राष्ट्रसङ्घीय प्यालेस्टिनी शरणार्थी निकायमाथि इजरेलको प्रतिबन्ध, गाजामा कस्तो असर पर्ला

बीबीसी- इजरेलको संसद्‌ले एउटा कानुन पारित गर्दै प्यालेस्टिनी शरणार्थीसम्बन्धी मामिला हेर्ने संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्ल्यूएलाई इजरेलभित्र र इजरेल अधीनस्थ पूर्वी जेरुसलेममा तीन महिनाभित्र काम गर्न बन्द गर्न भनेको छ।

उक्त कानुनले यूएनआरडब्ल्यूएका कर्मचारी र इजरेली अधिकारीबीच हुने सम्पर्कमा पनि रोक लगाउने छ। त्यसबाट सो निकायको गाजा र इजरेलको अधीनमा रहेको वेस्ट ब्याङ्कमा काम गर्न सक्ने क्षमता निकै खुम्चिने छ।

Advertisement

गाजा प्रवेश गर्ने सबै नाकाहरू इजरेली सेनाको नियन्त्रणमा छन्। यूएनआरडब्ल्यूएका लागि इजरेलसँगको सहकार्य उक्त युद्धग्रस्त भूभागमा सहायता सामग्री पठाउन अनिवार्य छ।

यो निर्णयका कारण इजरेलमा कार्यरत यूएनआरडब्ल्यूएका कर्मचारीले इजरेली भूमिमा कुनै पनि कानुनी उन्मुक्ति पाउने छैनन्। पूर्वी जेरुसलेममा रहेको सो निकायको मुख्यालय पनि बन्द हुने छ।

इजरेलको संसद्ले सोमवार साँझ दुवै कानुनलाई अत्यधिक बहुमतले अनुमोदन गरेको हो।

प्रतिक्रिया कस्तो
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले उक्त कानुनको कार्यान्वयनका कारण इजरेल-प्यालेस्टाइन द्वन्द्व समाधान गर्ने प्रयास तथा उक्त समग्र क्षेत्रको शान्ति र सुरक्षाका लागि नकारात्मक असर पुग्ने बताए। यूएनआरडब्ल्यूएका प्रमुख फिलिपे लाज्जारिनीले त्यसले प्यालेस्टिनीहरूको पीडालाई थप गहिरो बनाउने टिप्पणी गरे।

संयुक्त राज्य अमेरिका, ब्रिटेन र जर्मनीसहित कैयौँ देशहरूले उक्त कदमलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

ब्रिटेनका विदेशमन्त्री डेभिड ल्यामीले सो निर्णय ‘पूर्ण रूपमा गलत’ भएको बताए। प्रधानमन्त्री सर किअर स्टार्मरले उक्त कानुनले यूएनआरडब्ल्यूएको “प्यालेस्टिनीहरूका लागि अत्यावश्यक काम असम्भव बनाउने” भन्दै त्यसले गाजामा मानवीय सहायताको सम्पूर्ण अन्तर्राष्ट्रिय प्रतिक्रियालाई विफल पार्ने बताए।

अमेरिकी विदेश मन्त्रालयले उक्त राष्ट्रसङ्घीय निकायले गाजा स्ट्रिपमा मानवीय सहायता वितरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाएको छ। उक्त क्षेत्रमा बसोबास गर्ने २० लाखभन्दा बढी मानिसहरू सो निकायको सहयोग र सहायतामा निर्भर छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले “इजरेलविरूद्धको आतङ्कवादी गतिविधिमा संलग्न रहेका यूएनआरडब्ल्यूएका कामदारलाई उत्तरदायी बनाइनुपर्ने” बताए। तर गाजामा निरन्तर मानवीय सहयोग उपलब्ध भइरहनुपर्ने उनको भनाइ छ।

“इजरेलको सुरक्षामा जोखिम नपुग्ने हिसाबले गाजामा रहेका सर्वसाधारणहरूलाई मानवीय सहयोग सहजीकरण सुनिश्चित गर्न हामी हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्न तयार छौँ,” सामाजिक सञ्जाल ‘एक्स’मा उनले लेखेका छन्।

इजरेल के भन्छ

इजरेलले दशकौँदेखि यूएनआरडब्ल्यूएप्रति विमति जनाउँदै आएको छ। केही वर्षयता इजरेलले उक्त निकायको चर्को विरोध गर्दै आएको छ।

