ताराखसे पोखरी ईतिहास छ, पानी छैन - Dastabej

ताराखसे पोखरी ईतिहास छ, पानी छैन


  • दस्तावेज

  • रामेछाप ४, पुस :  नाम ताराखसे पोखरी तर पानी छैन । पहिले जहिल्यै पानी हुन्थ्यो । सुख्खाका कारण विगत २० वर्षयता उक्त पोखरीमा पानीको थोपै छैन । आफ्ना पुर्खाको भनाइअनुसार करिब २ सय ५० बर्षअघि तारा खसेर बनेको उक्त खाडलमा पानी जमेपछि उक्त पोखरी बनेको थियो ।

     

    ८० वर्षीय दीपबहादुर कार्कीका अनुसार तारा खसेर बनेको पोखरी भएकाले त्यस खाडललाई स्थानीयले ताराखसे पोखरीको नामले चिन्ने गरेका छन् ।

     

    ‘जिल्ला सदरमुकाम रामेछाप हुँदा त्यहि बाटो हिँड्नेले पोखरीको सङ्लो पानी खाने गरेको म आफैँले देखेको थिएँ‚’ कार्की भन्छन्‚ ‘हिमगंगा‚ साँघुटारतिर व्यापारको सामान बोकेर हिँड्ने भरियाले पोखरीकै आसपास खाना बनाएर खाने गर्थे । पोखरी जंगलको बिचमा रहेकाले स्थानीयले फोहोरमैला गर्ने मौका पाउँदैनथे । गाइबस्तु चराउन जानेले पनि त्यहिँको पानी खाएर तिर्खा मेटाउँथे ।’

    साविक ओख्रेनी गाविसका पूर्वअध्यक्ष चन्द्रबहादुर खड्काले ताराखसे पोखरीलाई ठूलो बनाउने भन्दै डोजर लगाएपछि पोखरीमा परापूर्व कालदेखि जम्मा भएको पानी चुहियो । फेरि जम्मा नै भएन । पोखरीलाई विस्तार गर्दा पानी अडिएको भाग काटियो, विस्तार भएको क्षेत्रमा धाँधर (छिद्र) भेटिएकाले पानी जम्मा गर्न नसकिएको वडाअध्यक्ष समिर कार्कीले बताए । कार्कीका अनुसार २०६५ सालपछि पोखरीमा अलिकति पनि पानी छैन ।

    ऐतिहासिक उक्त ताराखसे पोखरी झन्डै १ हजार ८ मिटर उचाईमा रहेको छ । उक्त पोखरीमा पानी भरेर पर्यटकीय स्थानको रुपमा विकास गर्ने योजना रामेछाप नगरपालिकाले अघि सारेको छ । नगरपालिकाले करिब १३ करोड रुपैयाँको लागतमा डीपीआर निर्माण भएको छ । तर‚ डीपीआरबमोजिमको काम गरेर पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना भने अझै अलपत्र छ ।

     

    कार्कीका अनुसार रामेछाप नगरपालिकाले करिब २९ लाख रुपैयाँ खर्चेर पोखरीको वरिपरी पर्खाल लगाएको छ । अब झन्डै ६० लाख रुपैयाँ खर्चिने हो भने पोखरीमा पानी जम्मा गर्न सकिने अवस्था रहेको कार्कीले बताए । झन्डै ३ मिटर गहिरो उक्त पोखरीमा पानी जमाउन सके आन्तरिक तथा बाह्य पर्यटकलाई जलविहारको व्यवस्था गरेर आकर्षित गर्ने योजना रहेको कार्कीले बताए ।

    ताराखसे पोखरी क्षेत्र त्यसै पनि सौन्दर्यले भरिएको छ । हरियाली जंगलको बिचमा रहेको उक्त स्थानबाट महालङ्गुर हिमश्रृंखला प्रस्ट देखिन्छ । गर्मी मौसममा धेरैको रोजाइमा पर्ने उक्त क्षेत्रमा वनभोज खाने, पर्यपर्यटन गर्ने बढेका छन् । पोखरी नजिकै रहेको महादेवको मन्दिरमा समेत दर्शनार्थी बढेका छन् ।

  • ४ पुष २०७९, सोमबार १४:५२ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान