बर्दिया /ईकान्तिपुर — यसवर्ष बर्दियामा मौसम अनुकूल हुँदा धानको उत्पादन करिब ६ प्रतिशत बढेको छ । विगतमा अति वर्षा, बाढी र खडेरीले धानको उत्पादन प्रभावित भएकोमा यसवर्ष किसानले राहत पाएका छन् ।
यसवर्ष असार र साउन महिनाको पहिलो साता पर्याप्त वर्षात नहुँदा किसान निकै चिन्तित थिए । त्यसपछि परेको अनुकुल वर्षाले धानको उत्पादन बढाएको स्थानीय किसान बताउँछन् । बर्दियामा ५० हजार १ सय हेक्टरमा धान खेती हुने गर्छ ।
Advertisement
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय, बर्दियाकी प्रमुख कमला अधिकारीले जिल्लाको आठै पालिकाबाट धान उत्पादनको तथ्यांक लिँदा करिब ६ प्रतिशत बढेको बताइन् । ‘९५ प्रतिशत तथ्यांक लिँदा धानको उत्पादन करिब ६ प्रतिशत बढने आकलन गरिएको छ,’ उनले भनिन्, ‘५ प्रतिशत तथ्यांक लिन बाँकी छ ।’
गतवर्ष बर्दियामा धानको उत्पादन २ लाख २५ हजार ४ सय ५० मेट्रिक टन थियो । समयमा पर्याप्त पानी परेको र उन्नत जातको बीउले यस वर्ष उब्जनी राम्रो भएको कृषि प्राविधिक बताउँछन् । सिँचाइ सुविधा नभएको ठाउँमा पम्पबाट सिँचाइ भएका कारण धानको उत्पादन केही राम्रो भएको गुलरिया नपा–११ का किसान शौकत अली गद्दीले बताए ।
तर तिहारपछि धान भित्र्याउने समय परेको वर्षाले भने न्यून क्षति पुर्याएको छ । अधिकांशले धान भित्र्याइसकेकाले खासै असर नपरेको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले जनाएको छ । गुलरिया नगरपालिका–९ का किसान सिराज खानले अनुकूल मौसमले धान भित्र्याएपछि गहुँ र तोरी छर्ने तयारीमा रहेको बताए ।
‘गतवर्ष समयमा पानी नपर्नु र धान भित्र्याउने बेला अति वृष्टि सँगै बाढी आएकोले उत्पादन घटेको थियो’ उनले भने । आकाशे पानीको भरमा रहेका किसानलाई राहत दिन भेरी–बबई डाइभर्सन चाँडो भन्दा चाँडो सम्पन्न गर्न जरुरी रहेको स्थानीय किसान देवराज चौहानले बताए । सरकारले समयमा मल उपलब्ध गराउनुका साथै सिँचाइ सुविधा भए यहाँ धानको उत्पादन अझै बढ्ने किसानहरुको भनाइ छ ।









