काठमाडौँ ४, पुस : बंगलादेशको ढाकामा हुने बंगबन्धु एसियन यू–२३ सेन्ट्रल जोन अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताका लागि नेपाली भलिबल टोली सोमबार त्यसतर्फ जाने भएको छ ।
ढाका जाने टोलीमा धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुराँव, विष्णु बस्नेत, सफल बिक, सन्तोष महता, मनीष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भीमराज गुरुङ (लिबेरो) छन् । टिमका मुख्य प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव छन् । व्यवस्थापकमा जितेन्द्र श्रेष्ठ छन् ।
पुस ७ देखि ११ सम्म हुने प्रतियोगिता राउन्ड रोबिनका आधारमा हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ गरे । घिसिङले खेलकुद विकासका लागि विभिन्न उमेर समूहको प्रतियोगिता आवश्यकता रहेको औंल्याए । बंगलादेश जाने टोलीका लागि संघका पूर्वअध्यक्ष मनोरञ्जन रमण शर्माले सहयोगस्वरुप १ लाख रुपैयाँको चेक अध्यक्ष जितेन्द्रबहादुर चन्दलाई हस्तान्तरण गरे ।
सेन्ट्रल एसिया भलिबल एसोसिएसनले प्रथम पटक आयोजना गर्न लागेको काभा सेन्ट्रल एसिया भलिबल एसोसियएन बिच भलिबलमा भाग लिन जाने महिला तथा पुरुष भलिबल टोलीलाई बिदाइ गरियो । महिलातर्फ कोपिला उप्रेती र कमला पुन तथा पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार छन् । टिममा प्रशिक्षकमा राष्ट्रिय भलिबलका पूर्वकप्तान तथा विच भलिबल खेलाडी भरत शाह र अफिसियलमा संघकी सदस्य जुनु पुन मगर छन् । बंगलादेशको कक्सबजारमा पुस ११ गते देखि १६ सम्म हुनेछ । बिच भलिबल टोली एक सातापछि त्यसतर्फ जानेछ ।
बिच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सहभागी टोलीको टुंगो लाग्न बाँकी रहेको जनाइएको छ ।