बाँके जिल्लामा ९४ जनामा डेंगु पुष्टि

नेपालगन्ज। भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा डेंगुको जोखिम बढ्दै गएको छ । गत आर्थिक वर्षमा जिल्लामा ९४ जना बिरामीमा डेंगु पुष्टि भएपछि यो जिल्ला डेंगुको जोखिममा रहेको पाइएको हो ।

आर्थिक बर्ष २०८०–८१ मा अस्पताल बाहेक बाँकेका स्वास्थ्य संस्थामा मात्र ९४ जनामा डेंगु पुष्टि भएको तथ्याङ्क सार्वजनिक गर्दै स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन दुर्गा गौतमले सबैभन्दा बढी रोगी कोहलपुर नगरपालिकामा भेटिएको बताउनुभयो ।

Advertisement

स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कअनुसार, गत आर्थिक वर्ष २०८०–८१ मा सबैभन्दा बढी कोहलपुर नगरपालिकामा ४५, खजुरा गाउँपालिकामा ३६, नेपालगन्ज उपमहानगरमा १२ र बैजनाथ गाउँपालिकामा १ जनामा डेंगु पुष्टि भएको थियो ।

यसबर्ष चार जिल्ला बाहेक सबै जिल्लामा डेंगु संक्रमित फेला परिसकेको जनाउँदै हिमाल, पहाड र तराईका जिल्लामा निरन्तर डेंगु संक्रमित फेला परिरहँदा त्यसको नियन्त्रण चुनौती बनिरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत सात महिनाको अवधिमा भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा १७ जना डेंगुका बिरामीले उपचार गराएको तथ्याङ्क पनि स्वास्थ्य कार्यालय बाँकेले सार्वजनिक गरेको छ ।

सो कार्यालयका अनुसार असोजदेखि मंसिरसम्म जिल्लामा डेंगु संक्रमित बढी फेला पर्ने गरेका छन् । स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन गौतमले डेंगु फैलाउने मच्छरका लागि उपयुक्त वातावरण भदौंदेखि मंसिरसम्म हुने गरेको बताउनुभयो ।

उहाँले विगतको तथ्यांक हेर्दा डेंगु फैलने जोखिम असोजदेखि सुरु भएर मंसिरसम्म हुने गरे पनि यस वर्ष सोभन्दा पहिले डेंगुका धेरै बिरामी फेला परिसकेको बताउनुभयो ।

उच्च ज्वरो आउनु, जोर्नी र मांसपेशीमा असह्य पीडा हुनु, आँखाको गेडी दुख्नु, अत्यधिक टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनु, डेंगुका लक्षण भएको चिकित्सकको भनाइ छ ।

नेपालगन्जस्थित भेरी अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालले लामखुट्टेबाट बच्न शरीर ढाक्ने लुगा लगाउने, घर कार्यस्थल र सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राखेको भाँडालाई छोपेर राख्ने, लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्नुपर्ने बताउनुभयो । गोरखापत्र अनलाइन ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु