लुम्बिनी ३, पुस : रूपन्देहीको सियारी–२ का हेमन्त थापालाई एक सातादेखि रुघाखोकी र ज्वरोले सताएको छ । अघिपछिजस्तै घरमै बसेर औषधि खाए पनि उनलाई निको भएन । बिस्तारै श्वास फेर्न नै गाह्रो भएपछि चिकित्सकलाई देखाएको उनले बताए । अहिले नियमित बाफ लिएपछि मात्रै श्वास फेर्न सहज भएको उनले सुनाए ।
जिल्लामा चिसो बढेसँगै श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । रूपन्देहीका सरकारी तथा निजी अस्पतालमा उपचार गर्न आउनेमध्ये अधिकांश बिरामीमा फोक्सोको समस्या देखिन थालेको चिकित्सकले बताए । ‘यो समस्या चिसो र वायु प्रदूषणले भएको हो,’ लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ जनरल फिजिसियन डा. सुदर्शन थापाले भने, ‘अस्पतालमा आउनेमध्ये एकतिहाइमा श्वासप्रश्वासको समस्या छ ।’ अस्पतालमा आएका १ सय बिरामीमध्ये ६० जनाजतिमा श्वासप्रश्वास, रुघाखोकी र फोक्सोको समस्या देखिएको उनले बताए । शरीरलाई चाहिने शुद्ध हावा (अक्सिजन) लिने र अशुद्ध हावा (कार्बनडाइ अक्साइड) फ्याँक्ने महत्त्वपूर्ण अंग फोक्सोको ख्याल राख्नुपर्ने उनले बताए । अस्पतालमा आउनेमध्ये अहिले धेरैमा रुघाखोकी र श्वास फेर्न गाह्रो भएका बिरामी आइरहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । ‘जाडो याममा अन्य रोगका बिरामीभन्दा दम, ज्वरो, खोकीका बिरामी धेरै आएका छन्,’ उनले भने, ‘अस्पतालमा निमोनिया भई अक्सिजन दिनुपर्ने बिरामीको संख्या पनि बढ्दै गएको छ ।’
भीम अस्पतालमा दैनिक १२ देखि १५ बालबालिकालाई वाफ दिनुपरेको अस्पतालका बाल रोग विशेषज्ञ डा. सिद्धार्थ पाण्डेले बताए । ‘अहिले घ्यारघ्यार गर्ने बालबालिका र दम भएर वाफ लिने वृद्धहरूको संख्या बढ्दो छ,’ उनले भने, ‘यो अवस्था जाडो नसकिंदासम्म रहिरहन्छ । चिसोमा झाडापखालाका बिरामीसमेत बढेका छन् ।’ चिसो ह्वात्तै बढेकाले मर्निङ वाक गर्ने वृद्धवृद्धाका साथै बालबालिका अहिले घाम लागेपछि हिंड्न ठीक हुने, न्यानो भएर बस्नुपर्ने, तातो खानेकुरा खाने गरेमा चिसोको समस्या नहुने डा. थापाले सुझाए ।