काठमाडौँ ४, पुस / नेपाली गीतसंगीत तथा कला लेखनका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टा, लेखक तथा पत्रकारहरुलाई ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८’ प्रदान गरिने भएको छ ।
नेपाली संगीतका धरोहर नातिकाजी श्रेष्ठको ९८ औं जन्मजयन्तीका अवसरमा आइतबार राजधानीमा गरिएको कार्यक्रममा नातिकाजी स्मृति समाजले प्रेस विज्ञप्ति जारी गर्दै सम्मान तथा पुरस्कार घोषणा गरेको हो । समाजका अध्यक्ष शम्भूजीत बास्कोटाले नेपाली संगीतको पुराना र नयाँ पुस्ताका स्रष्टालाई जोड्ने कडीको रुपमा सम्मान र पुरस्कार प्रदान गरिँदै आएको बताए ।
जारी विज्ञप्तिअनुसार ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७८’ मनबहादुर मुखिया, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणीन्द्र राई, बिके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई प्रदान गरिने भएको छ ।
त्यस्तै एकनारायण भण्डारी, काली प्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८’ प्रदान गरिने छ । देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले, र अस्मिता अधिकारीलाई भने ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८’ प्रदान गरिने भएको छ ।
‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८’ भने संगीतका गुरु चन्दन श्रेष्ठलाई प्रदान गरिनेछ ।
‘नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा वाद्य पुरस्कार’ रविन कार्की ढली र ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ देवी घर्तीलाई प्रदान गरिने संस्थाका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । २०७८ सालको ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ डब्बू क्षेत्री (डम्बर बहादुर बुढाथोकी) र कुवेर गिरीलाई प्रदान गरिने जनाइएको छ । त्यस्तै ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार–२०७८’ आशिष गौतमलाई प्रदान गरिने भएको छ ।
राष्ट्रपतिमार्फत पुरस्कार हस्तान्तरण गर्ने परम्परा रहेकोले राष्ट्रपति विद्यादेवी भण्डारीको समयानुकुल समारोहका बीच सम्मान तथा पुरस्कार हस्तान्तरण गरिने अध्यक्ष बास्कोटाले सुनाए ।