जनकपुर।ईकान्तिपुर —२४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव (महोत्तरी) ले बुधवार बिहान बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।
Advertisement
विश्वासको मतका लागि बिहान साढे ६ बजे बोलाइएको प्रदेशसभा बैठकअघि अहिले केहीबेरमा कार्य परामर्श समितिको बैठक बस्नेछ ।
जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले कार्य परामर्श समितिको बैठकमा सहभागी हुन प्रदेशसभा सचिवालय आइपुगेको बताए । ‘हामी प्रदेशसभा सचिवालय पुगिसकेका छौँ,’ यादवले भने, ‘केहीबेरमा कार्य परामर्श समितिको बैठक सुरु हुनेछ ।’
कार्य परामर्श समितिले प्रदेशसभा बैठकको कार्यसूची तय गर्छ । प्रदेशसभा सचिवालयका अनुसार बैठकको कार्यसूचीमा विश्वासको मतलाई मात्र समावेश गरिनेछ । परमादेशको पत्र मंगलबार दिउँसो ३ बजे मात्र पाएको भन्दै मुख्यमन्त्री यादवले विश्वासको मतका लागि बुधवार २ बजेको समय तोकिदिन प्रदेशसभा सचिवालयलाई पत्र लेखेको थियो । तर, सचिवालयले बुधवार बिहान साढे ८ बजे नै प्रदेशसभाको बैठक डाकेको छ ।









