चितवन ३, पुस : जंगली हात्तीले आक्रमण गर्दा चितवनको मेघौलीमा वृद्धाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार शनिबार साँझ साढे आठ बजेतिर भरतपुर महानगरपालिका-२८ अन्द्रउली मेघौलीमा ७० वर्षीया भागिरथी सुवेदीलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।
गम्भीर घाइते भएकी सुवेदीलाई उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा राति पौने ११ बजेतिर सुवेदीको मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन् ।
केही दिनयता चितवन निकुञ्जसँग जोडिएको पश्चिम चितवन क्षेत्रमा जंगली हात्ती बस्ती छिरेर दुख दिन थालेको छ । आँगनमा आगो ताप्दै गरेका बेला सुवेदीलाई हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।