समाज फेर्न जुटेका बाँकेका मुस्लिम युवा - Dastabej

समाज फेर्न जुटेका बाँकेका मुस्लिम युवा


  • रूपा गहतराज

  • चैत्र १, २०७९ नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिका–३, एक्लैनीकी साहिदा बानो अभियन्ता हुन् । मुस्लिम समुदायकी बानो परिवारबाट विद्रोह गरेर सामाजिक अभियानमा जोडिएपछि अंश पाउनै आफन्तसँग संघर्ष गर्नुपर्‍यो ।

     

    बुवा र आमाको मृत्युपछि ६ जनाको परिवारको नेतृत्व गरिरहेकी ३४ वर्षीया साहिदा कलममार्फत आफ्नो विद्रोह पोख्छिन् । मुस्लिम समुदायभित्रका अन्तरंग उजागर गर्दै आएकी साहिदालाई आफ्नै समुदायले अनेकौं प्रश्न गरे । तर, उनी ती प्रश्नसँग कहिल्यै डराइनन् ।

    धर्मलाई आफूअनुकूल व्याख्या गरिएका कारण मुस्लिम महिलाहरू आफ्नै समुदायभित्र पिल्सिनु परेको उनको तर्क छ । त्यसैले समुदायको उत्थानका लागि त्यस्ता अभ्यासविरुद्ध उनले कडा प्रतिवाद गरिन् । पढेलेखेका छोरी–बुहारीलाई बाहिरको समाजसँग लुकाएर राख्ने मुस्लिम समुदायसँग उनले सधैं प्रश्न गरिन् । ‘कति पढेलेखेका महिलाले जागिर खान पाएका छैनन्,’ मुस्लिम महिलाका अधिकारका विषयमा बारम्बार आवाज उठाइरहेकी साहिदाले भनिन्, ‘महिलाहरू अझै पनि आफ्नो स्वतन्त्रता उपभोग गर्नबाट वञ्चित छन् । महिलाले खुलेर समाज बुझ्न पाएका छैनन् । यसलाई संस्कार मान्न सकिन्न ।’

    धर्म र संस्कारसँग जोडेर मुस्लिम महिलाको क्षमतामाथि शंका गर्ने र अवसरबाट वञ्चित गर्ने काम नरोकिएको उनको बुझाइ छ । ‘बुर्का र पर्दा हाम्रो बाधक होइन, महिलालाई कमजोर सोच्ने मानसिकता मात्रै हाम्रो बाधक हो,’ उनले भनिन् । कुरानले महिला र पुरुषलाई समान अधिकार दिएको उनको भनाइ छ ।

    नेपालगन्जका सोहेब अन्सारी पेसाले व्यवसायी हुन् । फर्निचर उद्योग चलाउने उनले २० जनालाई रोजगारी पनि दिएका छन् । तर व्यवसायसँगै २४ वर्षीय सोहेबले दाइजोविरुद्धको अभियान पनि चलाउँदै आएका छन् । दाइजो प्रथालगायत कुरीतिका कारण मधेशी र मुस्लिम समुदायमा पछि परिरहेका उनको बुझाइ छ । २४ वर्षीय सोहेबले ६ वर्षको उमेरदेखि नै समाजमा रहेका कुरीतिविरुद्ध विद्रोह सुरु गरेका हुन् । व्यवसायमार्फत आत्मनिर्भर हुने र सामाजिक गतिविधिलाई निरन्तरता दिने उनको योजना छ । ‘अहिले दाइजो मागिँदैन । तर केटी पक्षले दिएको दाइजो लिँदैनौं भन्नेचाहिँ कोही भेटिँदैनन्,’ उनले भने । यसरी आफ्नै समुदायविरुद्ध आवाज उठाउन उनलाई सजिलो भने छैन । धेरैले आरोप पनि लगाउँछन् । समाजसँग भिडेका उनी न डराएका छन्, न त थाकेकै छन् । ‘हामीजस्तो युवाका कारण समाज परिवर्तन हुन्छ भने आरोप झेल्न परे तयार छु,’ उनले भने ।

    नेपालगन्जकै २४ वर्षीय साहिल अन्सारी बाल अधिकारकर्मी हुन् । जिल्लाका सामाजिक अभियानमा उनको उपस्थिति अनिवार्य जस्तै छ । उनले सामाजिक मुद्दाहरू उठाउने मात्र नभई त्यसको नेतृत्व पनि गर्छन् । कोभिडको समयमा समुदायमा चेतना फैलाउन होस् या सहयोग जुटाउन, उनी अग्रपंक्तिमा रहे । साहिलले बालविवाह अन्त्य गर्न धर्मगुरुलाई संगठित गर्नुका साथै अभिभावकलाई सचेतना फैलाउने काम गर्छन् ।

    करिब दुई दर्जन बालविवाह रोकेका साहिललाई आफ्नै समुदायभित्र भने निकै संघर्ष गर्नुपर्‍यो । विभिन्न राजनीतिक दलबाट धम्कीसमेत खेप्नुपरेको बताउँछन् उनी । ‘पहिलाभन्दा अवस्था सुध्रेको छ । समाजसँग लड्नुभन्दा आफ्नै समुदायसँग लड्न थप गाह्रो छ, तर असम्भवचाहिँ छैन,’ उनले भने, ‘बिस्तारै परिवर्तन हुन्छ । चुनौतीमा पनि अवसर निर्माण गर्न आवश्यक छ । त्यो मान्छेमा भर पर्छ ।’ पुरुषको तुलनामा मुस्लिम महिला सामाजिक अभियानमा निकै कम छन् । ‘समुदायले बन्देज लगाएको छैन तर हाम्रो मानसिकता महिला बाहिर निस्कनु हुँदैन भन्ने मान्यता कायमै छ,’ साहिलले भने ।

    सामाजिक अभियन्ता अब्दुल करिम पछिल्लो समय मुस्लिम युवाको सक्रियता बढेको भए पनि मधेशी दलितभन्दा पनि मुस्लिम समुदाय अझै चेतनाको स्तरमा पछि रहेको बताउँछन् । ‘समुदायको रूपान्तरणका सबालमा मुस्लिम युवाको सहभागिता आवश्यक छ,’ उनले भने ।ईकान्तिपुर ।

  • १ चैत्र २०७९, बुधबार ११:३६ प्रकाशित

  • Nabintech