बेहुला मातेपछि विवाह नै रद्द... - Dastabej

बेहुला मातेपछि विवाह नै रद्द…


  • दस्तावेज

  • फाल्गुन २१, २०७९ (बारा) — घरमा बिहेवारी हुँदा को खुसी हुँदैन र ? त्यस्तै खुसी थिए बाराको कलैया उपमहानगरपालकिा–१० मटिअर्वाको एक परिवार । तर बेहुला लिएर जन्ती जाँदा साथीहरुले मादक पदार्थमा नशालुपदार्थ मिसाएर खुवाइदिएपछि भने विवाह नै रद्द भयो । त्यसपछि भने बेहुलाको परिवार रनभुल्लमा परे । घटना साताअघि फागुन १० बुधबारको हो ।


    प्रतिकात्मक तस्बिर ।
    कलैया उपमहानगरपालिका-१० मटिअर्वा गाउँबाट वीरगन्ज महानगरपालिका–२७ घुर्मी टोलमा जन्ती जाँदासम्मको माहोल निकै रमाइलो थियो । बेहुला, परिवार, आफन्त र गाउँले खुसी थिए । बाजाको तालमा महिला, पुरुष बच्चाहरु सबै रमेका थिए । दसगजामै गाउँ भएकाले वारि र पारिको टोलमा पनि खुसियाली थियो । दिनभर भोजभतेर खाँदै सबै बाजाको तालमा रमेका थिए । तर जब बेलुका बेहुलासहितको टोली विवाहका लागि बेहुलीको घरमा पुग्यो तब भने तनावपूर्ण स्थिति सिर्जना भयो । २२ वर्षीय बेहुला प्रेमचन्द मण्डल नशामा मातिएको देखेपछि बेहुली पक्षले विवाह नै रद्द गर्ने निर्णय गर्‍यो ।

     

    बेहुला सजिएर जाँदा कसैले पनि उनले नशालुपदार्थ सेवन गरेको सुईंको पाएका थिएनन् । तर बेहुलीको घरसम्म पुग्दा उनी नशाले रन्थनिएर अनियिन्त्रित हुने अवस्थामा पुगिसकेका थिए । नशाको सुरमा तथानाम गाली गर्नुका साथै र्‍याल काट्दै मातिएको देखेपछि बेहुली पक्षले कुनै पनि हालतमा विवाह नगर्ने अड्डी कसे ।

    बेहुली पक्षले जन्तीमा गएकाहरुको सत्कार गरेर राति नै फिर्ता गरे पनि बेहुला, उनका परिवार र नजिकका आफन्त र उनीहरु चढेर गएको गाडीलाई नियन्त्रणमा लिएर राखे । त्यसपछि भने सबैको खुसीमा मौनता छायो । एकछिन सबै अलमल्लमा परे । यतिमात्रै नभएर बेहुली पक्षले आफूले विवहाका लागि दिएको दाइजोसहितको खर्च नै फिर्ता मागेपछि बेहुला पक्ष रनभुल्लमा परे ।

    भोलिपल्ट दिउँसो साढे ५ लाख बेहुली पक्षलाई नबुझाएसम्म बेहुलासहित उनको परिवारलाई नियन्त्रणमै राखिएको थियो । वडाध्यक्ष भोलिपल्ट विवाद मिलाउन पुगेका थिए । मटिअर्वाका वडाध्यक्ष मोहम्मद साबिर मियाँ ठकुराईले बेहुली पक्षलाई आफ्नै नामको साढे ४ लाखको चेक र एक लाख नगद दिएपछि भने नियन्त्रणमा परेकाहरु मुक्त गरिए ।

    ‘बन्धक छुटाउन आफ्नो चेक दिएर आफैं झमेलामा परेको छु,’ मटिअर्वाका वडाध्यक्ष ठकुराईले भने, ‘बेहुलालाई नशा गर्ने बानी थिएन तर खुसीमा उनकै साथीले बियरमा कडा नशालुपदार्थ खुवाइदिएछन् ।’ आफ्नै समाजको बेहुला र उनको परिवार बन्धकमा परेपछि आफ्नो नामको चेक दिएर सबैलाई छुटाएको उनले बताए ।

    विवाहका लागि बेहुली पक्षले बेहुला पक्षलाई साढे ५ लाख नगद दाइजो दिएका थिए । ‘दाइजोको साढे ५ लाख नगद, विवाहमा सट्टापट्टा गरिएको बाजा, गाडी, भोजभतेर, गहना, लुगाफाटो सबै गरेर झन्डै १० लाख बेहुला पक्षले खर्चेको थियो । तर विवाह रद्द भएपछि उक्त खर्चिएको रकम तिर्न बेहुलाका बाबु शर्मा मण्डलले खेतबारी बेच्नु परिरहेको वडाध्यक्ष ठकुराईले दाबी गरे ।

    जन्ती, टिकाटाला, कपडालगायतमा भएको सबै खर्च पनि बेहुली पक्षले जोडेर बेहुला पक्षबाट तिर्न लगाएको उनले बताए । ‘मैले नशा प्रयोग गर्ने गरेको थिइन् । बेहुला भएर घरबाट निस्कनुअघि साथीको दबबामा १ गिलास बियरमात्र खाएको थिएँ,’ बेहुलालाई उद्धृत गर्दै परिवारका एक सदस्यले भने, ‘त्यसपछि मलाई के भयो अरु कुरा थाहै भएन ।’

  • २१ फाल्गुन २०७९, आईतवार १५:५८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा