किशोरी सशक्तीकरण र मूल प्रवाहीकरणमा समर्पित जेम्स क्लब

काठमाडौँ ।  आजको युगमा पनि कक्षा १० पुग्दासमेत ल्यापटप खोल्ने आँट आउँदैन । अन्य डिजिटल साक्षरता त परको कुरा, कम्प्युटरबारे सामान्य ज्ञान पनि हुँदैन । गाउँघरमा पनि सामाजिक व्यवहार सोचेजस्तो सजिलो छैन । छोरी शिक्षाका लागि अलि उदार हुँदै गइरहेको समाज अझै छोरीहरूको प्रविधिमा पहुँचप्रति अन्योलमा छन् । दाइजो प्रथा, बालविवाहजस्ता सामाजिक मूल्य मान्यताहरू अझै चुनौतीको रूपमा रहेका छन् ।

यी कुराहरू सुनाउँदै गर्दा दीपा खड्काको अनुहारमा कुनै खुसी थिएन । दीपा अर्थात्, शहीद सामुदायिक सिकाइ केन्द्र, रामघाट सुर्खेतमा सञ्चालित जेम्स क्लबकी पीजीएल (पिएर ग्रूप लिडर) । उनी भन्छिन्, ‘हामीलाई ल्यापटप खोल्न आउँथेन । ल्यापटप खोल्दा केही बिग्रिहाल्छ कि जस्तो लाग्थ्यो । सामाजिक रूपमा पनि गाउँमा अन्धविश्वास र विभेदहरू धेरै हुन्थे । छोरीले भन्दा छोराले ल्यापटप, मोबाइल र प्रविधि राम्ररी चलाउन जान्दछन् भन्ने सोच अझै पनि छ । यस्ता सोचहरू सुन्दै, भोग्दै आएकाले म पनि गर्न सक्छु भन्ने आत्मविश्वास नै थिएन । साथै, अंग्रेजी भाषा नजान्दा धेरै नै पछाडि परिरहेको महसुस हुन्थ्यो । सम्झँदा पनि पीडा हुन्छ ।’

Advertisement

तर, दीपाका लागि ती अँध्यारा दिन धेरै समयसम्म रहेनन् । उनको अगाडि उज्यालोको दियो बोकेर आयो, जेम्स क्लब । जेम्स क्लब भीएसओ नेपाल, ब्रिटिस काउन्सिल र आसमान नेपाल र अन्य विभिन्न संस्थाहरूसँगको सहकार्यमा सञ्चालित किशोरी सशक्तीकरण तथा दिगो मूल प्रवाहीकरण (जेम्स) परियोजनाअन्तर्गत ग्रामीण किशोरीलक्षित क्लब हो । यही क्लबमा आबद्ध दीपाले अंग्रेजी भाषा, डिजिटल र विभिन्न सामाजिक ज्ञान सीप हासिल गर्ने अवसर पाएकी छिन् ।

पहिले ल्यापटप खोल्नसमेत नआउने उनलाई अहिले आफ्नो इमेल चलाउन, ड्रोइङ, पावरप्वाइन्ट, माइक्रोसफ्ट वर्ड, एक्सलहरू सहजै चलाउन आउँछ । त्यस्तै, क्लबमार्फत दीपाले सामाजिक सीपहरूअन्तर्गत समाजमा भएका विकृतिहरू र लैंगिक विभेदका घटनाजस्ता सामाजिक कुरीतिको अन्त्य कसरी गर्ने ? यी कुरा किन गलत छन् ? दाइजो प्रथाको अन्त्य कसरी गर्नेजस्ता प्रश्नहरूको उत्तर र समाधानका उपायहरूका बारेमा सिक्ने अवसर पाइरहेकी छन् । यसका साथै हिंसा र दुर्व्यवहारको रोकथाम, अनलाइन सुरक्षालगायतका कुराहरू पनि सिक्ने अवसर पाएको उनले बताइन् ।

‘हामी यहाँ पाँच जना पीजीएल छौँ । पहिले हामीले तालिम लिएर यहाँ (क्लबमा) अरुलाई सिकाउने हो,’ दीपाले अनुभव सुनाइन्, ‘तालिममा हामीले केही कुरा सिक्छौँ, त्यहाँ गुड टच, ब्याड टचहरूका बारेमा सिक्छौँ । क्लबलाई कसरी राम्रो बनाउने, क्लब मेम्बरलाई कसरी चुस्त बनाउने, क्लबमा कसरी आकर्षण बढाउन सकिन्छ ? जस्ता कुराहरू सिकेर आउँछौँ । त्यही कुरा यहाँ सिकाइ केन्द्रमा आएर कार्यान्वयन गर्ने हो ।’

