काठमाडौँ ३, पुस : नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धन र अन्य दलहरुसँग संवाद थाल्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संविधानको व्यवस्थाबमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वभाविक भएकाले गठबन्धन र अन्य दलहरुसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी नेपाली कांग्रेसका नेताहरू । तस्बिर : केशव थापा / कान्तिपुर
‘संविधानको व्यवस्थाबमोजिम सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक हुन्छ । त्यस अर्थमा नेपाली कांग्रेसको नेतृत्वमा आगामी सरकार गठनका लागि गठबन्धनमा रहेका दलहरु लगायत अन्य दलसँगसमेत संवाद, वार्ता छलफल प्रक्रिया प्रारम्भ गर्ने बैठकले निर्णय गरेको छ,’ प्रवक्ता महतले भने ।
बैठकले संसदीय दलको नेता चयन प्रक्रिया अगाडि बढाउन केन्द्रीय सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समिति सदस्यमा केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र प्रकाश रसाइली रहेका छन् ।