बीबीसी । नेपाल सन् २०२६ मा हुने टी-२० विश्वकपका लागि छनोट प्रयासमा छ। ओमानमा बुधवारदेखि सुरु हुन लागेको छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुवेतसँग आफ्नो पहिलो खेल खेल्ने छ।
गत वर्ष संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न विश्वकपमा नेपाली खेलाडीहरूले गरेको प्रभावशाली प्रदर्शन र त्यसमा नेपाली समर्थकहरूले दिएको साथले विश्वव्यापी चर्चा पाएको थियो।
Advertisement
नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा देखाउँदै आएको प्रतिभा र हात पारेको परिणामका आधारमा नेपालले विश्वकपमा सहभागी हुने अवसर पाउने ठानिएको छ। विश्वकपमा २० राष्ट्र सहभागी हुने छन्।
नेपालको लक्ष्य
नेपाली टोलीको यसपालिको लक्ष्य फेरि २० ओभरको विश्वकप खेल्नु हो। ओमानमा हुने विश्वकपको एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटमा नौ टोलीबीच प्रतिस्पर्धा हुने छ।
छनोट खेलमा सहभागी हुन ओमान जानुअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले आफ्नो टोलीको आत्मविश्वास व्यक्त गर्दै भनेका थिए, “विगतमा जस्तो हामी विश्वकप खेल्न १० वर्ष लगाउँदैनौँ। हाम्रो लक्ष्य विश्वकपमा लगातार छनोट हुनु हो।”









