आफ्नै नामप्रति माओवादीको मोह भंग

 

काठमाडौँ/ईकान्तिपुर — माओवादी नामबाट राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रको आफ्नो नामप्रति मोह कम हुँदै गएको छ । माओवादी नामले दस वर्ष सशस्त्र युद्धबाट हलचल र १८ वर्ष शान्तिपूर्ण बाटो लिएपछि नाम फेर्ने तयारी गरेको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि पाँच आवधिक निर्वाचनमा सहभागी भइसकेकाले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा माओवादी नाम उपयुक्त नभएको भन्दै परिवर्तन गर्न सकिने निर्णय गरेको हो ।

Advertisement

गत साउनमा बसेको माओवादी केन्द्रीय समितिको बैठक । फाइल तस्बिर : कान्तिपुर

एमाले र माओवादीसँग २०७५ जेठमा पार्टी एकता भएपछि माओवादी नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो । २०७७ फागुन २३ मा सर्वोच्च्च अदालतले नेकपा पहिले नै दर्ता भइसकेको भन्दै एमाले र माओवादीको एकता खारेज गरिदिएको थियो । भदौ २५ मा पदाधिकारी बैठकले अरू कम्युनिस्ट पार्टीसँग एकता सफल पार्न माओवादी नाममा आगामी महाधिवेशनसम्म नाम फेर्ने निर्णय गरेको छ । माओवादी तीनमहिने अभियानपछि मंसिर वा पुसमा विशेष महाधिवेशन गर्ने भएको छ ।

 

‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोस्टमा रहेको माओवादी केन्द्रका बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिनेछ’ पदाधिकारी बैठकको निर्णयमा भनिएको छ ।

पार्टी विधानमा भने मार्क्सवाद–लेनिनवादका साथै माओवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा व्याख्या गरेको छ । ‘मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद–माओवाद हो । पार्टीले आजको समाजमा रहेका वर्गहरूको अस्तित्व, वर्गहरूबीचको अन्तरविरोध र वर्ग संघर्षलाई समाज विकासको अनिवार्य एवं मुख्य आधार मान्दछ,’ माओवादीको विधानमा भनिएको छ । एमालेसँग एकता भएपछि उसले त्यतिबेला माओवाद छाडेको थियो । सर्वोच्चले दुई पार्टी अलग गरेपछि पुनः माओवादलाई अँगालेर विधानमा उल्लेख गर्‍यो । २०५२ फागुनमा सशस्त्र युद्ध सुरु गर्नुअघि तत्कालीन नेकपा एकता केन्द्रले नाम परिवर्तन गरी नेकपा माओवादी गर्‍यो । चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष माओत्सेतुङको नामबाट पार्टी निर्माण गरी माओवादीले दस वर्ष सशस्त्र युद्ध सुरु गर्‍यो । माओवादीकै नामबाट १० वर्ष सशस्त्र युद्ध र १८ वर्ष शान्तिपूर्ण राजनीतिमा आएर सजिलो हुने नाम राख्ने तयारी गरेको छ ।

आमनिर्वाचनअघि माओवादी र पूर्वमाओवादी नेता बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग एकताको तयारी थियो । माओवादी नाम परिवर्तन गरी नेकपा (समाजवादी) नाम राख्ने अनौपचारिक निर्णय भए पनि निर्वाचनको परिणाम आएपछि एकता अवरुद्ध भएको छ । हालै माओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले नेसपा अध्यक्ष महिन्द्र राय यादवलाई पत्र पठाई ‘पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिट पार्टीको पछाडि कोस्टभित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिन सकिने’ बताएका छन् ।

 

२०६५ पुसमा नेकपा माओवादी र नेकपा एकता केन्द्र मसालबीच पार्टी एकीकरण गरी एकीकृत नेकपा माओवादी नाम राखिएको थियो । फेरि २०७३ जेठमा देव गुरुङ, रामबहादुर थापा र पम्फा भुसाल एकतामा आएपछि एकीकृत हटाएर माओवादी केन्द्र बन्यो । शान्ति प्रक्रियामा आइसकेपछि माओवादी सिङ र पुच्छर दुई पटक थपिएको छ भने एकपटक नाम नै बदलिएको छ ।

माओवादीले बाहिरी रूपमा पार्टी एकताका लागि नाम परिवर्तन गर्न लागेको बताएको छ तर सशस्त्र युद्धमा र संविधानसभाको पहिलो निर्वाचन (२०६४) मा माओवादी नाम शक्तिशाली भए पनि त्यसपछिका निर्वाचनमा कम्युनिस्ट समर्थकबाहेक अन्य मतदाताले नरुचाएको माओवादीको बुझाइ छ । ‘युद्ध र पहिलो संविधानसभामा माओवादी नाम नै काफी थियो । युद्धमा माओवादी नामले विद्रोहको प्रतीक र पहिलो संविधानसभामा त्यसको रापतापका रूपमा थियो’ माओवादीका एक पदाधिकारीले भने, ‘त्यसपछि निर्वाचनमा कम्युनिस्ट समर्थक मतदाताबाहेक अरूले माओवादी नाम रुचाएको देखिएन ।’

