नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका – १२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले ढकेरी पुल नजिकै ठक्करबाट एक जना युवकसहित २१ वटा खसी बाख्राको मृत्युको घटनामा क्षतिपूर्ति बापत साढे २१ लाख रुपैयाँ दिने सहमति भएको छ।
स्कुल बसको ठक्करबाट बाख्रा चराउन गएका राप्ती सोनारी गाउँपालिका–९ का २६ वर्षीय गोविन्द वलीको र २१ खसीरबाख्राको मृत्यु भएको थियो।
Advertisement
स्थानीय पूर्णबहादुर वलीका अनुसार बिद्यालय प्रशासनले मृतकका लागि १५ लाख र २१ खसी बाख्राको लागि जनही २५ हजारका दरले साढे २१ लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो ।
स्कुल सञ्चालक समितिले २५ दिनभित्र १५ लाख र बाँकी रकम बीमाको रकमसँगै उपलब्ध गराउने सहमति भएको उनले जनाए । त्यस्तै, मृतकका नौ महिनाका छोरालाई जहाँ पढाए पनि कक्षा १२ सम्मको खर्च सोही विद्यालयले बेहोर्ने सहमति पनि कायम भएको छ। बिहीबार बेलुका ५ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुरबाट पूर्वतर्फ विद्यार्थी छोड्न आइरहेको समय
मा घटना भएको थियो ।
बसका चालक प्रकाश सुनार प्रहरी नियन्त्रणमा छन्। दुर्घटनालगत्तै फरार सुनारलाई प्रहरीले दुई दिनपछि नियन्त्रणमा लिएको थियो। प्रहरी हिरासतमा रहेका चालकले बसको ब्रेकले काम नगर्दा दुर्घटना भएको प्रहरीसमक्ष बयान गरेका छन्।
‘त्यो घुम्तीमा उताबाट कार आइरहेको थियो र मैले एकाएक खसीरबाख्रा र मानिसलाई सडक किनारमा देखेपछि बस नियन्त्रणमा लिने प्रयास स्वरूप ब्रेक हान्दा पनि ब्रेकले काम नगरेपछि नसोचेको दुर्घटना हुन पुग्यो,’ चालकको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने।
चालक इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा छन्।









