फाल्गुन १६, २०७९ बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने उपयुक्त मौसममै पर्यटक घटेका छन् । पर्यटक आगमनका हिसाबले फागुनलाई उपयुक्त महिना मानिन्छ । यसै महिनामा पर्यटन घट्दै गएपछि यहाँका व्यवसायी निराश बनेका छन् ।
निकुञ्जको झाडी सफा भएका कारण अहिले यहाँबाट बाघ, गैंडालगायत वन्यजन्तु सहजै देख्न सकिन्छ । यहाँ आउने ९० प्रतिशत भन्दा बढी पर्यटकले जंगल सफारी गरेको दिन बाघ देखेको जानकारी निकुञ्ज प्रशासनलाई दिने गरेका छन् । बाघ सजिलै देख्न सकिने पर्यटकीय गन्तव्यका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जले नाम कमाएको छ ।
पर्यटन व्यवसायी एवं होटल संघ च्याप्टर ठाकुरद्वाराका अध्यक्ष मोहनलाल चौधरीले विदेशी पर्यटक आवागमन घट्नुको प्रमुख कारणमा आर्थिक मन्दी, रूपैडिहामा कोरोनापछि अध्यागमन कार्यालय बन्द हुनु र हवाई यात्रामा जोखिम भएको बताए । ‘अहिले त व्यवसाय धान्नै गाह्रो छ,’ उनले भने । ९ सय ६८ वर्ग किमि क्षेत्रफल ओगटेको बर्दिया राष्ट्रिय निकुञ्जको मनमोहक र शान्त वातावरणले यहाँ आउने पर्यटकलाई लोभ्याउने गर्छ । विशेष गरी पाटे बाघ सहजै हेर्न पाइने भनेर पर्यटक आउने गर्छन् ।
पछिल्लो गणनाअनुसार यहाँ १ सय २५ वटा बाघ रहेका छन् । यसबाहेक एकसिंगे गैंडा, चितुवा, घोडेगधा, जरायो, चितुवा, लगुना, बाह्रसिंगालगायत ६१ प्रजातिका स्तनधारी वन्यजन्तु यहाँ देख्न पाइन्छ । जलचरमा घडीयाल गोही, मगर गोही, सोस र विभिन्न प्रजातिका माछा पाइन्छन् । यसैगरी रैथाने र बसाइँ सरी आउने ५ सय १३ प्रजातिका पक्षीको यहाँ अभिलेख छ । यहाँ १ सय २५ जंगली हात्ती रहेको अनुमान गरिएको छ । पर्यटक आगमनका हिसाबले अहिले ज्यादै निराशाजनक अवस्था रहेको पर्यटन व्यवसायी रामजीबाबु थापाले बताए । ‘बाघ हेर्ने मौसममै पर्यटक घट्नु दुर्भाग्यको कुरा हो,’ उनले भने, ‘सरकारले पर्यटक आकर्षित गर्ने खालको प्रचारप्रसार र प्याकेज कार्यक्रम ल्याउन जरुरी छ ।’ गत ६ महिनामा ७ हजार ९ सय ३० आन्तरिक पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गरेको सहायक संरक्षण अधिकृत आशिष न्यौपानेले बताए । यहाँ आउने पर्यटकमा सार्क मुलुकबाट ५ सय ६५ र अन्य वैदेशिक मुलुकबाट २ हजार ८ सय ७३ पर्यटक यहाँ आएका छन् । १ करोड २८ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारामा सानाठूला गरी २८ वटा होटल रहेका छन् । ईकान्तिपुर ।