चित्रकलामा ‘समृद्ध नेपाल सुखी नेपाली’ - Dastabej

चित्रकलामा ‘समृद्ध नेपाल सुखी नेपाली’


  • दस्तावेज

  • काठमाडौँ ३, पुस :  भुइँमा छरिएका असरल्ल ढुंगाहरु, सुरक्षाकर्मीको जमातले रोक्दै गरेको सडक आन्दोलन, त्यही माहोललाई छिचोल्दै आफ्नो गन्तव्यतिर लम्किरहेको एक परिवार अनि सडकको एक कुनामा पहेँलो रङले लेखिएको छ,‘समृद्ध नेपाल सुखी नेपाली’ ।

     

    चित्रकार पकबहादुर थापाले ‘समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकमा कोरेका चित्र हेरेर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर एकोहोरिए । चित्रमा एउटी महिला पिठ्युमा काखे बच्चा बोकेर आन्दोलन नियाल्दै अगाडि बढेकी छन् भने एक जना पुरुष आफ्नो छोरालाई विद्यालयको पोसाकमा डोर्‍याउँदै हिँडेको देख्न सकिन्छ । विद्यालयको पोसाकमा रहेका बालकले जसरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को बोर्डलाई बाबुको हात समात्दै फर्केर नियालेका छन्, अध्यक्ष ओलीले त्यसैगरी चित्र नियाल्दै चित्रकार थापासँग यसबारे थप सोधपुछ गरे ।

     

    नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा शनिबार प्रतिष्ठनाका सदस्य सचिव सचिवालयले गरेको चित्र, पुस्तक प्रदर्शनी तथा ‘अरनिको एसियाः एक प्रस्तावना’ पुस्तक विमोचन समारोहमा ओली सहभागी भएका थिए । ओलीले पुस्तक विमोचनका साथै प्रदर्शित चित्र तथा पुस्तकहरुको अवलोकन गरे ।

     

    सचिवालयले ‘समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकमा सातै वटा प्रदेशलाई समेट्ने गरी तयार गरिएको चित्रकला प्रदर्शनीमा सबै प्रदेशको संस्कृति, परम्परा, परिवेश र जीवनशैलीलाई झल्काउने चित्रहरु प्रदर्शनरत छन् । चित्रकार थापाले भने समकालीन राजनीतिक अवस्थालाई इंगित गर्दै नेकपा एमालेकै मूल सन्देशका रुपमा रहेको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा आम जनमानसमा कुन रुपमा लागू भइरहेको छ भनेर प्रस्तुत गरेका हुन् ।

     

    सातैवटा प्रदेशमार्फत प्रतिनिधित्व गरेका चित्रकारहरुले मुलुकको कला, संस्कृति, सभ्यता र परम्परासँगै अराजक राजनीतिक अवस्था र सीमा क्षेत्रका आम जनताले भोग्दै आएको पीडालाई समेत चित्रमा चित्रण गरेका छन् । प्रदेश नम्बर १ बाट चित्रकार सन्तोष राईले पूर्वको परिवेश र संस्कृतिलाई निकै सुन्दर ढंगले प्रस्तुत गरेका छन् । पूर्वी भेगसँगै समग्र नेपाललाई इंगित गर्दै उनले हाम्रो संस्कृति र परम्पराको दायरा फराकिलो छ भनेर चित्रमार्फत नै अर्थ्याएका छन् । त्यस्तै प्रदेश नम्बर २ बाट अर्का चित्रकार हरिओम मेहताले तराई क्षेत्रको संस्कृति र परिवेशलाई कलामा उतारेका छन् । प्रदेश नम्बर ५ बाट विकु थापा, ६ बाट कोशल हमाल दुवैले आ–आफ्ना प्रदेशलाई झल्काउने चित्र कोरेका छन् ।

     

    चित्रकार सुनिल पाण्डेले ‘दैनिक जीवन’ शीर्षकमा चकटी बुन्दै गरेकी एक महिलाको दैनिकीलाई चित्रमा देखाएका छन् । किरण गुरुङको ‘घाटु नाच’, पुष्पा आलेमगरको गुरुङ भेषभूषा झल्काउने चित्रहरु निकै सुन्दर रुपमा चित्रण भएका छन् । चित्रकार उद्धव रिमालले भने प्रदेश नम्बर ३ बाट उपत्यकाको वास्तुकलालाई झल्काएका छन् । ती सबै चित्रकलाहरुलाई ओलीले निकैबेर नियाले । उनले प्रतिष्ठानको सचिवालय, कुलपति सचिवालय, चित्रकला, लोककला, परम्परागत शिल्पकला, वास्तुकला अन्य सिर्जनात्मककला विभागहरुद्वारा चार वर्षे कार्यकालमा प्रकाशन भएका दजर्नभन्दा बढी कलाका पुस्तकहरु समेत अवलोकन गरे । ओलीले नेपालको कला र वास्तुकला कुनै किम्वदन्ती नभएर इतिहास भएको बताए ।

    नेपाल बाहिर गएर अरनिकोले कला तथा वास्तुकलामा नै उच्च सम्मान पाएको उल्लेख गर्दै उनले त्यसलाई कुनै पनि इतिहासले नकार्न नसक्ने ठहर गरे । ‘हामीसँग सिर्जना र सभ्यताको मुहान छ,’ उनले भने,‘लिपी, खगोलशास्त्र र गणितको आविष्कार यही भयो । हामीसँग पूर्खाको जेनेटिक मेमोरी छ । हामीसँग असाधारण कला, संस्कृति, सभ्यता, संगीत, वास्तुकला छन् ।’ विगतका कला र इतिहासको उत्खनन गर्न हामीसँग पूर्खाले छोडेको जग रहेको बताउँदै उनले त्यसैमा टेकेर हामीले हाम्रो संस्कृति र कलालाई बनाउन जोड दिनुपर्ने सुनाए । नेपाललाई सम्मानपूर्वक रुपमा चिनाएका हाम्रा पूर्खाको देनलाई उठाउन आफ्नो सदा सहयोग र सद्भाव रहने उनले प्रतिबद्धता जाहेर गरे ।

  • ३ पुष २०७९, आईतवार १४:११ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान