीबजार कारागारमा रहेका रेशमसँग छलफल भइरहेको हो ।
आगामी दिनमा नागरिक उन्मुक्ति पार्टी कसरी अगाडि बढ्छ ? कुन सरकारमा सहभागी हुन्छ र एजेन्डा के हुन्छन् ? यसैसन्दर्भमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा कैलाली- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् रञ्जिता श्रेष्ठसँग इकान्तिपुरले गरेको कुराकानी :
स्थानीय तह निर्वाचनको केही पहिलेमात्रै पार्टी गठन गरेर केही पालिका जित्नुभएको थियो । त्यसको आधारमा अहिले प्रदेशसभा र प्रतिनिधिसभामा केही सिटमा तपाईंको पार्टीका उम्मेदवार निर्वाचित भएका छन्, यो जितलाई कसरी समीक्षा गर्नुभएको छ ?
यो जित हामीलाई जनताले नै दिएको बाटो हो । स्थानीय तहको चुनावमा चार पालिका जित्दा र अहिले पनि हामीले संघीय चुनावमा यति धेरै सिट ल्याउनुमा जनता जनार्दन हुन् । जनताले हामीलाई योग्य ठान्नुभयो । विकास निर्माणको काम कसलाई सुम्पने भन्ने निर्णय गरेर नै जिताउनुभएको हो भन्ने हामीलाई लागेको छ ।
नागरिक उन्मुक्ति पार्टीको भूमिका राष्ट्रिय तहमा देखिन लागेको छ, के एजेन्डा अगाडि सार्नुहुन्छ ?
हामीले पहिचानको मुद्दा लिएर अगाडि बढेका छौं । पहिलो मुद्दा भनेको पहिचानको रहन्छ । त्यसपछि कैलालीको समग्र विकासको मुद्दा हुन्छ । स्वास्थ्य, शिक्षा, रोजगारका एजेन्डा लिएर अगाडि बढ्छौं ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा रेशम चौधरी निर्वाचित हुँदा पनि संसद् प्रवेश गर्न पाउनुभएको थिएन र जेलबाटै सिंहदरबार पुगेर शपथ लिनुपरेको थियो । उहाँको मुद्दालाई चुनावका क्रममा पनि उठाउनुभएको थियो । जितेपछि यो मुद्दालाई कसरी समाधान गर्ने योजना छ ?
हामीले चुनावमा यो मुद्दा लिएका हौं । रेशमजी मात्रै नभएर टीकापुर घटनामा कारागारमा पर्नुभएका सबै राजबन्दीहरूलाई पनि लिएर अगाडि बढेका थियौं । आज पनि हामीले रेशमजी लगायतका राजबन्दीलाई कारागारमुक्त गराउने कुरालाई लिएर अघि बढेका छौं । यो मुद्दामा हामी अडिग रहन्छौं आगामी दिनमा पनि ।
सरकार गठनमा मुख्यगरी कांग्रेस-माओवादी रहेको एउटा पक्ष र एमाले अर्को पक्षमा देखिन्छ । नागरिक उन्मुक्ति पार्टीको यी गठबन्धनसँगको सम्बन्ध के हुन्छ ?
सरकार गठनका लागि उहाँहरूले हामीसँग कुरा गरिराख्नुभएको छ । विभिन्न पार्टीका शीर्ष नेताहरूले रेशमजीसँग छलफल गरिरहनुभएको कुरा बाहिर आइ नै रहेको छ । हामी उहाँहरूसँग सरकारमा जाने नजाने विषयमा रेशमजीले छलफल गरिरहनुभएको छ । छलफलको निष्कर्ष निस्किएपछि पार्टीको केन्द्रीय कमिटी बैठक बसेर पनि निर्णय गर्छौं ।
अहिलेसम्म पूर्वप्रधानमन्त्रीहरूले रेशम चौधरीलाई कारागारमा नै गएर भेटेको भन्ने कुरा आइरहेका छन् । अहिलेसम्मको अवस्थाले तपाईंहरूको पार्टी कुन गठबन्धनमा सहभागी हुने भन्ने केही संकेत गर्छ ?
छलफल भइरहेको छ । कुनमा सहभागी हुने र सरकारमा जाने भन्ने निर्णय लिएका छैनौं । अहिले एमालेसँगै जाने भन्ने पनि छैन । अहिलेसम्म छलफलमा छौं भन्न मात्रै सक्छु ।
सरकारमा सहभागी हुने अवस्था आएमा कस्ता शर्तमा तपाईंहरू जानुहुन्छ ?
सरकारमा जानका लागि हाम्रो माग राजबन्दीहरूको रिहाइ हो । राजबन्दीहरूको रिहाइको पहल होस् । २०७२ सालको घटनाका राजबन्दीहरूको रिहाइको पहल गर्ने र रिहाइ गर्ने हाम्रा शर्तहरू रहेका छन् ।
प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन केही मत नपुगेको अवस्थामा तपाईंहरूको पार्टी छ । राष्ट्रिय पार्टी बन्न नसकेको अवस्था र तपाईंले अघि पनि भन्नुभयो कि कैलालीको विकासका लागि लाग्छौं, यस्तो अवस्थामा पार्टीलाई कसरी अगाडि बढाउनुहुन्छ ?
अहिले राष्ट्रिय पार्टी हुनलाई केही झिनो मतले सकिएन । तरपनि हामीले सबै क्षेत्रमा पार्टीका उम्मेदवार उठाएका थियौं । स्थानीय तह निर्वाचनमा पनि हामी धेरै ठाउँमा उम्मेदवार उठाएका थियौं । अहिले धेरैतिर पार्टीलाई फैलाइरहेका छौं । पार्टीमा सहभागिता बढिरहेको पनि छ । हामी पार्टी विस्तारको काममा छौं । हामी कुनै एक क्षेत्रमा मात्रै सीमित हुने भन्ने छैन ।
सुदूरपश्चिम प्रदेश सरकारमा पनि तपाईंको पार्टी सहभागी हुन्छ ?
सुदूरपश्चिम प्रदेशसभामा हाम्रो पार्टीबाट ५ जना निर्वाचित हुनुभएको छ । समानुपातिकमा पनि सिट पाउने अवस्था छ । सरकार गठनबारे कसरी छलफल भइरहेको छ । केन्द्रीय सरकारमा सहभागी भयो भने सुदूरपश्चिम प्रदेश सरकारमा पनि सहभागिता हुन्छ ।
अहिलेको अवस्थासम्म भएका कुराहरूको आधारमा भन्दा तपाईंहरू सरकारमा जाने सम्भावना बढी हो ?
अहिलेको सरकारमा रहेको गठबन्धन र अरुसँग पनि छलफल गरिरहँदा कुन पार्टीसँग जाने भन्ने भएको छैन । गठबन्धनसँग सकरात्मक भन्ने होइन कि हाम्रो मुद्दा रहेको छ। राजबन्दीको मुद्दालाई कुन पक्षले सहज रूपमा लिन्छ र कुन पक्षले सुन्छ, पहल गरेर छुटाउन भूमिका खेल्छ त्यो हेरेर हामी उहाँहरूसँग जान्छौं । कसले छुटाउन सक्छ भन्ने हेरेर हामी जान्छौं ।
प्रकाशित : मंसिर २०, २०७९ १७:५९