सात महिनापछि सवारीसाधनको एलसी खुल्न थाल्यो - Dastabej

सात महिनापछि सवारीसाधनको एलसी खुल्न थाल्यो


  • दस्तावेज

  •  

     

     

    आयात प्रतिबन्ध खुले पनि अटो बजारमा छैन चहलपहल

     

    काठमाडौँ ५, पुस :  सरकारले आयात खुला गरेपछि सवारीसाधन आयातका लागि व्यवसायीहरूले प्रतीतपत्र (एलसी) खोल्न थालेका छन् । विदेशी विनिमय सञ्चिति कम भएको भन्दै सरकारले साढे ७ महिनाअघिदेखि लगाएको आयात प्रतिबन्ध फुकुवा गरेपछि व्यवसायीहरूले गाडी आयातका लागि प्रक्रिया अघि बढाएका हुन् । प्रतिबन्धित वस्तुको आयात खुला भएसँगै सवारीसाधनलगायत सामग्रीको एलसी खुल्ने क्रम सुरु भएको छ ।

     

    राष्ट्र बैंकबाट परिपत्र जारी नभएको अवस्थामा यसअघि प्रतिबन्धित वस्तुको एलसी खोल्ने कि नखोल्ने सम्बन्धमा बैंकहरूमा भने केही अन्योल देखिएको छ । ‘राष्ट्र बैंकबाट परिपत्र आइसकेको छैन । यसकारण एलसी खोल्ने कि नखोल्ने अन्योल छ,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘एलसीको माग आएको छ । तर हामी राष्ट्र बैंकको बाटो हेरेर बसेका छौं ।’ सरकारले यसअघि प्रतिबन्ध लगाएका वस्तुको आयात खोलेसँगै आफूले जारी गरेको एलसी नखोल्ने निर्देशन पनि स्वतः खारेज भएको नेपाल राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

     

    पछिल्लो पटक गाडीलगायत चार वटा वस्तुको आयात प्रतिबन्ध लगाउँदा राजपत्रमा मंसिर २९ सम्मको म्याद तोकिएकाले उक्त मिति पछि नयाँ जारी नभएकाले पुरानो राजपत्रको व्यवस्था स्वतः खारेज भएको सरकारी पक्षको भनाइ छ । सरकारले राजपत्र प्रकाशन नगर्ने भएपछि आफूहरूले पनि एलसी खुला भएको भन्दै निर्देशन जारी गर्नु नपर्ने राष्ट्र बैंकले जनाएको छ । ‘आयात प्रतिबन्ध फुकुवा भएपछि राष्ट्र बैंकबाट जारी परिपत्र पनि स्वतः खारेज भएको छ,’ राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख रामु पौडेलले भने, ‘यस सम्बन्धमा राष्ट्र बैंकले परिपत्र जारी गरिरहनुपर्दैन । अब बैंकहरूले कानुनबमोजिम परिपत्र खोल्न सक्छन् । यस सम्बन्धमा बैंकहरूलाई सूचना प्रवाह गर्न बैंकर्स संघलाई जानकारी गराइसकेका छौं ।’

    लामो समयसम्म व्यवसायीले सवारीसाधन आयात गर्न नपाएकाले सरकारले प्रतिबन्धित वस्तुको आयात खुला गरे पनि अटो बजारमा चहलपहल नभएको व्यवसायीहरूले बताएका छन् । आयात प्रतिबन्ध खुले पनि नगद मार्जिन राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्था कायमै रहेकाले अटोबजारमा चहपहल बढ्न नसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत वैशाख १३ मा राजपत्रमा सूचना प्रकाशन गर्दै सवारीसाधनसहित १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । व्यवसायीको चर्को दबाबपछि सरकारले पुस १ बाट प्रतिबन्ध फुकुवा गरेको हो ।

    विदेशी विनिमय सञ्चितिमा कमी आएपछि राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । यस्तो व्यवस्थाले पनि सवारीसाधन आयातमा कमी आएको नाडाले जनाएको छ । ‘गाडी आयातका लागि एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने र जोखिमभार ७५ प्रतिशतबाट १५० प्रतिशत पुर्‍याइएकाले व्यवसायीलाई अप्ठ्यारो परेको छ,’ थापाले भने, ‘नगद मार्जिनको व्यवस्थाले व्यवसायीले धेरै रकमको एलसी खोल्न सकेका छैनन् । जोखिमभार बढ्दा त्यो क्षेत्रमा बैंकले कम कर्जा प्रवाह गरेका छन् ।’ अहिले गाडी अर्डर भएको छैन । एलसी नखोली विभिन्न देशले नेपाली कम्पनीको अर्डर लिन छाडेका छन् ।