दीपाले अब आफूले गुड टच र ब्याड टच के हो भनेर थाहा पाउन सक्छिन् । यदि स्कुल वा समाजमा अन्य जोकसैले टच गर्दा ब्याड टच गरेको महसुस भयो भने तुरुन्तै प्रतिकार गर्ने हिम्मत उनमा छ । त्यस्तै, उनीहरूले क्लबमार्फत सिकेका कुराहरू गाउँघरमा गएर परिवारका सदस्य वा नजिकका साथीसङ्गी र आफन्तलाई सुनाउने पनि गर्छन् । यसले सिङ्गो गाउँवासीसमेत यस्ता सामाजिक कुरीतिको विषयमा साक्षर बन्दै गएका छन् ।

यसरी किशोरीहरू हरेक शनिबार क्लबमा भेला भई सिक्ने/सिकाउने काममा तल्लीन हुन्छन् । सो समूहमा पाँच जना पीजीएल छन् । यी पीजीएलले किशोरीहरूलाई विभिन्न समूहमा विभाजन गरी विविध विषयमा छलफल गर्ने र नयाँ कुरा सिक्ने गर्छन् । दीपाका अनुसार एक जना पीजीएलले दुवै ग्रुपमा सहयोग गर्छन् । सुर्खेतको यो सामुदायिक सिकाइ केन्द्रमा बिहान ८ देखि ११ बजेसम्म एउटा समूह भेला भएको हुन्छ । त्यस्तै, दिउँसो १२ बजेदेखि ३ बजेसम्म अर्को समूहको कक्षा सञ्चालन हुन्छ ।

आफ्नो जिम्मेवारी बारे बोल्दै गर्दा बेलाबेला दीपा विगत सम्झिन्छिन् । कक्षामा सरले पढाएको समयमा प्रतिप्रश्न गर्नसम्म नसकेको अनुभव उनमा छ । आफूलाई केही नआएमा वा नबुझेमा बुझेनौँ भनेर आफ्नै शिक्षकलाई प्रश्न सोध्ने हिम्मत उनीहरूमा थिएन । तर, अहिले प्रत्यक्ष प्रश्नोत्तर गर्ने गरेको उनी बताउँछिन् । कम्तीमा कक्षामा निर्धक्क बोल्न पनि जेम्स क्लबले ठूलै सहयोग पुर्‍याएको अनुभव उनमा छ ।

यसरी पीजीएलले जेम्स क्लबहरू स्थानीय तहमा चलाए पनि यसभन्दा माथि सामुदायिक सिकाइ केन्द्रकी संयोजकको भूमिका हुन्छ, जसले यसरी सक्रिय बालबालिकालाई मार्गदर्शन गर्ने काम गर्छ । उदाहरणका लागि हामीले सुर्खेतकी भावना सुनारलाई हेर्न सक्छौँ । उनी भीएसओ नेपाल र ब्रिटिस काउन्सिलको सहयोगमा आसमान नेपालद्वारा सञ्चालित जेम्स परियोजनामा सामुदायिक सिकाइ केन्द्र संयोजकको रूपमा सक्रिय छिन् ।

भावनाको कार्यक्षेत्र गुर्बाकोट नगरपालिकामा रहेका चारवटा सामुदायिक सिकाइ केन्द्र र लेकबेँसी नगरपालिकामा रहेको एउटा सिकाइ केन्द्र हो । उनका अनुसार स्थानीय तहको समन्वयमा सोही क्षेत्रमा रहेका सामुदायिक विद्यालयका छात्राहरूलाई छनोट गरेर जेम्स क्लब सञ्चालन भइरहेको छ, जसमा चार जना पीजीएल र एक जना विकल्पमा राखिएका पीजीएल छन् । त्यसबाहेक २४ जना क्लबका सदस्यको रूपमा अनुबन्ध छन् ।

‘प्राय:जसो विद्यालयमा ३० जना बहिनीहरू हुनुहुन्छ भने कतिपयमा २८ जना बहिनीहरू हुनुहुन्छ । हुनुपर्नेचाहिँ २८ जना हो,’ भावनाले भनिन्, ‘यसमा अंग्रेजी, डिजिटल र सोसल सीपहरू सिक्ने सिकाउने काम गरिन्छ । डिजिटल सीपमा पावरप्वाइन्ट प्रिजेन्टेसन, वर्ड, एक्सल र सामाजिक सञ्जाल कसरी सुरक्षित भएर चलाउनेजस्ता आधारभूत आवश्यकताको कुरा सिकाइन्छ । जबकि यस क्लबमा छिर्नुअघि अधिकांशलाई ल्यापटप अन अफ गर्ने तरिकाबारे समेत थाहा थिएन ।’

त्यस्तै, समुदायमा भएका गतिविधि, महिनावारी, बालविवाह, बाल संरक्षण, दुर्व्यवहार, शिक्षा आदिबारे विभिन्न जानकारी दिइन्छ । यसरी विद्यार्थीहरूलाई सामूहिक सिकाइ गराउनमा यस्ता क्लबको अमूल्य भूमिका त छँदै छ, सबैभन्दा महत्त्वपूर्ण कुरा यसले गरिब र विपन्न परिवारका बालबालिकाको सवाललाई विशेष ध्यान दिन्छ । क्लबका सदस्यहरू छनोट गर्दा पनि यसरी पछाडि पारिएका वर्ग र समुदायका बालबालिकालाई नै मुख्य प्राथमिकता दिने गरिन्छ । हाल भावनाले मार्गदर्शन गरिरहेको सामुदायिक सिकाइ केन्द्रमा पनि विद्यालयमा रहेका गरिब, विपन्न, पिछडिएका समुदायका बालबालिका छनोट गरेर पीजीएलको रूपमा राखिएको छ ।

विद्यालयका शिक्षक र अभिभावकहरूले पनि क्लबमा आबद्ध किशोरीहरूमा सकारात्मक परिवर्तन आएको महसुस गरेका छन् । उनीहरूको पढ्ने बानीमा परिवर्तन आएको छ । त्यति मात्र नभएर उनीहरूले आफ्ना साथीहरूलाई पनि आफूले क्लबमा सिकेका कुराहरू सिकाउने गरेको भावना बताउँछिन् ।

यसअघि ठूली दिदी (बिग सिस्टरको) को रूपमा पनि क्रियाशील भावनाले पहिले जेम्स क्लब (तत्कालीन एज क्लब) मा पीजीएलको रूपमा पनि काम गरिन् । यसरी क्लबको पीजीएलहुँदै अहिले सामुदायिक सिकाइ केन्द्रको संयोजकको भूमिकासम्म आइपुग्दा क्लबको सिकाइ र अनुभवले महत्त्वपूर्ण भूमिका खेलेको भावना बताउँछिन् ।

सुरुमा यस्ता सामाजिक कार्यमा उनी आफैँ खुलेर बोल्न नसक्ने, डराउने अनुभव उनमा छ । कतै गएर केही कुरा राख्नुपर्दा सबैभन्दा डर उनमा हुन्थ्यो । तर, अहिले भावना आफ्नो क्षेत्रमा एक सामाजिक कार्यमा समर्पित सक्रिय युवाको रूपमा परिचित छिन् । आफूमा आएको परिवर्तन अरुमा पनि ल्याउन रातदिन सक्रिय छिन्, उनी ।

तर यसरी अरु किशोरीहरूलाई पनि सशक्तीकरण गर्ने अभियान सुरु गर्दा संघर्षका अनेकौँ चुनौती र भोगाइहरूको भावनाले सामना गरेकी छन् । जस्तो; सुरुमा तालिममा किशोरीहरूलाई आबद्ध गराउन खोज्दा अभिभावकलाई बुझाउन नै कठिन भएको थियो । विश्वास पनि थिएन ।

‘को आयो, मेरो छोरीलाई लग्यो भन्ने शंका गर्नुहुन्थ्यो । अहिलेचाहिँ धेरैले बुझ्नुभएको छ । सामाजिक सोचमै उल्लेख्य परिवर्तन आएको छ । आफूले डरलाग्दो जंगलको लामो बाटो हिँड्दै गाउँगाउँ गएर विषयवस्तुबारे बुझाउन गरेको मिहिनेतले सार्थकता पाएको छ । खुसी लाग्छ,’ उनले भनिन् ।

यसैगरी, मधेश प्रदेशको बारामा सामुदायिक सहजकर्ताको रूपमा क्रियाशील निशा ठाकुरको कथा पनि उस्तै छ । उनी पनि जेम्स परियोजनामा सामुदायिक सिकाइ केन्द्रको संयोजकका रूपमै क्रियाशील छिन् । शिक्षा र स्वास्थ्य क्षेत्रका विविध विषयमा सामाजिक सचेतना फैलाउने काम गर्छिन् उनी ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको अंग्रेजी कमजोर हुने मुख्य समस्या गाउँमा रहेको निशाको बुझाइ छ । त्यसैले जेम्स क्लबमा विद्यार्थीलाई जोडेर अंग्रेजी भाषाको सीपसहित सामाजिक सीपलगायतका ज्ञान सिकाइन्छ । अंग्रेजीमा आधारभूत ज्ञानकै अभाव रहेको निशा बताउँछिन् । तर, अहिले जेम्स क्लब सञ्चालन भएपछि किशोरीहरूले यस्ता विषयमा सीप हासिल गर्दै आफूलाई सबल बनाउने अवसर पाएको उनको दाबी छ ।

