२ पुस,बुटवल । गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा दुई महिनामा दान वापत ६१ लाख भन्दा बढी रकम संकलन भएको छ ।
लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रबार सकाएको दानपेटीकाको भेटी गणनामा ६१ लख २० हजार ८०६ रुपैयाँ रकम संकलन भएको हो ।
आन्तरिक र वाह्य पर्यटकको संख्या बृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।
अघिल्लोपटक ३ महिनामा एक पटक गणना गरिएकोमा यस पटक दान पात्र छिटटै भरिएकाले दुई महिना नपुग्दै गणना शुरु गरिएको हो । गत असोज ३० गते गरिएको भेटिगणनामा २७ लाख १८ हजार दानवापत रकम संकलन भएको थियो ।