धान बिक्रिमा बिचौलिया - Dastabej

धान बिक्रिमा बिचौलिया


  • दस्तावेज

  • नेपालगन्ज २ पुस । नेपालगन्ज उपमहानगरपालिका–१२ का ५५ वर्षीय किसान सुन्दर जरवटले सोमबार तीन क्विन्टल मोटा धान नेपालगन्जका एक व्यापारीलाई बेचे । २ हजार ४ सय रुपैयाँ मात्र धानको मूल्य पाए । सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । सुन्दरले यसरी सरकारले तोकेको मूल्यभन्दा कममा धान बेच्नु उनको बाध्यता हो । खाद्यले धान खरिद गर्दा अनेक झन्झट व्यहोर्नुपरेको जानकी गाउँपालिकाको नेवाजी गाउँका छोटु बर्माको अनुभव छ । ‘मैले पोहोर साल धान लगेर गएँ । तर तीन दिन कुर्नुपर्‍यो । कुपन लिएर बस्दा पनि तीन दिन कुर्नुपरेपछि दिक्क लाग्यो,’ उनले भने, ‘यस वर्ष कस्तो हुन्छ, थाहा छैन ।’

    बर्दियाको राजापुरस्थित खाद्य तथा व्यवस्था व्यापार केन्द्रको डिपोमा शुक्रबार धान बेच्न आएका किसान । तस्बिर : कमल पन्थी/कान्तिपुर

    गत वर्ष धान बेच्ने कुपनका लागि लाइनमा बस्दा किसानले कृषि ज्ञान केन्द्रमा तोडफोड नै गर्ने अवस्था सिर्जना भएको थियो । बाँकेमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको छ । धान उत्पादनका आधारमा कम कोटा आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछाने बताए । ‘अहिले धान राम्रो उत्पादन भएको छ । उत्पादनअनुसार कोटा कम आएको छ,’ उनले भने, ‘पुस ५ बाट धान खरिद सुरु गर्छौं ।’

    कपिलवस्तु नगरपालिका–१२ सौराहाका हरिराम कुर्मीले १९ क्विन्टल मोटो धान २५ रुपैयाँ किलोका दरमा बचे । त्यो पनि ३ महिनापछि चैतमा पैसा पाउने गरी । उनको मसिनो साझा मन्सुली २५ क्विन्टल धान पनि स्याहारेर बेच्न ठिक्क पारेका छन् । तर भाउ नपाउँदा अलमलमा छन् । जति गरे पनि ३३ रुपैयाँ किलो बढी दिन व्यवसायी मान्दैनन् । सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य २९ रुपैयाँ ६७ पैसा तोकेको छ । तर व्यवसायीले सरकारले तोकेभन्दा ४ रुपैयाँ ६७ पैसा कम मूल्यमा धान खरिद गरिरहेका छन् । जिल्लामा गत वर्षभन्दा यस वर्ष धानको उत्पादन ४ प्रतिशत बढेको छ । जिल्लामा यस वर्ष ७० हजार ७० हेक्टरमा धान खेती गरिएकामा २ लाख ६९ हजार ६ सय ६९ टन धान उत्पादन भएको छ । गत वर्ष ७१ हजार ५ सय हेक्टरमा खेती गरिएकामा २ लाख ११ हजार टन मात्र उत्पादन भएको थियो ।

    गत वर्षभन्दा किलोमा एक दुई रुपैयाँ भाउ बढे पनि खासै मूल्य नपाउँदा धान खेतीप्रति आकर्षण घट्दै गएको मायादेवी गाउँपालिका खैराटीमा रामसुभग यादवले बताए । ‘४५ क्विन्टल साभा मन्सुली धान बेच्न ठीक पारेको छु,’ उनले भने, ‘तर राम्रो भाउ नपाउँदा तनावमा छु ।’ किसानबाट ३३ रुपैयाँमा किनिएको धानको चामल व्यापारीहरूले ४९/५० मा बेच्ने गरेको र किसानको पसिनामा अरुले नै फाइदा लिइरहेको उनको भनाइ छ ।

    सरकारले समयमा धान खरिद गर्न नसकेकै कारण आफूले सस्तो मूल्यमा धान बेच्न बाध्य भएको बर्दिया राजापुर नगरपालिका–३ का किसान नाचुराम थारुले बताए । स्थानीय व्यापारीलाई धान बेच्दा आफूहरू मर्कामा परेको उनको भनाइ छ । ‘सरकारको लापरबाहीले धान खरिद प्रक्रिया ढिलासुस्ती हुँदा किसानले घर खर्च टार्न सस्तो मूल्यमा धान बेच्नुपरेको छ,’ उनले भने ।

    कपिलवस्तुको बरईपुरमा गोरुगाडामा धान लिएर मिलतर्फ जाँदै किसान । तस्बिर : मनोज पौडेल/कान्तिपुर

    सर्लाही, कपिलवस्तु, बाँके र बर्दियाको जस्तै समस्या पर्सामा पनि छन् । खेतबाट धानी उठिसक्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगन्ज शाखाले कहिलेदेखि धान खरिद सुरु गर्ने टुंगो लगाएको छैन । केन्द्रबाट यस बर्षको धान खरिद कोटासम्बन्धी पत्र बिहीबार मात्र प्राप्त भएको शाखा प्रमुख विकास कटुवालले बताए ।

    यस बर्ष सोना मन्सुली धान १० हजार क्विन्टल र जिरा मसिनो धान २ हजार क्विन्टल खरिदको कोटा पाइएको उनले जनाए । ‘हाललाई १२ हजार क्विन्टल धान खरिदको कोटा आएको छ,’ उनले भने, ‘पछि धानको परिमाण थपघट पनि हुन सक्छ ।’ संघीय सरकारले यस वर्ष सोना मन्सुली धानको समर्थन मूल्य ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । जिरा मसिनो धानको मूल्य भने प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको स्थानीय प्राथमिक खरिद समितिले निर्धारण गर्ने उनले बताए ।

    प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जिल्लाबाहिर रहेकाले उनी आएपछि मात्र समितिको बैठक बसेर जिरा मसिनो धानको खरिद मूल्य तय गरिनेछ । ‘समितिमा वीरगन्ज उद्योग वाणिज्य संघ तथा किसान संघका प्रतिनिधिसमेत सदस्य हुन्छन्,’ उनले भने, ‘सबै तयारी गरी यस वर्ष पुस १० बाट धान खरिद हुने सम्भावना छ ।’ गत वर्ष पनि पुस १० बाटै धान खरिद सुरु गरिएको उनले जनाए । शाखाले गत वर्ष १७ हजार क्विन्टल सोना मन्सुली धान किनेको थियो ।

  • २ पुष २०७९, शनिबार १०:१७ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान