बगरमा हराभरा वन - Dastabej

बगरमा हराभरा वन


  • दस्तावेज

  •  

     

    ४ वर्षमा स्थानीयले रोपेका बाँस, खयर र सिसौ हुर्किए

    कञ्चनपुर ३, पुस :  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको स्याली नदीको बगर छ । बर्सेनि नदी कटानले बगर झन्झन् बढ्दै गएको थियो । स्याली नदी बस्ती छेउमै पुगिसकेको थियो । ४ वर्षअघिसम्म यो क्षेत्रमा बालुवा मात्रै थियो ।

     

    कञ्चनपुरको शुक्लाफाँटा–६ मा स्याली नदीकिनारको बगरमा हुर्केको वन । तस्विर : भवानी/कान्तिपुर
    जब स्थानीयले चरिचरन निषेध गरे त्यसपछि बगर क्षेत्र विस्तारै हराभरा हुन थाल्यो । स्थानीयले बगरमा तारबार लगाए । त्यसपछि केही बिरुवा पनि रोपे । खयर, सिसौं, सिमललगायतका बिरुवा आफैं उम्रिए । अहिले स्याली किनारको ५ हेक्टर बगर घना वन भएको छ ।

     

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त बगरमा स्थानीयले ४ वर्षअघि ५ सय सिसौं, २ हजार खयर र २५० बाँसका बिरुवा रोपेर संरक्षणको सुरुवात गरे । चरिचरन रोकिएपछि रोपे भन्दा बढी विरुवा आफैं उम्रिए । अहिले घना वन भएर एक्लै जान पनि डर लाग्दो छ । ‘बगर संरक्षण नगरेको भए अहिलेसम्म स्यालीले बस्ती बगाइसक्ने थियो,’ शुक्लाफाँटा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सुनदेवी उपभोक्ता समितिका सचिव दामोदर जोशीले भने, ‘बगर संरक्षणले एकातिर कटान रोकियो, अर्कोतर्फ घाँस दाउराका लागि पनि सजिलो भयो ।’

    शुक्लाफाँटा नगरपालिका ६ मा पर्ने उक्त क्षेत्रमा वडा कार्यालय र तराई भूपरिधि कार्यक्रमले बगर संरक्षणसंँगै वृक्षरोपणमा सहयोग गरेको हो । स्थानीयले लालमणि रानाको संयोजकत्वमा संरक्षण समिति पनि बनाएका छन् । उक्त समितिले बगरको हेरचाहसँगै व्यवस्थापनको काम गरिरहेको छ ।

    कृष्णपुर नगरपालिका ४ मा पर्ने समैजी सामुदायिक वनको ठूलो क्षेत्र मछेली नदीको कटानका कारण बगर बनेको थियो । घना वन हेर्दा हेर्दै बगर बन्यो । तर अहिले उक्त बगर फेरि हराभरा वन बनेको छ ।

     

    ‘यति चाँडै वन यस्तो होला भन्ने सोचेका थिएनौं,’ लालझाडी मोहना संरक्षित क्षेत्रअन्तर्गतका सामुदायिक वनहरूको समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तले भने, ‘स्थानीय उपभोक्ताका निकै मिहिनेतले एक दशकमै हराभरा वन भयो ।’

    पन्तका अनुसार समैजी सामुदायिक वनको उत्तरतिर मछेली खोलाले धेरै वन कटान गरेको थियो । स्थानीयले उक्त क्षेत्रमा चरिचरण निषेध गरे । त्यसपछि बिरुवा पुनर्उत्पादन हुन थाल्यो । बिरुवा उम्रिएसँगै नदीको कटान पनि रोकियो । समैजी सामुदायिक वनले बगर संरक्षण मात्रै गरेर उक्त क्षेत्रमा वन्यजन्तुका लागि १२ हेक्टर जमिनमा घाँसे मैदानपनि संरक्षण गरेका छन् ।

    समैजीसंगै जोगिएको ग्वासी समैजी सामुदायिक वनले पनि १५ हेक्टर जमिन घाँसे मैदानका रूपमा संरक्षण गरेको छ । घाँसे मैदान संरक्षणपछि दुवै सामुदायिक वनमा वन्यजन्तुको विचरण पनि बढेको छ । हात्ती, बाघ, नीलगाई, चित्तल र बाह्रसिंगालगायतका वन्यजन्तु उक्त क्षेत्रमा पुग्न थालेको अध्यक्ष पन्त बताउँछन् । लालझाडी मोहना संरक्षित क्षेत्र वन्यजन्तुको मुख्य करिडोर हो । भारतको दुधुवामा राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु लालझाडी हुँदै चुरे फेदीबाट शुक्लाफाँटासम्म पुग्छन् । शुक्लाफाँटाबाट पुन लालझाडी हुँदै फेरी दुधुवा फर्किन्छन् । लालझाडी संरक्षित क्षेत्रसँगै जोडिएको सामुदायिक वनहरूले संरक्षण थालेपछि वन्यजन्तु उक्त क्षेत्रमा पनि रोकिन थालेको अध्यक्ष पन्त बताउँछन् ।

    स्थानीय तहहरूले नदी नालाबाट निर्माण सामग्री उत्खनन्का लागि ठेक्का दिने गरेका छन् । तर त्यसपछि नियमित अनुगमन नहुँदा नदीनालाको अनियन्त्रित दोहन हुन्छ । जसको प्रत्यक्ष प्रभाव वन र चुरे क्षेत्रमा परिरहेको छ । महाकालीपछि सबैभन्दा बढी निर्माण सामग्री उत्खनन् हुने नदीमध्ये मछेली पनि पर्छ । त्यसकै प्रभाव समेैजी सामुदायिक वनमा पनि परेको हो । ‘संरक्षण नगरेको भए समैजी वन पूरै बगर भइसक्थयो, बस्ती पनि जोगाउन गाह्रो हुन्थ्यो,’ अध्यक्ष पन्तले भने, ‘लालझाडी संरक्षित क्षेत्रका सामुदायिक वनमध्ये समैजी संरक्षणमै नमुना बनेको छ ।’ उनका अनुसार लालझाडी संरक्षित क्षेत्रसंग ९१ सामुदायिक वन जोडिएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने पुनर्बास नगरपालिका ११ डोके बजार दुधुवादेखि लालझाडी जोड्ने करिडोरको मुख्य विन्दु हो । तर उक्तक्षेत्रमा जथाभावी भएको अतिक्रमण र बस्ती विकासले करिडोर अवरुद्ध भएको छ । तर मोहना नदीकिनारको गंगाजमुना सामुदायिक वन पनि स्थानीयले संरक्षण गरेको अर्को नमुना हो ।

    १९ हेक्टरमा रहेको यो वन पनि केही वर्षअघिसम्म बगर नै थियो । स्थानीयले संरक्षण थालेपछि अहिले यो निकै घना वनभएको छ । ‘करिडोर अवरोध तोड्ने डोकेबजारको अतिक्रमण हटाउनुका साथै लालझाडीलाई दुधुवासंगै जोडुनपर्ने देखिन्छ,’ लालझाडीसँगै जोडिएको कुण्डा सबडिभिजन वन कार्यालय पचगडियाका सहायक वनअधिृकत दिनेश यादवले भने, ‘स्थानीयको पहलमा केही संरक्षणका सकारात्मक काम भएका छन्, यसलाई निरन्तरता दिन सके मात्रै करिडोर संरक्षण हुन सक्छ ।’

  • ३ पुष २०७९, आईतवार ११:२९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान