दिल्ली, इस्लामाबाद र ढाकामा बम विस्फोटपछि नेपाल–भारत बर्दिया सीमामा उच्च सतर्कता

 

बर्दिया/ईकान्तिपुर — दिल्ली, इस्लामावाद र ढाकामा बम विस्फोटपछि नेपाल–भारत सीमामा भारतीय विशेष प्रहरी टोलीको सक्रियता बढेको छ । विशेष टोलीले आतंकवादको उच्च जोखिम बढ्दै गएपछि यसलाई निस्तेज पार्न सीमासँग जोडिएका जिल्लाका नेपाली सुरक्षा अधिकारीसँग छलफल गर्न थालेको छ ।

Advertisement

यसै क्रममा केन्द्र सरकारको निर्देशनमा भारतीय संघीय सरकारको प्रहरीको विशेष टोली बर्दियाको कालाबन्जरस्थित सशस्त्र प्रहरी बलको पोष्टमा आतंकवादी गतिविधि नियन्त्रण गर्न दुवै देशको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

भारत उत्तरप्रदेश राज्य बहराइच जिल्लाको मिहीपुरुवाबाट प्रहरीको विशेष टोलीका प्रमुख प्रहरी निरीक्षक हर्षिता तिवारी बर्दियाको गुलरिया स्थित कालाबन्जरमा रहेको सशस्त्र प्रहरी बलको पोष्टमा आएर छलफल गरेकी छिन् ।

प्रनि तिवारी र सशस्त्र प्रहरी निरीक्षक सुशील पाण्डेसँग सीमामा हुने अपराध र आतंकवादी गतिविधि निस्तेज पार्न दुवै सुरक्षा अधिकारीबीच छलफल भएको सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले बताए । दक्षिण एशियाको इस्लामावाद, दिल्ली र ढाकामा भएको बम विस्फोटको घटनापछि नेपाल र भारतीय सीमा सुरक्षाका अधिकारी उच्च सतर्कता रहेको सप्रउ शाहीले जनाए ।

सीमा संयुक्त गस्तीलाई थप निरन्तरता दिने, सीमा सुरक्षालाई कडाई गर्ने र शंकास्पद व्यक्ति माथि कडा निगरानी राख्ने कुरामा छलफल भएको सशस्त्र प्रहरी बल ३१ नम्बर गण बर्दियाले जनाएको छ । बर्दियासँग भारतको सीमाना करिब ८३ किलोमिटर छ । भारतको बहराइच जिल्लाको सीमावर्ती क्षेत्र अधिकांश घना जंगल भएकोले अतिवादीको घुसपैठ हुने भन्दै दुवै देशका सुरक्षा अधिकारीले सुरक्षा निगरानी बढाएको सशस्त्र प्रहरी बल, बर्दियाले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु