पाँचथर ४, पुस : जिल्लाका ग्रामिण भेगका ज्येष्ठ नागरिकमा दम, खोकी, श्वासप्रश्वाससँगै नाक, कान, आँखा र हात गोडामा देखिने विभिन्न किसिमका समस्यासँगै मुटु, छाती र पेट सम्बन्धी जटिल प्रकृतिका समस्या भएपनि स्वास्थ संस्थासम्म पुग्दैनन् ।घर पायकमै पायकमै स्वास्थ रहेपनि धेरै खर्च लाग्छ भन्ने भ्रम, स्वास्थ्य सस्थामा पर्याप्त जनशक्ति र उपकरण नभएकाले स्वास्थ्य संस्था नगएको उनीहरु टिप्पणी गर्छन् ।
ज्येष्ठ नागरिकलाई राज्यले निःशुल्क औषधि उपचार गरिदिन्छ भन्ने जानकारीसम्म उनीहरुमा छैन । यसरी भ्रम पालेर आफूमा भएको स्वास्थ्य सम्बन्धी जटिलता लुकाएरै बसेका महिला र ज्येष्ठ नागरिकको ग्रामिण क्षेत्रमा बेला बखत आयोजना हुने निःशुल्क शिविरमा भने थेगिनसक्नुको भीड लाग्छ ।
आइतबार हिलिहाङ गाउँपालिकाको आयोजनामा प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा सञ्चालन भएको शिबिरमा पनि यस्ता बिरामीहरुको उपस्थिति थेगिनसक्नुको थियो ।
यो शिविरमा मुटु,नाक,कान,घाँटी, श्वासप्रश्वास र महिला सम्बन्धी विभिन्न समस्या भएका ४ सयभन्दा बढीले बिरामीले निःशुल्क स्वास्थ्य जाँचसँगै डाक्टरको परामर्श र औषधि उपचारको सुविधा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिए । उनका अनुसार यो शिविरमा हिलिहाङसँगै याङवरक र फालेलुङ गाउँपालिकासम्मका बिरामीले लाभ लिएका छन् ।
शिविरमा झापाको बिएन्डसी अस्पतालबाट आएका ५ जना विशेषज्ञ डाक्टरसहित १३ चिकित्सकले बिरामी जाँच गरेका छन् । विभिन्न समस्याका कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई लक्षित गर्दै आयोजना यो शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले बताए ।