     

    ‘पहिला अर्डर गरेपछि नियमित रूपमा गाडी आउँथ्यो । अर्डर गरेर तयार हुनासाथ खबर आउँथ्यो,’ उनले भने, ‘अहिले एलसी नखोली अर्डर लिँदैनन् ।’ एलसी खोलेपछि विश्वासका आधारमा गाडी आउने गरेको उनको भनाइ छ । सरकारले लगाएको प्रतिबन्ध खुल्ने आसमा तीन पटकसम्म अर्डर गर्दै क्यान्सिल गरेपछि विभिन्न देशका गाडी उत्पादक कम्पनीहरूले विश्वास गर्न छाडेको नाडाले जनाएको छ । ‘पहिला गाडी अर्डर हुन्थ्यो, केही सामान बाटोमा हुन्थ्यो, केही भन्सारमा आएर बस्थ्यो र केही सोरुममा हुन्थ्यो,’ अध्यक्ष थापाले भने, ‘अहिले न गाडी सोरुममा छ, न भन्सारमा आएर बसेको छ ।’

    आयात प्रतिबन्ध खुलेपछि आइतबारबाट व्यवसायीहरूले एलसी खोल्न थालेको अध्यक्ष थापाले बताए ।

    ‘एलसी खोले पनि नियमित रूपमा गाडी आउन अझै दुई महिना लाग्छ,’ थापाले भने, ‘त्यसपछि खाली सोरुम गाडीले भरिँदै जान्छन् ।’ एलसी खोलेर गाडी आउन थालेपछि विदेशी कम्पनीहरूले बिस्तारै विश्वास गर्ने आशा रहेको उनको भनाइ छ । लामो समयको सवारी आयात प्रतिबन्धले अटो बजार कोभिडताकाभन्दा कठिन अवस्थामा पुगेको व्यवसायीहरूको भनाइ छ ।

    ‘कोभिडका बेला प्रायः कम्पनीमा सवारीसाधन मौज्दात थिए,’ अध्यक्ष थापाले भने, ‘जसले गर्दा लकडाउन खुल्नासाथ गाडी बिक्री गर्न समस्या भएन, अहिले लामो समय आयात प्रतिबन्ध गरिएका कारण मौज्दात गाडी सकिए ।’ गाडी आउन थाले पनि व्यवसाय पहिलाकै अवस्थामा पुग्न समय लाग्ने नाडाले जनायो । बैंकहरूले प्रक्रिया पूरा गरे पनि भुक्तानी दिन एक/दुई महिनै समय लगाउने गरेकाले थप समस्या भएको व्यवसायीको गुनासो छ ।

    सवारी आयात नहुँदा देशभर दुई र चारपांग्रे कम्पनीका ५८ सोरुम बन्द भएका छन् । देशभर विभिन्न सवारीका १ हजार २५ सोरुम छन् । नाडाको तथ्यांकअनुसार प्रदेश १ मा ९, मधेसमा ११, वाग्मतीमा १८, गण्डकीमा ७, लुम्बिनीमा ३, कर्णालीमा ७ र सुदूरपश्चिममा ३ वटा सोरुम बन्द भएका छन् । यससँगै ती सोरुममा कार्यरत कर्मचारी बेरोजगार बनेका छन् । सञ्चालनमा रहेका सोरुमले पनि कर्मचारीलाई बेतलबी बिदामा घर पठाएका छन् ।

    ‘केही सोरुम नखुल्ने गरी नै बन्द भएका छन्, बन्द भएका सोरुम पनि दुई महिना अझै खुल्ने छैनन्,’ उनले भने, ‘गाडी आउन थालेपछि मात्र बन्द सोरुम खुल्दै जान्छन् ।’ विद्युतीय सवारीका बाहेक प्रायः सबै सोरुमले कामदार घटाएका छन् । यस क्षेत्रमा प्रत्यक्ष रोजगार १ लाख छन् । त्यसमध्ये ३० प्रतिशतभन्दा बढी कर्मचारीलाई बिदा गर्नुपरेको नाडाले जनाएको छ । १ खर्ब रुपैयाँ लगानी रहेको यो क्षेत्रमा अप्रत्यक्ष रोजगार १० लाख छन् ।

  • ५ पुष २०७९, मंगलवार ११:०४ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ६. आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने, साबधानी अपनाउन सुझाब
  • ७. थारु महिला उत्थान केन्द्र द्रारा सहकारीलाई अनुदान