बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क - Dastabej

बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क


  • दस्तावेज

  • फाल्गुन २९, २०७९ काठमाडौँ — बर्दियाको बारबर्दिया–१० जब्दीघाटमा झन्डै ५० मिटर लामो काठेपुल छ । जसलाई पालिकाले ठेक्का लगाएको छ । पुलबाट वारिपारि गर्नेले शुल्क तिर्नुपर्छ । उक्त पुल भएर दैनिक ३/४ सय जना सदरमुकाम गुलरिया आउजाउ गर्छन् ।

    सुनसरीको बराहक्षेत्र–६ श्रीलंका टप्पुका बासिन्दा कोसी तरेर राजाबासतर्फ आउँदै । तस्बिर : प्रदीप, पर्वत र मोहन/कान्तिपुर
    सर्वसाधारण पैदल, मोटरसाइकल, साइकलमा मल, बीउबिजन र व्यापारिक सामान ओसार्छन् । कहिलेकाहीं खच्चडलगायत पार गराउँछन्, त्यसबापत १० देखि ५० रुपैयाँ बुझाउने गरेका छन् ।

     


    बारबर्दिया–१० का सागर जीसी स्थानीय सरकारले सर्वसाधारणका लागि निःशुल्क गर्नुपर्ने घाट पार गर्न कर थोपरेको बताउँछन् । ‘दिनमा एक पटक होइन, दुई–तीन पटक वारिपारि गर्नुपर्छ,’ उनले भने, ‘जति पटक आउजाउ गरे पनि ठेकेदारले पैसा असुल्न छोड्दैनन्, हामी ठूलो मर्कामा परेका छौं ।’ घाट ठेक्का लगाएर पुल बनाउनुपर्ने जिम्मेवारीबाट जनप्रतिनिधिहरू पन्छिएको उनले गुनासो गरे । गुलरिया–१० का शहादत अली सिद्दीकी स्थानीय सरकारले सर्वसाधारणसित यसरी शुल्क असुल्न रोक्नुपर्ने बताउँछन् । ‘हिँड्न बाटो बनाइदिनुपर्नेमा उल्टै असुल्नु अन्याय हो,’ उनले भने । गत असोज २० मा बबईमा आएको बाढीले जब्दीघाटस्थित पुल भासिएपछि बारबर्दिया नगरपालिकाले डुंगा सञ्चालन ठेक्का लगाएको थियो । डुंगा पनि सित्तै थिएन, वारिपारि गर्नेसँग ठेकेदारले भाडा रकम असुल्दै आएका थिए । फागुन पहिलो साता जलस्तर घटेपछि जब्दीघाटमा काठ–बाँसको अस्थायी काठेपुल बनाइएको हो । पुल बनेपछि डुंगा चल्दैन ।

    बारबर्दियाले वार्षिक ५ लाख ५० हजार रुपैयाँमा घाट उत्राही ठेक्का दिएको छ । ठेकेदारले पैदल यात्रुसँग जनही १०, साइकल १०, मोटरसाइकल १५, मल, बीउबिजन प्रतिक्विन्टल १०, व्यापारिक मालसामान १५, घोडा खच्चडको ५०, टाँगाको ३५ रुपैयाँ असुल्दै आएका छन् । बारबर्दिया–६ का निरन्जन थारू भन्छन्, ‘पैदल यात्रुले हरेक पटक १० रुपैयाँ तिर्नुपर्ने हुन्छ । घाट उत्राहीका नाममा जनतासँग पैसा असुल्दा स्थानीय सरकार कसरी जनमुखी भयो ?’ ठेकेदारले खाद्यान्न पनि लिन्छन् । नियमित आउजाउका लागि पुलनजिकका गाउँलेले तिहाइ (खाद्यान्न) दिने गरेका छन् । घाट उत्राही ठेकेदारलाई हिउँदे मौसममा एकै पटक धान या गहुँ २५ किलो प्रत्येक घरबाट दिनुपर्ने हुन्छ ।

     

    बारबर्दिया नगरप्रमुख छविलाल थारूले कुम्राघाट, बैरियाघाट र जब्दीघाटमा घाट उत्राहीको ठेक्का दिइएको बताए । ‘जब्दीघाटमा काठेपुल नगरपालिकाले बनाएको होइन,’ उनले भने, ‘ठेकेदारले घाट उत्राहीको ठेक्का लिएर डुंगा चलाएपछि निजी खर्चमा अस्थायी पुल बनाएको हो ।’ निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनले बनाएको जब्दीघाटको पुल हस्तान्तरण नहुँदै २०७४ साउन २८ मा भासिएको थियो । पुल भासिएपछि साना सवारीसाधन र पैदल यात्रु मात्रै आउजाउ गर्थे । गत असोज २० मा आएको बाढीले भासिएको पुलका केही स्पान बगाएपछि त्यसबाट आउजाउ हुन छाड्यो । ईकान्तिपुर ।

  • २९ फाल्गुन २०७९, सोमबार १४:२१ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा