चैत्र १८, २०७९ नेपालगन्ज — प्रेम विवाह गरेका पतिले पत्नी र छोरीलाई भारत पुर्याएर होटलमा अलपत्र छाडेपछि जाजरकोटको बारेकोट–७, जुकेनाकी २६ वर्षीया प्रनिशा विश्वकर्मा बेचैन छन् । भारतमा पाएको दुःखकष्ट शब्दमा बयान गर्न सक्दिनन् । ठूलो युद्ध जितेर फर्किएको जस्तो लागेको उनले बताइन् ।
६ वर्षीया अपांगता भएकी छोरीको उपचारको बहाना बनाएर पति कुमार विकले जम्मु कश्मीर पुर्याएका थिए । छोरी जन्मिएको ९ दिनमा निमोनिया भएपछि हातखुट्टा चलेनन् । अहिले उनी घस्रेर हिँड्छिन् ।
गत फागुन ९ गते घरबाट हिँडेका उनीहरू सदरमुकाम आएर फुपूको घरमा बसेका थिए । फागुन १८ गते नेपालगन्जबाट हिँडेका उनीहरूलाई तीन दिनमा जम्मु कश्मीर पुर्याइएको थियो । फागुन २७ गते बजारतिर गएर आउँछु भन्दै कुमारले आमाछोरीलाई होटलमा छाडेर हिँडेका थिए । बिरानो ठाउँमा चिनजानका कोही थिएनन् ।
होटल मालिकले पैसा नदिएको भन्दै प्रनिशाको मोबाइल खोसेर राखेका थिए । त्यसपछि प्रनिशा नेपालीको सहयोगमा भारतीय प्रहरीसँग पुगिन् । भारतीय प्रहरीले नेपालको संस्थालाई खबर गरिदियो । नेपालका संस्थाको सहयोगमा चैत २ गते प्रनिशा र उनकी छोरीलाई नेपालगन्ज ल्याइएको हो ।
१२ कक्षामा पढ्दै गरेकी प्रनिशाको जाजरकोटका कुमारसित ९ वर्षअघि बिहे भएको थियो । बिहेपछि अभाव र दुःखमा पनि खुसीका साथ बसेका थिए । कुमार नेपालगन्ज–काठमाडौं गाडी चलाउँथे । प्रनिशा छोरी हुर्काउँदै घर चलाउने काम गर्थिन् ।
कुमारले प्रनिशालाई दिएको धोका यो पहिलो भने थिएन । एक वर्षअघि छोरीकै उपचारका लागि भनेर सिमलामा रहेका सासू–ससुराले नातिनीलाई उपचारका लागि ल्याउनु भनेपछि प्रनिशा त्यतिबेला सिमला गएकी थिइन् । यसैबीच कुमार अर्की महिलाको प्रेममा परे । नेपाल छु भन्दै परिवारलाई ढाँटे । बहुविवाहको मुद्दा हाल्छु भनेपछि कुमार कान्छी श्रीमतीलाई लिएर सिमला पुगे ।
लद्दाखमा एक वर्षदेखि लुकेर बसेका उनले अर्की महिलासँग सम्बन्ध नराख्ने भन्दै अबदेखि यो गल्ती नदोहोर्याउने बताउँदै प्रनिशा र छोरीलाई लिएर जाजरकोट फर्किएका थिए । ‘छोरीको अवस्थाका अगाडि पतिको सबै धोकालाई माफ गरेर मुद्दा मामिला गरिनँ । माइतीले पनि छोरीको मुख हेर भन्दै सम्झाए,’ प्रनिशाले भनिन्, ‘त्यही प्रेमको बदलामा अहिले धोका पाएँ । आफ्नै पतिले पत्नी र छोरीलाई बेच्नका लागि भारत पुर्यायो । ममाथि अन्याय भयो ।’
आफैं मन पराएर प्रेम विवाह गरेका कुमारले आफूलाई यतिसम्म गर्लान् भन्ने प्रनिशाले कल्पनासमेत गरेकी थिइनन् । छोरीसँग नेपालगन्जस्थित एक सेल्टरमा बसिरहेकी प्रनिशासँग जीवन चनाउने माध्यम केही छैन । अपांगता भएकी छोरी भएकाले काम गर्नसमेत पाएकी छैनन् । खुवाउनेदेखि दिसापिसाब गराउनुपर्छ । एकछिन छोड्न मिल्दैन । ‘पैसा नभएर उपचार पनि गराउन सकेकी छैन,’ उनले भनिन्, ‘छोरीको उपचारका लागि भन्दै कहाँ–कहाँ गएँ । आफैंले पाएको छोरीलाई बोझ कसरी सम्झूँ ?’
प्रनिशाका पति कुमार अहिले फरार छन् । प्रनिशाले संस्थाको सहयोगमा उनीमाथि मानव बेचबिखन मुद्दा दर्ता गरेकी छन् । ‘बाँचेर पनि आफ्नो नभएको पतिले यतिका गर्दासम्म सहन सकिनँ । मलाई न्याय चाहियो,’ उनले भनिन्, ‘उसलाई यो अपांगता भएकी छोरी भार भइन् । बरु छोरीलाई आफैं दुःख गरेर हुर्काउँछु । अन्याय सहँदिनँ । मेरो जीवन बर्बाद गर्नेविरुद्ध कानुनी लडाइँ लड्छु ।’ ईकान्तिपुर ।