इजरेलले यूएनआरडब्ल्यूएका कर्मचारीहरूले गाजामा हमाससँग साठगाँठ गरेको आरोप लगाएको छ। गत वर्ष अक्टोबर ७ मा भएको हमलामा यूएनआरडब्ल्यूएका कर्मचारीहरू पनि सहभागी भएको उसको दाबी छ।

इजरेलको दाबीमाथि अनुसन्धान गरेको संयुक्त राष्ट्रसङ्घले नौ आरोपितहरूलाई बर्खास्त गरेको थियो। तर राष्ट्रसङ्घले ती बृहत् आरोपबारे इजरेलले कुनै प्रमाण नदिएको उल्लेख गरेको थियो। यूएनआरडब्ल्यूएले आफ्नो निकायलाई काम गर्न सहज बनाउनका लागि हमाससँग सम्बन्ध राख्नु अनिवार्य रहेको जनाएको छ।

उक्त कानुन संसद्‌मा प्रस्तुत गर्दै इजरेली संसद् ‘क्नेसेट’का विदेश सम्बन्ध र सुरक्षा समितिका अध्यक्ष युली एडेलस्टिनले “आतङ्कवादी गतिविधि ढाकछोप” गर्न यूएनआरडब्ल्यूए प्रयोग भएको बताए।

“उक्त आतङ्कवादी सङ्गठन (हमास) र यूएनआरडब्ल्यूएबीच गहिरो सम्बन्ध छ र इजरेलले त्यसलाई स्वीकार्न सक्दैन।”

यूएन रिलीफ एन्ड वर्क्स एजेन्सी फर प्यालेस्टाइन रेफ्युजी भनिने उक्त निकायले दशकौँदेखि स्वास्थ्य सेवा र शिक्षासहित विभिन्न सेवाहरू लाखौँ प्यालेस्टिनीहरूलाई उपलब्ध गराउँदै आएको छ।

गत वर्ष युद्ध सुरु भएपछि उक्त निकायको सो स्थानमा रहेको उपस्थितिले सर्वसाधारणलाई मानवीय सहयोग पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो।

यूएनआरडब्ल्यूए के भन्छ
यूएनआरडब्ल्यूएका कमिश्नर जनरल फिलिपे लाज्जारिनितस्बिर स्रोत,REUTERS
तस्बिरको क्याप्शन,यूएनआरडब्ल्यूएका कमिश्नर जनरल फिलिपे लाज्जारिनि
यूएनआरडब्ल्यूएका आयुक्त जेनरल फिलिपे लाज्जारिनिले उक्त प्रतिबन्धको निन्दा गर्दै त्यसले राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनले भनेको दायित्व इजरेलले उल्लङ्घन गरेको बताए।

गाजामा रहेका मानिसहरूले भोगेको स्थितिलाई “गोलाबारीको नर्क”को सङ्ज्ञा दिँदै उनले त्यहाँका ६.५ लाख बालबालिका शिक्षाबाट वञ्चित हुने र एउटा पूरै पुस्ता जोखिममा धकेलिने बताए।

पूर्वी जेरुसलेम र गाजा स्ट्रिपसहित इजरेल अधीनस्थ वेस्ट ब्याङ्कमा करिब २५ लाख प्यालेस्टिनीहरू यूएनआरडब्ल्यूएमा दर्ता भएका छन्।

उत्तरी गाजामा इजरेली फौजले सैन्य कारबाही जारी राख्दा लाखौँ मानिसहरू प्रभावित भएका छन्। धेरै प्यालेस्टिनीहरू इजरेली सेनाले गाजाको उत्तरमा “आत्मसमर्पण वा भोकभकै पार्ने” योजना कार्यान्वयन गरिरहेको ठान्छन्।

त्यस्तो कदमले त्यहाँ रहेको ठानिएका लगभग चार लाख सर्वसाधारणलाई दक्षिणतिर विस्थापित गराउने र हमास लडाकुलाई नियन्त्रणमा लिन सकिने योजना रहेको भनिन्छ। तर इजरेली सेनाले कुनै त्यस्तो योजना नरहेको र आफूले गैरसैनिक मानिसलाई खतराबाट टाढै राख्न खोजेको बताइरहेको छ।

अक्टोबर ७ मा हमासले इजरेलमा गरेको आक्रमणमा झन्डै १,२०० जनाको ज्यान गएको थियो। उक्त दिन हमास समूहले इजरेलबाट २५१ जना बन्धकलाई बनाएर लगेको थियो। त्यसको जबाफ दिन इजरेले गाजामा सैन्य कारबाही थाल्यो।

त्यसयता गाजामा ४२,७१० भन्दा बढीको ज्यान गएको हमासले सञ्चालन गरिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु