पोखरामा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने - Dastabej

पोखरामा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने


  • दस्तावेज

  • पोल भाडा विवादपछि प्राधिकरणले फेरि काटिदियो इन्टरनेट सेवा प्रदायकको विद्युत् लाइन

     

    काठमाडौँ २१, पुस :  पोखरामा इन्टरनेट सेवा प्रदायकको मुख्य अपरेसन सेन्टरमा नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएकाले आसपासका क्षेत्रमा कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानले जनाएको छ । पोल भाडासम्बन्धी विवाद नसुल्झिएकाले इन्टरनेट सेवा प्रदायक र प्राधिकरणबीच पटक-पटक जुहारी चल्दै आएको छ ।

     

    आफूहरूले विद्युत् महशुल नियमित रूपमा भुक्तानी गर्दागर्दै पनि लाइन काटिदिएको आइस्पानको दाबी छ । सेवा अवरुद्ध भए त्यसको सम्पूर्ण जिम्मेवारी विद्युत् प्राधिकरणले लिई क्षतिपूर्ति समेत दिनुपर्ने आइस्पानले चेतावनी दिएको छ । प्राधिकरणले भने आफूहरूले पटक–पटक नियमपूर्वक सूचना जारी गर्दासमेत इन्टरनेट सेवाप्रदायकले अटेरी गरेकाले लाइन काट्न बाध्य भएको प्रतिक्रिया दिएको छ ।

     

    केही दिनअघि पनि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकको कार्यालयमा विद्युत् लाइन काटिदिएको थियो ।इन्टरनेट सेवा प्रदायकहरूले भाडा सम्झौताबिना पोल र फाइबर लगायत संरचना प्रयोग गरिरहेको र ठूलो रकम भाडा बक्यौता रहेकोले लाइन काटिएको प्राधिकरणले बताउँदै आएको छ । प्राधिकरणले अघिल्लो पटक काठमाडौं, विराटनगर, पोखरा, धरान, बुटवल, धनकुटा, काँकडभिट्टा, सुर्खेतलगायत स्थानमा विद्युत् लाइन काटेर इन्टरनेट सेवा अवरुद्ध गरिदएको आइस्पानको दाबी थियो ।

    इन्टरनेट अवरुद्ध गरेका ठाउँमा उचित क्षतिपूर्ति नदिएसम्म र इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण नबनेसम्म आफूहरूले सेवा दिने अवस्था नरहेको भन्दै आइस्पानले यसै साता पत्रकार सम्मेलन गरी चेतावनीसमेत दिएको थियो । प्राधिकरणले आफूखुसी ६०० देखि ७०० प्रतिशतसम्म अचाक्ली पोलभाडा बढाएको र त्यसको मार उपभोक्तालाई पर्ने आइस्पानको भनाइ थियो । प्राधिकरणले भने भाडादर आफूहरूले तोकेको नभई राज्यको सम्बन्धित निकायले सुझाएअनुसार भएको र आफूहरूले त्यसको कार्यान्वयन मात्रै गरेको जनाएको छ ।

  • २१ पुष २०७९, बिहीबार १४:३९ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा