काठमाडौँ ४, पुस : यो आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ७९ अर्ब १२ करोड रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब ४४ करोड निक्षेप संकलन भएकोमा मंसिर मसान्तसम्म आउँदा ४६ खर्ब २० अर्ब ५५ करोड कायम भएको छ ।
यो ५ महिनाको अवधिमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै २० अर्ब ५१ करोड निक्षेप थपेको छ । निक्षेप धेरै बढाउनेमा राष्ट्रिय वाणिज्यपछि नबिल र स्टान्डर्ड चार्टड क्रमशः छन् । समग्र निक्षेपमा केही सुधार देखिए पनि कर्जा विस्तार अझै सुस्त छ ।
५ महिनामा जम्मा ४८ अर्ब ८० करोड रुपैयाँ कर्जा विस्तार भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा हुन झण्डै ५ खर्ब कर्जा विस्तार हुनुपर्छ । तर ५ महिनामा ५० अर्ब पनि पुग्न सकेको छैन । यसले समग्रमा कर्जा विस्तार अत्यन्तै सुस्त रहेको जनाउँछ ।
असार मसान्तसम्म कुल ४१ खर्ब ७४ अर्ब ८४ करोड कर्जा प्रवाह भएकोमा मंसिर मसान्तसम्म ४२ खर्ब २३ अर्ब ६४ करोड कायम भएको छ । ५ महिनाको अवधिमा इन्भेस्टमेन्ट बैंकले सबैभन्दा धेरै १० अर्ब रुपैयाँ कर्जा विस्तार गर्न सफल भएको छ । निक्षेपभन्दा कर्जा विस्तार साँघुरिएपछि बैंकहरुको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) घटेको छ । यस्तो अनुपात ८५.९ प्रतिशत कायम भएको छ । उच्च ब्याजदर, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन लगायत कारणले बैंकहरूबाट कर्जा लिन सक्ने अवस्था नरहेको उद्योगी व्यवसायीले बताउँदै आएका छन् ।