अंग्रेजी भाषाको सीपसँगै डिजिटल स्किलसमेत सिक्न पाएका तराईका ग्रामीण किशोरीहरूले विभिन्न सामाजिक विषयमा पनि सचेत बन्ने मौका पाएका छन् । ‘हाम्रो भेगमा मानिसहरू छोरा र छोरीबीचमै पनि भेदभाव गर्छन् । लैंगिक विभेद एकदमै धेरै छ । दाइजो प्रथा उस्तै छ । यस्ता सामाजिक समस्या न्यूनीकरणका लागि सामुदायिक सिकाइ केन्द्रमार्फत किशोरी र तिनका अभिभावकहरूलाई सचेत र सशक्त बनाउने काम गरिरहेका छौँ ।’

उनले भनिन्, ‘यसरी एक जना किशोरीमार्फत उसको परिवारहुँदै समुदायलाई सचेत बनाउन सकिन्छ भन्ने सोचले नै जेम्स क्लबको अवधारणा आएको हो ।’

जेम्स क्लबका साथै स्वास्थ्य सहजकर्ताको जिम्मेवारी पनि निभाइरहेकी निशाले सार्वजनिक स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच स्थापित गर्न अथक प्रयास गरिरहेकी छिन् । बाराको कलैया उपमहानगरपालिका– २० स्थित बसतपुर स्वास्थ्य चौकीमा देखिएको परिवर्तन उनको सक्रियता र संघर्षको ज्वलन्त उदाहरण हो । बसतपुर स्वास्थ्य चौकीमा पहिले स्वास्थ्य चौकी व्यवस्थापन समिति निष्क्रिय अवस्थामा थियो । स्वास्थ्य चौकीमा आवश्यक औषधिलगायतका अन्य सामग्रीहरूको प्रबन्ध नहुँदा सेवाग्राहीहरू प्रत्यक्ष मारमा परेका थिए ।

तर, अहिले बसतपुर स्वास्थ्य चौकीमा स्वास्थ्य चौकी व्यवस्थापन समिति गठन, सेवा प्रवाहलाई नागरिकमुखी बनाउन नियमित बैठक बस्ने र ठोस कार्ययोजना नै तय गरी कार्यान्वयन गर्ने अभ्यास सुरु भएको स्वास्थ्य चौकीका वरिष्ठ अहेव राधेश्यामप्रसाद गुप्ता बताउँछन् ।

‘कुनै समय यस्तो पनि थियो, सेवाग्राहीहरू सिटामोल नपाएर रित्तै फर्किनुपर्थ्यो । तर, अहिले स्वास्थ्य व्यवस्थापन समिति बनेपछि धेरै समस्याहरू हल भएका छन् । हरेक बैठकमा स्वास्थ्य चौकीका समस्या र त्यसको समाधानका बारेमा छलफल हुन्छ र कार्ययोजना नै बनाएर समस्या समाधान हुने गरेको छ,’ गुप्ताले सुनाए ।

बसतपुर स्वास्थ्य चौकीमा आएको परिवर्तनले निशालाई आफूले गरिरहेको कर्मप्रति गर्व महसुस हुन्छ । उनले स्वास्थ्य चौकीअन्तर्गत समुदायस्तरमा हुने गरेका विभिन्न कार्यक्रमहरू जस्तै; खोप कार्यक्रम र विभिन्न सचेतना विस्तारका क्रियाकलापहरूमा नियमित सहभागी भई सहजीकरणको काम समेत गर्दै आएकी छिन् । यसरी स्वयंसेवीका रूपमा सक्रिय बन्ने क्रममा आफूले पनि धेरै ज्ञान हासिल गर्ने अवसर पाएको उनी बताउँछिन् । ‘म स्वयम्‌ले पनि खोप, परिवार नियोजन, महिनावारीमा ख्याल गर्नुपर्ने स्वास्थ्य, ज्ञानका कुराहरू परियोजनामा आबद्ध भएपछि मात्रै बुझ्ने मौका पाएँ । र, त्यही ज्ञान अहिले मैले अरुलाई बाँडिरहेकी छु ।’शिलापत्र

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु