वडाध्यक्षले दलित युवकमाथि दुर्व्यवहार गरेको आरोप

रातोपाटी/ डडेल्धुराको परशुराम नगरपालिकाका वडाध्यक्ष दिनेश प्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ।  युवकले बिरामी भाइलाई अस्पताल लैजाँदै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरेको बताएका छन्।  नेपाल दलित मुक्त मोर्चाले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ।

काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । वडाध्यक्ष जोशीले सोही वडाका २४ वर्षीय लोकेन्द्र लुहार (विक)लाई स्थानीय द्वारिक चोक नजिकै दुर्व्यवहार गरेको आरोप लागेको हो ।

Advertisement

बिरामी भाइलाई मोटरसाइकलमा राखेर अस्पताल लैजादै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरको उनले बताए । अभद्र व्यवहार भएको विषयमा इलाका प्रहरी कार्यालय जोगबुढामा छलफल समेत भएको पाइएको छ । यद्यपि आपसी छलफलबाट विवाद समाधान भइसकेको अध्यक्षजोशीले बताए ।

तर, नेपाल दलित मुक्ति मोर्चा डडेल्धुराका अध्यक्ष धर्मेन्द्र नेपालीले आफ्नो सामाजिक संञ्जाल फेसबुक मार्फत घटनाबारे कडा आपत्ति जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाहीगर्न चेतावनी दिएका छन् । ‘यसरी सार्वजनिक स्थान बाटोघाटोमा दलितका छोराछोरी माथि चप्पल हानिन्छ, न्यायका लागि प्रहरीमा जाँदा पनि न्याय मिल्दैन भने यस्तो विभेद र हिंसा कदापि सह्य हुने छैन’, भनेर प्रतिक्रिया दिएका छन् ।

वडाध्यक्ष जोशीले जुहारसँग सामान्य विवाद भएको तर घटनालाई अनावश्यक उचाल्न खोजिएको रातोपाटीलाई प्रतिक्रिया दिए । ‘बाटो हिँडिरहेको मलाई आइतबार ३ जनाले अशोभनीय टिप्पणी गरेका थिए । यसमा सामान्य विवाद भएको हो । अनावश्यक उचाल्ने काम राम्रो होइन’, उनले भने। उनले घटनापछि प्रहरी चौकीमा छलफल हुँदा लुहारले गल्ती स्वीकारेको समेत बताए ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु