मनसुनी विपद्‌मा कम्तीमा ४७ को मृत्यु

काठमाडौँ /ईकान्तिपुर—मनसुनजन्य विपद्‌मा परेर इलाम, पाँचथर, रौतहट, उदयपुर, खोटाङ र काभ्रेमा कम्तीमा ४७ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका कारण पाँच हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । कोशी, मधेश र बागमती प्रदेशका दर्जनौं सडकमा क्षति पुग्दा दसैं मनाउन हिँडेका यात्रुको आवतजावत प्रभावित भएको छ ।

पहिरोमा परेर सबैभन्दा बढी मृत्यु इलाममा भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार इलाममा पहिरोमा परेर दुई दिनमा ३७ जनाको मृत्यु भएको छ, ५ घाइते छन् ।

Advertisement

माईजोगमाई गाउँपालिका र देउमाई नगरपालिकामा ८–८, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६, सूर्योदय नगरपालिकामा ५, माङसेबुङ गाउँपालिकामा ३ र फाकफोकथुङ गाउँपालिकामा १ जनाको मृत्यु भएको हो ।

सशस्त्र प्रहरी बलका अनुसार बाढीपहिरोमा परी रौतहटमा ३, पाँचथर, उदयपुर तथा खोटाङमा २–२ र काभ्रेमा १ जनाको पनि मृत्यु भएको छ । पाँचथरमा शनिबार भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका ६ जनासमेत गरी ५३ जनाको मृत्यु भएको विवरण सशस्त्रले आइतबार साँझ सार्वजनिक गरेको हो ।

जल तथा मौसम विज्ञान विभागले १५ असोजमै १७ देखि २० असोजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय रहने पूर्वानुमान गरेको थियो । बंगालको खाडीमा विकसित न्यूनचापीय मौसम प्रणाली भारतको ओडिसाबाट प्रवेश गरी मध्य भारततर्फ सर्ने र त्यसको प्रभाव नेपालमा पर्ने भनिएको थियो । त्यसको प्रभाव नारायणी, बागमती, कमला र कोशी नदीमा पर्ने विभागको अनुमान थियो ।

विभागले जारी गरेको सूचनामा बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ र मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भएर बग्ने ससाना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको भनिएको थियो । ‘मुख्यतः १८ देखि २० असोजसम्म विशेष सतर्कता अपनाउनु हुन अनुरोध छ,’ विभागले सूचनामा भनेको थियो ।

नदीमा पानीको बहाव बढ्ने पूर्वानुमानपछि गृह मन्त्रालयले समेत सम्भावित क्षति न्यूनीकरण र उद्धारको तयारी बढाएको थियो । गृहमन्त्री ओमप्रकाश अर्यालले १७ असोजमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन युनिटहरूमा पुगेर तयारीबारे सूचना लिएका थिए । उनले सम्भावित क्षति न्यूनीकरण र उद्धारमा कुनै कसर बाँकी नराखी उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिएका थिए ।

लामो तथा छोटो दूरीका सवारीसाधनसमेत दुई दिन बन्द गर्ने निर्णय मन्त्रालयले गरेको थियो । विपद्को पूर्वसन्ध्यामा मन्त्रालयले चालेको कदमको प्रशंसा भइरहेको छ । तर इलाममा यसपालि अनपेक्षित क्षति भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार इलामको माईपोखरी स्टेसनमा २४ घण्टामा २६९.४, इलाम चिया बगानमा भएको स्टेसनमा २७२.६ र कन्याममा २७५ मिलिमिटर वर्षा भएको थियो । सामान्यतयाः २४ घण्टामा १४४ मिलिमिटरभन्दा बढी वर्षा भए पहिरोका लागि जोखिमयुक्त मानिन्छ ।

इलाममा यसपालि पानी गत वर्ष ललितपुर र काभ्रेमा परेसरह नै भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।

‘जल तथा मौसम पूर्वानुमान विभागले पूर्वसूचना दिएलगत्तै सरकारले तदारुकताका साथ समन्वय र सबै निकाय परिचालन गरेको देखिन्छ, जुन सकारात्मक हो,’ उनी भन्छन्, ‘तर इलाममा भएको मानवीय क्षतिले हाम्रो विपद् पूर्वतयारी अझै रूपान्तरणकारी चरणमा पुगेको छैन भन्ने देखिन्छ । इलाममा क्षति रोक्न सकेको भए विपद् प्रतिकार्यमा प्रगति भएको मान्न सकिन्थ्यो ।’

विगतमा जोखिम आकलन गरेर यातायात रोक्न दिइएको सल्लाह/निर्देशन सरकारी निकायहरूले नै नमान्दा ठूलो क्षति भएको पोखरेलको विश्लेषण छ । उनी थप्छन्, ‘यसपालि चाहिँ समन्वयमा कुनै कमजोरी देखिएन ।’

गृह मन्त्रालयका एक उपसचिवसमेत इलाममा थप सतर्कता अपनाउन सकिने स्थिति भएको बताउँछन् । ‘मौसम पूर्वानुमान महाशाखाले प्रदेशगत हिसाबमा जोखिमको विवरण भने पनि जल तथा मौसम विज्ञान विभागको पोर्टलभित्र जिल्लामा कति पानी परिरहेको छ भन्ने विवरण थियो,’ उनले कान्तिपुरसँग भने, ‘त्यसका आधारमा जोखिममा रहेका घरपरिवार छुट्याएर राख्न सकिन्थ्यो, जुन इलाममा भएको देखिँदैन ।’

उपत्यका प्रवेश गर्ने सडकमा अवरोध

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार दिनभर नागढुंगा–मुग्लिन सडक खण्डमा सवारी आवागमन अवरुद्ध भएन । राति भने सवारी आउजाउमा रोक लगाइएको छ । उपत्यका प्रवेश गर्ने अर्को बीपी राजमार्गमा भने ठाउँठाउँमा पहिरो गएर अवरुद्ध छ । बीपी राजमार्ग सञ्चालन हुन केही दिन लाग्ने देखिएको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार काठमाडौंबाट हेटौंडा जाने थाखेल सडक खण्डको अवस्था ठीक छ तर रातिको समयमा गाडी चल्न दिइएको छैन । त्रिभुवन राजमार्गमा कुनै समस्या छैन भने अरनिको राजमार्गमा एकतर्फी सडक सञ्चालन भइरहेको छ ।

नारायणघाट–बुटवल सडक खण्ड र सिद्धार्थ राजमार्गमा समेत कुनै समस्या नभएको अधिकारीको भनाइ छ । कान्ति लोकपथअन्तर्गत घट्टेपाखामा पहिरो गएपछि आवागमन बन्द भएको छ । ‘निरन्तर पानी परिरहेकाले त्यहाँको सडक खुलाउन सकिएको छैन,’ एसएसपी अधिकारीले भने, ‘सम्भवतः भोलिसम्ममा सडक सञ्चालन हुन्छ ।’

कालीगण्डकी करिडोरमा कुनै समस्या छैन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगर नगरपालिकामा भालु खोलाको डाइभर्सन बाढीले बगाएको छ । धरान–धनकुटा सडक खण्डमा कुनै समस्या छैन । हिले–पाख्रिवास–लेगुवा सडक खण्डमा एकतर्फी सडक सञ्चालन भइरहेको छ ।

देशलाई राजधानीसँग जोड्ने राजमार्गहरूमा शुक्रबार बेलुकीदेखि नै समस्या देखिन थालेको थियो । डेढ सय मिलिमिटर पानी पर्दै राजमार्गहरू अवरुद्ध हुन थाल्नुले सडक पूर्वाधार सामान्य जोखिममा समेत सुरक्षित नभएको देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवास बराल पनि राजधानीसँग जोड्ने सडक सबै मौसममा चल्न सक्ने गरी तयार हुन नसक्नु विडम्बनापूर्ण भएको बताउँछन् । ‘नेपालका अधिकांश सडक पहाडलाई काटेर बनाइएका छन्, त्यसको कुनै न कुनै रूपमा प्रभाव पर्छ,’ उनले भने, ‘अर्को, नदी करिडोरमा सडक बनाउँदा राम्रो हाइड्रोलोजिकल अध्ययन भएको छैन । अध्ययन भए पनि त्यसलाई जोगाउन खर्च बढी आउने हुँदा त्यत्तिकै छाड्ने गरिएको छ ।’

बरालका अनुसार पहाडी क्षेत्रमा सबै मौसममा सवारी सञ्चालनका लागि उपयुक्त विकल्प भनेको सुरुङमार्ग बनाउने हो, उपत्यकामा ओभरपास राख्न सकिन्छ । ‘सुरुङमार्ग बल्ल बनाउन थालेका छौं,’ उनी थप्छन्, ‘पहाड काटेर बनाउने सडक भनेको सबैभन्दा कम खर्चिलो हो, खर्च घटाउने नाममा विपद्को समयलाई ध्यान नदिँदा बर्सेनि यात्रुले सास्ती व्यहोर्नुपरिरहेको छ ।’

सोमबारदेखि वर्षा कम हुने

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारदेखि देशभर वर्षा कम हुँदै जानेछ । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको विभागले जानकारी गराएको छ ।

विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार अहिले मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए पनि मनसुन बहिर्गमन भइनसकेकाले मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन जरुरी छ । ‘काठमाडौं उपत्यकामा मनसुनी वायुको प्रभाव कमजोर भइसकेको छ,’ उनी भन्छिन्, ‘मधेश प्रदेशसहित कोशी प्रदेशको पहाडी र तराईका केही स्थानमा वर्षाको सम्भावना छ ।’

विभागका अनुसार मनसुन सरदर अक्टोबर २ (१६ असोज) मा बाहिरिने गर्छ । तर यो वर्ष सरदरभन्दा १५ दिन पहिले भित्रिएर मनसुन सरदरभन्दा बढी समय अडिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु