पाहुनालाई लोभ्याउँदै होमस्टे - Dastabej

पाहुनालाई लोभ्याउँदै होमस्टे


  • दस्तावेज

  • ९५ प्रतिशत मगर जातिको बसोबास रहेको यहाँका होमस्टे पुग्ने पाहुनाले मौलिक परिकारको स्वाद लिन पाउँछन्

    धनकुटा ३, पुस :  एउटै ठाउँमा उभिँदा एकातिर पहाडका तरेलीसँगै हिमशृंखलाको आकर्षण त अर्कोतिर मधेसको समथर फाँट नियाल्न सकिन्छ । धनकुटाको साँगुरीगढी–५ स्थित ध्वजेडाँडाको टुप्पोमा चिटिक्क परेको बस्ती छ । स्थानीय निलम लिम्बूलाई यतिबेला पाहुनाको सत्कार गर्न भ्याइनभ्याइ छ ।

     

    धनकुटाको साँगुरीगढी–५ ध्वजेडाँडास्थित होमस्टेमा पाहुनालाई बिदाइ गरिँदै। पाहुनालाई फूल गुच्छा, टीकाले स्वागत र बिदाइ गर्ने चलन छ । तस्बिर : रमेशचन्द्र/कान्तिपुर

     

    क्रमशः ठण्डी छिप्पिँदै छ तर पनि यहाँ आगन्तुकलाई त्यसको पर्वाह हुन्न । बरु घरबास (होमस्टे) मा बसेर आसपासका रमणीय दृश्य नियाल्दै रमाउँछन् । पोखराबाट पहिलो पटक पुगेका कृष्ण अधिकारीले सूर्योदय र मनोरम दृश्य नियाल्न सकिने हुनाले आइपुगेको बताए । उनीसँगै पुगेका लमजुङका अमृत बोहरा पनि बाससँगै रातिको क्याम्प फायरको मजाको वर्णन गरेर साध्य नहुने सुनाउँछन् ।

    भेडेटार, नाम्जे हुँदै डाँडाबजारबाट डेढ घण्टा उकालो चढेपछि उक्त स्थान पुगिन्छ । धनकुटा र मोरङको सिमाना भएर निर्माण गरिएको कच्ची सडकमा सवारीसाधनबाट समेत त्यहाँ पुग्न सकिन्छ । धेरैजसो पैदल हिंडेरै होमस्टे गाउँ पुग्ने गरेको स्थानीय त्रिलोचन घिमिरे बताउँछन् । उनी त्यहाँ होमस्टे सञ्चालन गर्ने मध्येका अगुवा समेत हुन् ।

    प्राकृतिक रमणीयतामा भुल्नकै लागि आएको इलामका महेश राईको भनाइ छ । पूर्वको मुख्य पर्यटकीय स्थल मध्येको ध्वजेडाँडा समुद्र सतहदेखि २ हजार ४७ मिटरको उचाइमा छ । महाभारत पर्वत शृंखलाअन्तर्गत यस क्षेत्रकै दोस्रो अग्लो डाँडा हो यो । ध्वजेमा सूर्योदयको अद्भुत दृश्य हेर्नु नै पर्यटकको ध्येय हुने गरेको स्थानीय ध्रुव गाउँलेको भनाइ छ । अर्को चर्चित पर्यटकीयस्थल भेडेटारबाट १३ किलोमिटर पूर्वमा उक्त थलो छ ।

     

    रातको समयमा यहाँबाट पूर्वका अधिकांश स्थानका सहरबजारको झिलिमिली नियाल्न सकिन्छ । नेपालको नक्सा निर्माणमा अक्षांश र देशान्तर छुट्याउन समेत विशेषज्ञले ध्वजेलाई प्रयोग गर्ने गरेको विकिपिडियामा उल्लेख छ । नजिकको वनमा विभिन्न प्रजातिका चरा, वन्यजन्तु तथा वनस्पति पाइन्छ । यो डाँडाको फेदीस्थित लाप्चेटारमा रहेको अजगंको बरको रुख पनि पर्यटकको रोजाइ हो । ध्वजे नजिकै रहेको जैतुन पार्कसमेत हेर्न लायक स्थान हो ।

    यतिबेला ध्वजेडाँडामा मात्र नभएर डाँडाबजार, साँगुरीगढी–६ को नाम्जेका होमस्टेमा आन्तरिक पर्यटक पुग्छन् । पूर्वकै विभिन्न जिल्लालगायत मुलुकभरबाट पाहुना आउने गरेको थुम्की होमस्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार रानाले जनाए । साँगुरीगढी–६ को नाम्जे थुम्की भेडेटार बजारबाट करिब ४ किलोमिटरको दुरीमा छ । समुद्र सतहबाट १ हजार ५ सय ८५ मिटर उचाइमा छ ।

    ९५ प्रतिशत मगर जातिको बसोबास रहेको उक्त क्षेत्रमा सञ्चालित होमस्टेमा मौलिक परिकारको स्वाद जिब्रोमा झुन्डिने गरेको धरानबाट पुगेका संकल्प राई बताउँछन् । अझ उक्त जातिको मौलिक संस्कृति झल्कने हुर्रा लगायत नृत्यमा रमाउँदाको मज्जै बेग्लै भएको उनले अनुभव सुनाए ।

    ध्वजेडाँडाका १३ घर समेटिएर होमस्टे सञ्चालनमा रहेको मेरी होमस्टेकी सञ्चालक रेखा लिम्बूले बताइन् । उता नाम्जे थुम्की होमस्टे संस्थामा आबद्ध २२ होमस्टे सञ्चालनमा छन् । शुक्रबार र शनिबार होमस्टेमा पाहुनाको सबैभन्दा बढी भिडभाड हुने गरेको छ । असोजयता उनको घरमा ४ सयभन्दा बढी पाहुना आइसकेका छन् । ध्वजेमा एक सय पाहुना अटाउन सक्छन् । नाम्जेमा १३ र थुम्कीमा ९ गरी २२ होमस्टेका ६० कोठामा पाहुना बस्न सक्छन् । होमस्टेबाट मासिक ३० देखि ६० हजार रुपैयाँ बढी आम्दानी हुने सञ्चालकहरू बताउँछन् ।

    नाम्जेमा अतिथिलाई सत्कार गरी मिठो वचनले खाना र बास दिने परम्पराले पर्यटक तानिने स्थानीय टंक भुजेलको भनाइ छ । पाहुनालाई नास्ताको रुपमा सिजनअनुसार उसिनेको आलु, इस्कुसको जरा र त्यसको मुन्टाको तरकारी, मकैको भात, लोकल कुखुराको मासु, बंगुरको सेकुवा, खसी बोकाको मासु, कोदोको निगार, तोङबा लगायत पेय पदार्थको व्यवस्था गरिएको छ । दैनिक अढाइ सय जनालाई खानेबस्ने व्यवस्था मिलाइएको होमस्टेमा सपरिवार आउने गरेको स्थानीय सञ्चालक गुञ्जमान मगरले जानकारी दिए ।

    नाम्जे थुम्की होमस्टेमा आउने पर्यटकले आत्मा बस्ने घर, सूर्योदय बौद्धविहार, जनजाति पार्क, नाम्जे थुम्की डाँडा वरिपरिका टावर, तराईका समथल भू–भागको अवलोकन गर्छन् । पाहुनाले स्थानीयले उत्पादन गरेका तरकारी र फलफूल खरिद गरेर लैजाने गरेकोले व्यवसाय समेत फस्टाएको छ ।

  • ३ पुष २०७९, आईतवार १०:२९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान