जेष्ठ ३, २०८० काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार रातिदेखि मौसममा सुधार हुने जनाएको छ । उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा अहिले वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनले रातिदेखि मौसममा क्रमिक सुधार हुने बताइन् । उनका अनुसार काठमाडौं उपत्यकामा डेढदेखि दुई घन्टापछि मौसम सफा हुने बताइन् ।
यस्तै पछिल्लो ६ घन्टायता उपत्यकाको भक्तपुरमा धेरै वर्षा मापन भएको छ । नगरकोटमा रहेको मापन केन्द्रले ५०.४ एमएम वर्षा रेकर्ड गरेको उनले बताइन् ।
यस्तै काठमाडौं विमानस्थलामा १८.२ एमएम वर्षा मापन भएको छ । मेघगर्जन तथा चट्याङका घटनाहरू भएपछि केही बेर विमानहरूलाई काठमाडौंबाट डाइभर्ट गरिएको थियो ।
स्थानी र पश्चिमी वायुको प्रभावले गण्डकी र वाग्मती प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ । मौसमविद् महर्जनका अनुसार ती स्थानका धेरैजसो पहाडी क्षेत्रमा वर्षा भइरहेको हो । अन्य प्रदेशहरूमा हल्का तथा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।