पछिल्ला तीन महिनामा नेपाल प्रमुख अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न व्यस्त रह्यो । विश्वकप क्रिकेट लिग–२ मा नामिबिया र स्कटल्यान्ड तथा यूएई र पपुवा न्युगिनीसँगको खेल आयोजना गरेको नेपालले गत साता एसीसी प्रिमियर कप प्रतियोगिता नै सफलतापूर्वक सम्पन्न गर्यो ।एसिया कपको छनोटको आधार रहेको प्रिमियर कप एसियाली क्रिकेट परिषद् (एसीसी) ले आयोजना गरेको थियो भने १० राष्ट्र सहभागी यो प्रतियोगितामा नेपाल त्यसको आयोजक राष्ट्र थियो ।
प्रिमियर कपमार्फत २५ वर्षपछि नेपालमा एसीसीको राष्ट्रिय टोलीले खेल्ने एकदिवसीय क्रिकेट प्रतियोगिता फर्किएको थियो ।
सन् १९९८ मा एसीसी ट्रफीको आतिथ्यता नेपालले गरेको थियो । प्रतियोगिताको यो दोस्रो संस्करण थियो भने नेपालले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता ।
त्यसयता एसीसीले आयोजना गर्ने राष्ट्रिय टोलीको एकदिवसीय प्रतियोगिता नेपालले आयोजना गर्न सकेको थिएन । एसीसी ट्रफीको महत्त्व अहिलेको प्रिमियर कपको जस्तै थियो, विजेताले एसिया कपमा प्रवेश पाउँथ्यो । एसीसी ट्रफीको फेरिएको स्वरूप हो प्रिमियर कप ।
टेस्ट क्रिकेटका लागि दाबी गरिरहेको बंगलादेशले २५ वर्षअघि नवनिर्मित त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियालाई एसीसी ट्रफीको फाइनलमा ८ विकेटले पराजित गरी एसिया कपका लागि छनोट भएको थियो । २५ वर्षपछि एसिया कपमा छनोट हुने पालो नेपालको आयो । फाइनलमा यूएईमाथि ७ विकेटको जित हात पारी नेपालले पहिलो पटक एसिया कप खेल्ने तय गर्यो ।
तर यो बीचमा कीर्तिपुर मैदानमा उल्लेखनीय सुधार भएको छैन । लगभग साढे दुई दशक अगाडिको पूर्वाधारमै नेपाली क्रिकेट अहिले पनि थेगिएको छ ।
जसका कारण नजिकको अभिभावक संस्था एसीसीको प्रतियोगिता नेपाल आउन यत्रो समय कुर्नु पर्यो । विश्व क्रिकेटको सर्वोच्च संस्था (आईसीसी) ले नेपालमा २०१० मा विश्व क्रिकेट लिग डिभिजन–५ आयोजना गर्यो । त्यसबाहेक दुई देशबीच वा त्रिकोणात्मक शृंखलामात्र नेपालको आयोजनाको पाटोमा पर्यो ।मूलपानी क्रिकेट मैदान खेल्न योग्य बनाएपछि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न ढोका खुलेको क्यान अध्यक्ष चतुरबहादुर चन्द बताउँछन् ।
‘अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न हाम्रो सबैभन्दा ठूलो समस्या भनेकै मैदान हो । एसीसीले प्रिमियर कपका लागि तीन मैदान चाहिने भनेको थियो । हामीले दुईवटामा कुरा राख्यौं । मूलपानी क्रिकेट मैदानलाई निर्धारित समयमै तयार गर्छौं भनेर प्रतिबद्धता जनाएपछि एसीसीको टोली काठमाडौं आएर प्रिमियर कप नेपाललाई आयोजना गर्न दिने निर्णय गरेर गएको थियो,’ चन्दले भने ।