माओवादीले पूर्ण रूपमा प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशा लिएकाले यो नाम लामो समय राख्दा अन्तर्राष्ट्रिय समुदायले कट्टर कम्युनिस्ट अर्थ्याउने भएकाले नाम फेर्नु उपयुक्त हुने माओवादीको बुझाइ छ । पछिल्लो आमनिर्वाचनमा कांग्रेसलगायत अन्य दलसँग गठबन्धन गरे पनि कांग्रेसको मत माओवादीलाई नपरेको माओवादीको निष्कर्ष थियो । कांग्रेस मतदाताले माओवादीलाई मत हाल्न हिच्किचाएको अध्यक्ष दाहालले बताएका थिए ।

पार्टीको नामबाट माओवादी हटे पनि नेपाल कम्युनिस्ट पार्टी भने नछाड्ने सचिव डिलाराम आचार्यले बताए । ‘महाधिवेशनबाट कोस्टभित्र रहेको माओवादी केन्द्र परिवर्तन गर्न सकिने निर्णय भएको हो,’ उनले भने, ‘पार्टी एकतापछि पनि नेकपा छाड्दैनौं । नेकपाको पछाडि उपयुक्त नाम राखिनेछ ।’

२०६९ असारमा शान्ति प्रक्रिया र सेना समायोजनप्रति असहमति जनाउँदै मोहन वैद्यको नेतृत्वमा अलग भई क्रान्तिकारी माओवादी गठन भएको थियो । क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले हालसम्म माओवादी केन्द्र आवरणमा मात्र कम्युनिस्ट पार्टी भएको आरोप लगाए । ‘माओवादी केन्द्रमा क्रान्तिकारी विचार ह्रास भइसकेको छ, उसले जे नाम राखे पनि फरक पर्दैन किनकि ऊ अब समाजवादी पार्टीमा रूपान्तरण भइसकेको छ,’ उनले भने, ‘सैद्धान्तिक रूपमा विचलन आइसकेपछि नाममा के छ ? जे राखे पनि भयो । सकेसम्म गैरकम्युनिस्ट राखेमा जनतामा भ्रम हुँदैन ।’

२०७५ जेठमा पार्टी एकता भइसकेपछि माओवादीले मार्गदर्शक सिद्धान्त माओवाद छाडेको थियो । ०७५ मंसिर २९ तत्कालीन नेकपा बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ‘सैद्धान्तिक एवं नीतिगत विषयलाई पार्टी एकताका मुख्य आधारका रूपमा मार्गदर्शक सिद्धान्तः मार्क्सवाद–लेनिनवाद, अधिकतम कार्यक्रमका रूपमा वैज्ञानिक समाजवादमा सहमति भएको थियो ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले कुनै पनि पार्टीको नामको पछाडि ऐतिहासिक मूल्य मान्यता भएको उल्लेख गर्दै माओवादीले सशस्त्र क्रान्तिको एक चरण पार गरी शान्तिपूर्ण राजनीतिमा आएकाले पार्टीलाई ‘रिब्रान्डिङ’ गर्न खोजेको बताए । ‘माओवादीले क्रान्तिको एक चरण पूरा गरिसकेको भन्दै आएको छ र अब उसको लक्ष्य समाजवाद हुनुपर्छ, त्यसैले उसले राजनीतिक कार्यदिशाअनुसार पार्टीको नाम परिवर्तन गर्न खोजेको हुनुपर्छ,’ उनले भने । उनले माओवादी नामभन्दा समाजवादी नामबाट पार्टी विस्तार गर्न सहज हुने भएकाले त्यही दिशामा अघि बढेको बताए । ‘उसले समाजवादी मोर्चा बनाएर एकताको आधार बनाइरहेको छ । अब उसले माओवादी नामको भारी बिसाउन चाहन्छ,’ उनले थपे । नेसपा कार्यकारी अध्यक्ष भट्टराईले पुरानो ढर्राको पार्टी कामयावी नभएको भन्दै एकतापछि समाजवादी पार्टी बनाउन प्रस्ताव गरेका थिए । भट्टराईले भारतको नयाँदिल्लीमा कान्तिपुरसँग कुराकानी गर्दै माओवादीसँग तत्काल पार्टी एकता सम्भव नभएको टिप्पणी गरे ।

‘पार्टी एकता त सम्भव नै छैन । उहाँहरूसँग कसरी हुन्छ ? विचारै मिल्दैन । समाजवादी केन्द्र बनाउने त्यो विषयमा कसरी जान सकिन्छ भनेर कार्यदल बनेको हो । त्यो कुरा अलग हो तर उहाँहरूले एकलौटी समाजवादी केन्द्र बनाउनुभयो,’ उनको भनाइ छ, ‘मोर्चा त बनेन भने पार्टी एकता हुन्छ ? समाजवादी मोर्चामा त हामी छैनौं भने एकता कसरी होला ?’

संविधानमा समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र उल्लेख भएकाले त्यसमै टेकेर पार्टीको नाम समाजवाद राख्ने लहर चल्न थालेको छ । हाल प्रमुख रूपमा जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी गठन गरिसकेका छन् । माओवादीसहित जसपा, एकीकृत समाजवादी, नेकपा (नेत्रविक्रम चन्द) मिलेर असार ४ मा समाजवादी मोर्चा गठन गरिसकेका छन् । यो मोर्चालाई पार्टी एकताको आधार बनाउने उद्देश्य ती दलले राखेका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु