पाल्पा — धार्मिक तथा पुरातात्त्विक महत्त्वको अमरनारायण मन्दिर जीर्णोद्धारमा लापरबाही भएको भन्दै सरोकारवालाले चिन्ता प्रकट गरेका छन् । झन्डै २ सय १६ वर्षअघि विष्णुका भक्त अमरसिंह थापाले काठमाडौंका नेवार कालीगढ झिकाएर पाल्पाको तानसेनमा कलात्मक अमरनारायण मन्दिर बनाएका थिए ।
विगतमा मर्मतसम्भार गर्दा भएका गल्तीले केही समयअघि मन्दिरको बार्दली खसेको थियो । पछिल्लो पटक पुरातत्त्व विभागले तानसेन नगरपालिकाको रेखदेखमा मर्मत गरेको हो । जीर्णोद्धारमा देखिएको लापरबाहीप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् ।
‘टुँडालहरू राख्ने, छाना छाउने र काठका सामग्री बनाउने क्रममा पनि लापरबाही देखिएको छ,’ संस्कृतिविद् राजेन्द्रगोपाल सिंहले भने, ‘मुख्य निर्माण व्यवसायीले काम नगर्ने र पेटी ठेकेदार राखेका कारण काममा लापरबाही बढी देखिएको हो ।’ अमरनारायण मन्दिर सुन्दर बगैंचा र पानीको मुहान नजिकै निर्माण गरिएको छ । मन्दिर पुरानो भएकाले जीर्ण हुने र मर्मत हुने क्रम चलिरहने उनले बताए । पाँच वर्षअघि पनि मर्मतसम्भार भएको थियो । स्थानीय र सरोकारवालाले मर्मतसम्भारमा लापरबाही भएपछि पहिला पनि विरोध जनाएका थिए ।
‘यसअघि पनि मन्दिर जीर्णोद्धारमा लापरबाही भएको थियो,’ उनले भने, ‘यस पटक पनि गल्ती दोहोरिएको छ ।’ केही महिनाअघि मन्दिरको पहिलो तला खसेपछि पुरातत्त्व विभागले मर्मतसम्भार गरिरहेको धार्मिक अगुवा बुद्धिराज नेपालले बताए ।
मन्दिरमा पित्तलको छाना लगाइएको छ । टुँडाललगायत मर्मतसम्भार भइरहेको छ । यहाँ पनि काठमाडौं कीर्तिपुरको उमामहेश्वरको मन्दिरमा जस्तै पेगोडा शैलीको टुँडालको पुछारमा विभिन्न आसनमा कामक्रीडाका चित्र कुँदिएका छन् । तर, मर्मतका क्रममा भने लापरबाही भएको उनले बताए । उनका अनुसार पित्तलको छाना लगाउने, छाना मर्मत र भुँइमा ढुंगा छाप्ने काम भइरहँदा निर्माण व्यवसायीले लापरबाही गरेको मन्दिरका पुजारी फणिन्द्रराज लम्सालले बताए । उनका अनुसार पित्तलको छाना छाउने काम सकिएको छ । टुँडालहरू राखिसकेको छ । ढुंगा छाप्ने काम बाँकी छ । मन्दिर पुनर्निर्माणका क्रममा भएका गल्ती कमजोरी नसुधारीकन निर्माण व्यवसायीले भुक्तानी नपाउने तानसेन नगरपालिकाले जनाएको छ । पुरातत्त्व विभाग, नगरपालिकाको अनुगमन टोलीको प्रतिवेदनपछि मात्र बिल भुक्तानी हुनेछ । ‘तोकिएबमोजिमको काम नसक्दासम्म हामीले अन्तिम भुक्तानी दिँदैनौं,’ तानसेन नगरपालिकाका इन्जिनियर शिव शर्माले भने, ‘अनुगमन समितिको प्रतिवेदन र ठेक्का सम्झौतामा जुन काम तोकिएको छ, त्यो सबै हेरेर मात्र भुक्तानी हुनेछ ।’
काठमाडौं पश्चिममा प्यागोडा शैलीमा यस्ता मन्दिर विरलै निर्माण भएका छन् । पुरातात्त्विक, वास्तुकला र काष्ठकलाले अमरनारायण मन्दिर भरिपूर्ण छ । ऐतिहासिक, सांस्कृतिक र धार्मिक हिसाबले महत्त्वपूर्ण छ । अमरनारायण मन्दिर युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा सूचीकृतका लागि प्रस्तावित सम्पदासमेत हो । मन्दिर जीर्णोद्धारका लागि १ करोड ५ लाख २९ हजार रुपैयाँ रहेको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताए । उनका अनुसार मन्दिरमा छाना छाउने, टायल लगाउने र भाँचिएका तथा टुटफुट भएका संरचनाको पुनर्निर्माणको जिम्मेवारी निर्माण व्यवसायीले पाएको उनले बताए । रत्न निर्माण कम्पनीले काम छिटो सक्ने र काम गर्ने व्यक्तिलाई फरक–फरक व्यक्तिलाई प्रयोग गरेको छ । जसले गर्दा पुरातात्त्विक र मौलिकताअनुरूप निर्माण कार्य नभएको आरोप छ ।
यहाँ प्रयोग गर्न भनी ल्याएका पुराना काठहरू निर्माण कम्पनीले प्रयोग नगरी अन्यत्र प्रयोग गरेको आरोप स्थानीयको छ । कमजोर काठ प्रयोग गरेको, पातला पाता प्रयोग भएको छाना छाएको आरोप छ । ईकान्तिपुर ।