कोहलपुर–१३ भरैया धान बालीमा किराको प्रकोप

नेपालगन्ज — बाँके जिल्लाको कोहलपुर–१३, भरैयामा किसानले लगाएको धानबालीमा कालो पोके किराको प्रकोप देखा परेको छ । बाँके जिल्लाका कोहलपुर, वैजनाथ र खजुरा क्षेत्रका किसान धानबालीमा विभिन्न रोगको प्रकोप देखिएपछि चिन्तित बनेका छन् ।

 

Advertisement

धान पाक्ने समयमा बाला नलाग्दै धानको बोट सुक्न थालेको, बाला लागे पनि दाना भुसजस्तो देखिएको र पतेरो किराले चुसेको जस्तो देखिने समस्या देखिएको किसानहरूले बताए ।

कृषक कमल वलीले आफूले लगाएको चार कठ्ठासहित यहाँका किसानले लगाएको धेरै धानबालीमा यस्तो समस्या देखिएको बताए । वलीले रोपेको धानमा कालो पोके किराले धानको बोटमा गम्भीर क्षति पुर्‍याएको र हर वर्ष उस्तै समस्या दोहोरिने गरेको उनको भनाइ छ ।

कोहलपुर–४ का कृषक मोहम्मद समी लगायतका किसानले सिँचाइको व्यवस्था मिलाएको भए पनि धानमा देखिएको रोगले उत्पादनमा समस्या आएको बताए । मोहम्मद समीले १२ कठ्ठा जमिनमा गत वर्षको ‘सौरव’ जातको बीउ पुनः प्रयोग गरेको र यस वर्ष सम्पूर्ण बाला निस्के पनि दाना भुसजस्तै देखिएको बताए ।

यद्यपि कृषिविज्ञहरूले केही दिनअघिको तापक्रम वृद्धि र अन्य वातावरणीय कारणले यस्तो समस्या उत्पन्न भएको हुन सक्ने बताएका छन् ।

कृषकहरूको समस्या समाधानका लागि कोहलपुर नगरपालिकाले विज्ञ टोलीसहित विभिन्न क्षेत्रमा अनुगमन थालेको छ । धानको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिने र रोगको पहिचानपछि थप समाधानका उपाय अपनाइएको उनले बताए ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यस वर्ष जिल्लाभर करिब ४० हजार हेक्टरमा धानखेती गरिएको छ । विशेषगरी ‘राधा ४’ जातको धान बालीमा यस्तो समस्या बढी देखिएको छ । यस समस्याको समाधानका लागि अभियान सञ्चालन गर्दै किसानलाई उन्नत जातको बीउ प्रयोग गर्न सल्लाह दिइएको उनले बताए ।

कोहलपुरको धान उत्पादन हुने क्षेत्रमा लगाइएको धानमा कालो पोके किराको व्यापक प्रकोप फैलिएको र उत्पादनमा ठूलो असर परेको कोहलपुर कृषि विकास शाखाका अधिकृत बुढाले बताए । विशेषज्ञका अनुसार कालो पोके किराले धानको बोटलाई आक्रमण गरी भित्रभित्रै नष्ट पार्ने गर्छ । यो किराले धानको बोक्रामा कालो धब्बा बनाउँदै बोटको पोषण तत्वलाई नष्ट गरिदिन्छ ।

कृषि विकास शाखाले किसानहरूलाई नेपालमा सूचीकृत बालिका जातहरू प्रयोग गर्न, हाइब्रिड जातका बीउहरू हरेक वर्ष नयाँ प्रयोग गर्न र उन्नत जातको धान लगाउन अनुरोध गरेको छ । किसानहरूले धान लगाउनुअघि कृषि प्राविधिकसँग परामर्श लिएर काम गर्दा यस्ता समस्याहरूबाट जोगिन सकिने सल्लाह दिएको छ । ईकान्तिपुर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु