चितवन ३, पुस / किशोरकिशोरीहरू अपराधमा नलागून् र पीडित नबनून् भन्ने उद्देश्यले चितवन प्रहरीले विद्यार्थीका लागि पाठ्यसामग्री तयार गरेको छ ।
साइबर अपराध, यौन हिंसा, लागूऔषध जस्ता अपराधहरू समाजमा बढ्दो क्रममा रहेको र यसमा किशोरकिशोरीहरू बढी प्रभावित भएको चितवन जिल्ला प्रहरीका कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए । त्यसैले विद्यार्थीलाई सजग र सचेत गराउन पाठ्यसामग्री तयार गरेको उनको भनाइ छ ।
प्रहरीले ७८ सालको चैत्र २४ मा पहिलो पटक भरतपुर महानगरपालिकाका विद्यालयहरूका लागि चेतनामूलक विद्यालय पाठ्यसामग्री वितरण गरेको थियो । आइतबार इच्छाकामना गाउँपालिकाका लागि पाठ्यसामग्री वितरण भएको छ । योसँगै चितवनका सातै पालिकाहरूमा पाठ्यसामग्री पुगेको एसपी अधिकारीले जानकारी दिए ।
लागूऔषध दुव्यर्सन, धूमपान, मद्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक सञ्जालहरूको सुरक्षित प्रयोग, महिला तथा बालबालिकाविरूद्ध हुने अपराधहरू, सामाजिक अपराधहरू, घरेलु हिंसा र उजुरी दिने कार्यविधि, करणी सम्बन्धी कसुर (अपराध), ट्राफिक सचेतना, विपद् जोखिम र न्यूनिकरणका उपायहरू पाठ्यसामग्रीमा समेटिएका छन् ।
आत्महत्या समाजमा चिन्ताजनक रूपमा बढेको छ । यसलाई रोक्न पाठ्यसामग्रीमा पनि सामग्रीहरू राखिएको उनले बताए । ‘हिजो एकै दिन आत्महत्याका तीन घटनाको मुचुल्का गर्नु पर्यो । तीन जना नै महिला थिए । एक जना महिलाको विदेशमा रहेको श्रीमानसँग म्यासेन्जरमा पिकनिक जाने नजाने विषयमा भनाभन भएपछि त्यस्तो घटना भएछ । आत्महत्या रोक्न हामी सबै लाग्नु पर्छ,’ एसपी अधिकारीले भने ।
प्रहरी कार्यालयमा उजुरी दिने र सम्पर्क गर्ने तरिका पनि उल्लेख छ । विभिन्न १९ विषयहरू पाठ्यसामग्रीमा समेटिएको उनले बताए । विद्यालयहरूमा प्रहरी विद्यालय सम्पर्क समिति गठन गर्ने नीति रहेको हुँदा यो पनि गठन हुँदै जाओस् भन्ने आग्रह उनले गरे । फौजदारी प्रकृतिका अपराधमा मेलमिलाप तथा मिलापत्र गर्ने प्रवृत्ति रोक्न पनि विद्यालयमा अभियान चल्नु पर्ने उनले बताए । यस्ता अपराधबाट छात्राहरू नै मारमा परेको हुँदा त्यसलाई रोक्न विद्यालय शिक्षा सहयोगी हुने उनले बताए ।
सर्वशान्ति माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वासु सिलवालले इच्छाकामना गाउँपालिकामा बाल विवाह, सडक दुर्घटना, चोरीको समस्या धेरै हुने गरेको बताए । प्रहरीले तयार गरेको पाठ्यक्रमले यी समस्या रोक्न मद्दत गर्ने आशा उनले लिएका छन् । कम्तिमा हप्तामा एक दिन विद्यालयमा यो पाठ्यक्रम पढाउन उत्तम हुने उनले आग्रह गरे । त्रिवेणी बराह माविका प्रधानअध्यापक युवराज लामाले इच्छाकामना गाउँपालिकाले स्थानीय पाठ्यसामग्री पनि तयार गरेको बताए । त्यसैगरी प्रहरीले तयार गरेको पाठ्यसामग्री झनै विस्तृत र सहयोगी भएको उनको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि रहेका चितवन जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले अपराध बढ्दा विद्यालय शिक्षाबाट त्यसलाई कम गर्न सकिने सम्भावना उच्च रहेको बताए । इच्छाकामना गाउँपालिकाका प्रमुख दानबहादुर गुरूङले भौतिक पूर्वाधारमा जोड दिने कार्यसँगै समाजको चरित्र सुधार्ने काममा पनि लाग्नुपर्ने बताए । त्यसका लागि प्रहरीले तयार पारेको पाठ्यसामग्री कोसेढुंगा साबित हुने उनको भनाइ छ ।